Thursday 15th May 2025

हेटाैंडामा पत्रकारको हत्या, ४ जना पक्राउ


तितोपाटी – हेटौंडा–१, भैरवडाँडामा १० दिनअघि शंकास्पद रुपमा मृत्यु भएका पत्रकार मनोहर ढकालको हत्या भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले घटनाको १० दिनपछि ढकालको हत्या भएको सार्वजनिक गरेको हो ।

२५ पुसमा मारिएका ढकालको हत्यामा संलग्न चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घटनामा प्रत्यक्ष संलग्न हेटौंडा–११ का १९ बर्षीय अनमोल पुडासैनी र मनहरी गाउँपालिका १ का प्रविण वाइबा छन् ।

त्यस्तै  हत्या गरेर ढकालको साथबाट चोरी भएको मोबाइल र सुनको औंठी खरिद गर्ने भीमफेदी गाउँपालिका ६ का दिनेश थापामगर र नारायणी सुनचाँदी पसलका सञ्चालक हेटौंडा २ का नारायणबहादुर सुनारलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक मधुकुमार थापा नेतृत्वको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्लाका डीएसपी यज्ञप्रसाद भट्टराईका अनुसार प्रारम्भिक समयमा हत्या सामान्य जस्तो देखिए पनि गम्भीर अनुसन्धानपछि दुई आरोपित पक्राउ परेका हुन् ।

उनीहरुमाथि ज्यान मुद्दा अन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।

यसरी भयो घटना

आरोपितहरुले दिएको बयान अनुसार २५ पुसमा साँझ भैरवडाँडाको जंगलमा उनीहरु लागूऔषध सेवन गरेर बसिरहेका थिए । त्यसक्रममा पत्रकार ढकालले आएर किन जंगलमा बसेको ? बदमासी गर्न हो भन्दै प्रहरीलाई बोलाउँ भनेपछि उनीहरु आक्रोशित भएका थिए ।

लागूऔषध सेवन गरिरहेका उनीहरुले पत्रकार ढकालको हातमा सुनको औंठी र झोला समेत देख्छन् । र, प्रलोभनमा मोटरसाइकलबाट तानेर घाँटी थिच्छन् ।

प्रहरीका अनुसार त्यसवेलासम्म ढकालले चलाएको ना २३ प ६३३८ नम्बरको डिस्कभर मोटरसाइकल स्टार्ट अवस्थामा नै थियो । छेऊमा तानेर ढकाललाई लडाएपछि उनीहरुले ढकालसँग भएको सुनको औंठी, पर्स, हार्ड डिक्स र झोला समेत खोस्छन् ।

त्यसक्रममा उनीहरुले हत्या गर्ने उद्देश्यले ढुंगा भएको खोल्सामा ढकाललाई धकेल्छन् । र, उनको मृत्यु हुन्छ ।

त्यसअघि उनको दुर्घटनामा मृत्यु भएको बताइँदै आएको थियो । तर, प्रहरीको तालिम प्राप्त कुकुरको संकेत, १ सय ५० जनासँगको सोधपुछ र कल डिटेल एनालइसिसबाट हत्या भएको निष्कर्षमा प्रहरी पुगेको थियो ।

सामुदायिक रेडियो रेडियो पालुङका पूर्वस्टेशन म्यानेर रहेका ढकाल हाल शिक्षण पेसामा थिए । उनी हेटौँडा १२ स्थित बुद्ध माध्यमिक विद्यालयमा अध्यापन गरेर घर फर्कने बेलामा घटना भएको हो ।

उनका श्रीमती, आमा, एक छोरा र एक छोरी छन् । विभिन्न रेडियो स्टेशनहरुमा ट्रान्समिटर तथा टावरको प्राविधिक काम पनि उनले गर्दै आइरहेका थिए ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

नुवाकोट घर भएर काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ्ग मृत भेटिएकी हुन् । काठमाडौँको बागबजारस्थित गेस्ट हाउसमा २०८१ चैत २९…

काबुल: तालिबान सरकारले मंगलबार भनेको छ कि जुलाईमा संयुक्त राज्य अमेरिकामा कानुनी सुरक्षा खारेज हुने अफगान शरणार्थीहरूको स्वदेश फिर्तीमा ट्रम्प…

गत हप्ता भएको भयंकर सैन्य टकरावपछि भएको युद्धविरामपछि राष्ट्रलाई दिएको पहिलो सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पाकिस्तान विरुद्धको सैन्य कारबाही…

प्रतिकृयाहरू
...