Sunday 12th April 2026

हेटाैंडामा पत्रकारको हत्या, ४ जना पक्राउ


तितोपाटी – हेटौंडा–१, भैरवडाँडामा १० दिनअघि शंकास्पद रुपमा मृत्यु भएका पत्रकार मनोहर ढकालको हत्या भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले घटनाको १० दिनपछि ढकालको हत्या भएको सार्वजनिक गरेको हो ।

२५ पुसमा मारिएका ढकालको हत्यामा संलग्न चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घटनामा प्रत्यक्ष संलग्न हेटौंडा–११ का १९ बर्षीय अनमोल पुडासैनी र मनहरी गाउँपालिका १ का प्रविण वाइबा छन् ।

त्यस्तै  हत्या गरेर ढकालको साथबाट चोरी भएको मोबाइल र सुनको औंठी खरिद गर्ने भीमफेदी गाउँपालिका ६ का दिनेश थापामगर र नारायणी सुनचाँदी पसलका सञ्चालक हेटौंडा २ का नारायणबहादुर सुनारलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक मधुकुमार थापा नेतृत्वको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्लाका डीएसपी यज्ञप्रसाद भट्टराईका अनुसार प्रारम्भिक समयमा हत्या सामान्य जस्तो देखिए पनि गम्भीर अनुसन्धानपछि दुई आरोपित पक्राउ परेका हुन् ।

उनीहरुमाथि ज्यान मुद्दा अन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।

यसरी भयो घटना

आरोपितहरुले दिएको बयान अनुसार २५ पुसमा साँझ भैरवडाँडाको जंगलमा उनीहरु लागूऔषध सेवन गरेर बसिरहेका थिए । त्यसक्रममा पत्रकार ढकालले आएर किन जंगलमा बसेको ? बदमासी गर्न हो भन्दै प्रहरीलाई बोलाउँ भनेपछि उनीहरु आक्रोशित भएका थिए ।

लागूऔषध सेवन गरिरहेका उनीहरुले पत्रकार ढकालको हातमा सुनको औंठी र झोला समेत देख्छन् । र, प्रलोभनमा मोटरसाइकलबाट तानेर घाँटी थिच्छन् ।

प्रहरीका अनुसार त्यसवेलासम्म ढकालले चलाएको ना २३ प ६३३८ नम्बरको डिस्कभर मोटरसाइकल स्टार्ट अवस्थामा नै थियो । छेऊमा तानेर ढकाललाई लडाएपछि उनीहरुले ढकालसँग भएको सुनको औंठी, पर्स, हार्ड डिक्स र झोला समेत खोस्छन् ।

त्यसक्रममा उनीहरुले हत्या गर्ने उद्देश्यले ढुंगा भएको खोल्सामा ढकाललाई धकेल्छन् । र, उनको मृत्यु हुन्छ ।

त्यसअघि उनको दुर्घटनामा मृत्यु भएको बताइँदै आएको थियो । तर, प्रहरीको तालिम प्राप्त कुकुरको संकेत, १ सय ५० जनासँगको सोधपुछ र कल डिटेल एनालइसिसबाट हत्या भएको निष्कर्षमा प्रहरी पुगेको थियो ।

सामुदायिक रेडियो रेडियो पालुङका पूर्वस्टेशन म्यानेर रहेका ढकाल हाल शिक्षण पेसामा थिए । उनी हेटौँडा १२ स्थित बुद्ध माध्यमिक विद्यालयमा अध्यापन गरेर घर फर्कने बेलामा घटना भएको हो ।

उनका श्रीमती, आमा, एक छोरा र एक छोरी छन् । विभिन्न रेडियो स्टेशनहरुमा ट्रान्समिटर तथा टावरको प्राविधिक काम पनि उनले गर्दै आइरहेका थिए ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...