Thursday 9th July 2026

इन्डोनेसियालाइ ९२ रनले हराउँदै नेपाली महिला क्रिकेट टोली फाइनलमा


तितोपाटी – इण्डोनेसियामाथि ९२ रनको फराकिलो जित निकाल्दै नेपाली महिला क्रिकेट टोली थाइल्याण्डमा जारी टि–२० स्म्यास क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

तेर्थई क्रिकेट मैदानमा शुक्रबार भएको सेमिफाइनलमा नेपालले प्रस्तुत गरेको १ सय २० रनको लक्ष्य पछ्याएको इण्डोनेसिया ११.१ ओभरमा २७ रनमा अलआउट भएपछि नेपाल फराकिलो जितका साथ फाइनलमा प्रवेश गरेको हो।

इण्डोनेसियाका लागि युलियाले सर्वाधिक १३ रन बनाउनु बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। इण्डोनेसियालाई सस्तैमा समेटन नेपालकी रुविना क्षेत्रीले ३ तथा कविता कुवँर, सरिता मगर, सीता रानामगर र नेरी थापाले एक–एक विकेट लिए।  दुई खेलाडी भने रन आउट भए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११९ रन बनाएको थियो। नेपालका लागि सीता रानामगरले सर्वाधिक ४८ रनको योगदान दिइन्। सीता अर्धशतक बनाउन दुई रनले चुकिन्। उनले ६२ बलमा १ चौंका प्रहार गरिन्।

नवौं ओभरमा टिमको स्कोर ३१ रन हुँदा नेपालले पहिलो विकेट गुमाएपनि त्यसपछि क्रिजमा आएकी इन्दु वर्मा र सीता रानामगरले ७० रनको उत्कृष्ट साझेदारी गर्दै टोलीको स्कोर उकासेका थिए। इन्दु ३३ बलमा २ चौंकासहित ३७ रनमा अविजित रहिन्। त्यस्तै काजल श्रेष्ठले १४, नेरी थापाले ५ र कप्तान रुविना क्षेत्रीले २ रनको योगदान दिए।

नेपालले अब उपाधिका लागि थाइल्याण्ड र युएईबीचको विजेतासँग शनिबार खेल्ने छ। नेपालले समुह चरणमा चीन, युएई, मलेसिया र थाइल्याण्ड ए लाई पराजित गर्दै समुह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो।


सम्बन्धित शीर्षकहरु

जैविक विविधताले पृथ्वीलाई जीवन्त र समृद्ध बनाउनुका साथै मानव सभ्यताको अस्तित्व र विकासको आधार तयार गर्छ। पछिल्ला वर्षहरूमा चीनले लागू…

अमेरिकी राष्ट्रपति Donald Trumpका पछिल्ला दुई सार्वजनिक अभिव्यक्तिले मध्यपूर्वमा युद्धविरामको भविष्यप्रति गम्भीर प्रश्न खडा गरेका छन्। पहिलो अभिव्यक्तिमा उनले अमेरिका…

कुवेतस्थित नेपाली दूतावासको एक सामान्य दिनमा पनि धेरै कथाहरू चलिरहेका हुन्छन्। गत साता त्यस्तै एउटा क्षणमा एक कर्मचारी सँग भइरहेको…

प्रतिकृयाहरू
...