Saturday 11th April 2026

मानब तस्करले भारत पुर्याइ बन्धक बनाइएका ३ नेपाली युवतीको भारतीय प्रहरीको सहयोगमा उद्दार


तितोपाटी – सीमावर्ती भारतीय रक्सौलनजिक रहेको रामगढवाबाट भारतीय प्रहरीले चार नेपाली युवतीको उद्दार गरेको छ । उद्दार गरिएका युवतीहरुलाई माइती नेपालको जिम्मा लगाएर नेपाल ल्याइएको छ ।

माइती नेपाल काठमाडौंको टोलीले दिएको सूचनाको आधारमा वीरगञ्ज शाखाबाट माइती नेपालको टाली दुई दिनअघि रक्सौल पुगेको थियो । भारतीय प्रहरीको सहयोगमा रामगढवामा रहेको झुलन पासवानले सञ्चालन गर्ने आर्केष्टाबाट चार जना नेपाली युवतीको उद्दार गरिएको माइती नेपाल, वीरगञ्ज शाखाले जनाएको छ । नेपाली युवतीलाई उद्दार गरी भारतीय प्रहरीले माइती नेपाल वीरगञ्जलाई लिखित कागज गरी सुम्पिएका थियो ।

काठमाडौंबाट बेपत्ता भएकी कृषा लामालाई खोज्ने क्रममा रामगढवा स्थित आर्केष्टामा छापा मारिएको थियो । छापा मार्ने क्रममा लामासहित अन्य तीन जना नेपाली युवती एउटै कोठामा फेला परेका थिए । १८ वर्ष मुनिका उनीहरु तीनै जना मोरङका हुन् । युवतीहरुको साथमा रहेका ‘प्यारे दाइ’ भनिने राजेश खानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । होचो कदका उनी पहिला पनि मानव बेचविखन र ओसारपसार गतिविधिमा संलग्न रहेका व्यक्ति भएको बताइएको छ । उनलाई लिन आएका शंकास्पद अर्का एक व्यक्ति पनि पक्राउ परेका छन् । उनको नाम भने प्रहरीले खुलाएको छैन ।

माइती नेपाल वीरगञ्जकी प्रमुख संगीता पुरीले आर्केष्टाबाट चार जना नेपालीको उद्दार गरिएको पुष्टि गरिन् । ‘काठमाडौंबाट एक जना नानी हराएको उजुरी अभिभावकले दिएका थिए, भारतीय प्रहरीको सहयोगमा खोजी गर्दा आर्केष्टामा रहेको थाहा भयो, छापामारी गर्दा अन्य तीन जना पनि संगै फेला परे’, उनले भनिन्, ‘उनीहरुलाई घर परिवारसँग सम्पर्क समेत गर्न नदिई एक महिनादेखि कोठामा थुनेर राखिएको रहेछ, आर्केष्टा सञ्चालकले तिमीहरुलाई किनेर ल्याएको हुँ, कतै जान पाउँदैनौं भनेर धम्क्याएर राखेको रहेछ ।’

युवतीहरुसँगै कोठामा रहेका एक जना र उनलाई छुटाउन आएका गरी दुईजना शंकास्पद पुरुषहरु पनि पक्राउ परेको बताउँदै उनले प्रहरीसँगको परामर्शमा आवश्यक पक्रिया अघि बढाइने जानकारी दिइन् ।
आर्केष्टामा धेरै नेपाली युवती र महिलाहरु रहेको जानकारी आफूले पाएको उनले बताइन् । प्रमुख पुरी, कार्यालय सहायक एलिसा श्रेष्ठलगायतको टोली भारतीय प्रहरीसँगै युवतीहरुको उद्दारका लागि रामगढवा पुगेका थिए ।

युवतीहरुसँगै आर्केष्टामा भेटिएका शंकास्पद दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । ‘दुई जना पुरुषहरु पक्राउ त परेका छन्, मुद्दा चलाइ नसकेको अवस्था छ,’ उनले भने ‘ युवतीहरुलाई आर्केष्टामा पुर्याउनमा उनीहरुको संलग्नता हो वा होइन भन्ने बारेमा आवश्यक अनुसन्धान भइरहेको छ । ’

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...