Wednesday 18th March 2026

मलेसियाका राजा सुल्तानले गरे पदत्याग, यसै महिना नयाँ राजा बनाइने


तितोपाटी – मलेसियाका बहालवाला राजा सुल्तान मुहम्मद पाँचौंले अप्रत्याशित रूपमा पद त्याग गरेकाले यही महिना नयाँ राजा चयन गरिने भएको छ। चयनसँगै नयाँ राजाको पदबहाली समारोह पनि यही महिना मै गर्ने कार्यतालिका बनाइएको राजप्रासाद अधिकारीहरुलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले सोमबार बताएका छन्।

मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा चयन गर्ने अनौठो प्रचलन रहेको छ। पछिल्ला राजा सुल्तान मुहम्मद पाँचौंले आफ्नो कार्यकाल पूरा नहुँदै आइतबारदेखि लागू हुनेगरी राजगद्दी त्यागेको घोषणा गरेपछि नयाँ राजाको खोजीका लागि निर्वाचन भएको थियो।

रूसी पूर्वसुन्दरीसँग विवाह गरेको भन्ने हल्ला चलिरहेकै बेला उनले समय अगावै राजगद्दी त्यागेको अनुमान गरिएको छ। मलेसियामा सन् १९५७ यता कुनै राजाले राजगद्दी त्याग गरेको यो पहिलो घटना हो। उनले गत नोभेम्बरमा औषधि उपचारका लागि भन्दै लामो बिदा लिएका थिए। बिदा सकिएको एक महिनापछि पूर्व मिस मस्कोसँग उनले विवाह गरेको भन्दै तस्बिर बाहिरिएका थिए। राजा सुल्तानले दुई बर्ष अगाडि राजगद्दी सम्हालेका थिए। राजप्रासाद कार्यालयले ४९ वर्षीय राजाले राजगद्दी त्याग गर्नुको कुनै कारण भने खुलाएको छैन।

राजप्रासाद कार्यालयद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘महाराजाधिराज सुल्तानले जनवरी ६ तारिखबाट लागू हुनेगरी १५औं राजाका रुपमा गद्दी त्याग गरेको घोषणा गर्नुभएको छ।’ राजाबारे फैलिएको हल्ला र हालको उनको स्वास्थ्यस्थितिबारे पनि राजप्रासाद कार्यालयले केही बताएको छैन। यद्यपि राजा मुहम्मद पाँचौंले मलेसियाका जनतालाई सधैं एकतामा बाँधिरहन, आपसमा सद्भाव कायम गर्न र सँगै मिलेर काम गर्न भनेको राजप्रासाद कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

नयाँ राजा नियुक्त नभएसम्मका लागि उनले नै कार्यकारी भूमिका निर्वाह गर्ने बताइएको छ। नयाँ राजा चयन गर्नका लागि यही जनवरी २४ तारिखका दिन सम्बन्धित निकायको बैठक बोलाइएको अधिकारीहरुले जनाएका छन्। चयन भएका नयाँ राजाले जनवरी ३१ मा पदबहाली गर्ने उनीहरूको भनाइ छ।

नयाँ राजाको पदबहाली समारोहलाई भव्य बनाइने उनीहरुले बताएका छन्। समारोहमा नयाँ राजालाई सुरक्षाकर्मीहरूले सम्मानस्वरूप सलामी चढाउने तथा मुस्लिम धर्मगुरु र हजारौं अतिथिहरू परम्परागत पोशाकमा सहभागी हुने राजप्रासाद कार्यालयद्वारा जारी वक्तव्यमा भनिएको छ। मुस्लिम–बहुल मलेसियामा संवैधानिक राजतन्त्रात्मक व्यवस्था रहेको छ। उनीहरु विषेशगरी मुस्लिम मलाय समुदायबाट चयन हुन्छन्। मलेसियामा राजालाई अति धेरै सम्मान गरिन्छ भने उनीहरुको आलोचना गर्न कडा प्रतिबन्ध रहेको छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...