Tuesday 9th September 2025

मलेसियाका राजा सुल्तानले गरे पदत्याग, यसै महिना नयाँ राजा बनाइने


तितोपाटी – मलेसियाका बहालवाला राजा सुल्तान मुहम्मद पाँचौंले अप्रत्याशित रूपमा पद त्याग गरेकाले यही महिना नयाँ राजा चयन गरिने भएको छ। चयनसँगै नयाँ राजाको पदबहाली समारोह पनि यही महिना मै गर्ने कार्यतालिका बनाइएको राजप्रासाद अधिकारीहरुलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले सोमबार बताएका छन्।

मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा चयन गर्ने अनौठो प्रचलन रहेको छ। पछिल्ला राजा सुल्तान मुहम्मद पाँचौंले आफ्नो कार्यकाल पूरा नहुँदै आइतबारदेखि लागू हुनेगरी राजगद्दी त्यागेको घोषणा गरेपछि नयाँ राजाको खोजीका लागि निर्वाचन भएको थियो।

रूसी पूर्वसुन्दरीसँग विवाह गरेको भन्ने हल्ला चलिरहेकै बेला उनले समय अगावै राजगद्दी त्यागेको अनुमान गरिएको छ। मलेसियामा सन् १९५७ यता कुनै राजाले राजगद्दी त्याग गरेको यो पहिलो घटना हो। उनले गत नोभेम्बरमा औषधि उपचारका लागि भन्दै लामो बिदा लिएका थिए। बिदा सकिएको एक महिनापछि पूर्व मिस मस्कोसँग उनले विवाह गरेको भन्दै तस्बिर बाहिरिएका थिए। राजा सुल्तानले दुई बर्ष अगाडि राजगद्दी सम्हालेका थिए। राजप्रासाद कार्यालयले ४९ वर्षीय राजाले राजगद्दी त्याग गर्नुको कुनै कारण भने खुलाएको छैन।

राजप्रासाद कार्यालयद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘महाराजाधिराज सुल्तानले जनवरी ६ तारिखबाट लागू हुनेगरी १५औं राजाका रुपमा गद्दी त्याग गरेको घोषणा गर्नुभएको छ।’ राजाबारे फैलिएको हल्ला र हालको उनको स्वास्थ्यस्थितिबारे पनि राजप्रासाद कार्यालयले केही बताएको छैन। यद्यपि राजा मुहम्मद पाँचौंले मलेसियाका जनतालाई सधैं एकतामा बाँधिरहन, आपसमा सद्भाव कायम गर्न र सँगै मिलेर काम गर्न भनेको राजप्रासाद कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

नयाँ राजा नियुक्त नभएसम्मका लागि उनले नै कार्यकारी भूमिका निर्वाह गर्ने बताइएको छ। नयाँ राजा चयन गर्नका लागि यही जनवरी २४ तारिखका दिन सम्बन्धित निकायको बैठक बोलाइएको अधिकारीहरुले जनाएका छन्। चयन भएका नयाँ राजाले जनवरी ३१ मा पदबहाली गर्ने उनीहरूको भनाइ छ।

नयाँ राजाको पदबहाली समारोहलाई भव्य बनाइने उनीहरुले बताएका छन्। समारोहमा नयाँ राजालाई सुरक्षाकर्मीहरूले सम्मानस्वरूप सलामी चढाउने तथा मुस्लिम धर्मगुरु र हजारौं अतिथिहरू परम्परागत पोशाकमा सहभागी हुने राजप्रासाद कार्यालयद्वारा जारी वक्तव्यमा भनिएको छ। मुस्लिम–बहुल मलेसियामा संवैधानिक राजतन्त्रात्मक व्यवस्था रहेको छ। उनीहरु विषेशगरी मुस्लिम मलाय समुदायबाट चयन हुन्छन्। मलेसियामा राजालाई अति धेरै सम्मान गरिन्छ भने उनीहरुको आलोचना गर्न कडा प्रतिबन्ध रहेको छ।


सम्बन्धित शीर्षकहरु

उत्तरी भारतमा बाँदरहरूले लगेको र पछि पानीको ड्रममा डुबेको अवस्थामा फेला परेपछि दुई महिनाको शिशुको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार साँझ एयर फोर्स वनमा चढ्ने तयारी गर्दै प्रेसलाई दिएको टिप्पणीमा गाजा युद्धविराम र बन्धक आदानप्रदान…

परराष्ट्र मन्त्रालयबाट सरुवा भई शिव बानियाले कुवेतस्थित नेपाली दूतावासमा द्वितीय सचिवका रूपमा कार्यभार ग्रहण गरेका छन्। केही समयदेखि रिक्त रहेको…

प्रतिकृयाहरू
...