Monday 28th July 2025

साउदीकी एक युवती कुवेतबाट भागेर अष्ट्रेलियामा शरण लिन जाँदै गर्दा थाइल्याण्डमा पक्राउ


तितोपाटी – थाइल्यान्डका अधिकारीहरूले बैंककस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा नियन्त्रणमा लिइएकी साउदी युवतीलाई कुवेत नफर्काइने बताएका छन् । साउदी युवती रहाफ मोहम्मद अल कुनुनले आफ्नो जीवन असुरक्षित भएको भन्दै कुवेत फर्किन अस्वीकार गरेकी हुन् । उनका परिवारका सदस्यहरू भने हाल कुवेतमा छन् । परिवारसँगै बिदा मनाउन कुवेत पुगेकी अल–कुनुन दुई दिनअघि त्यहाँबाट भागेकी थिइन् । उनी बैंकक हुँदै अस्ट्रेलिया पुगेर शरण माग्ने योजनामा थिइन् ।

थाइल्यान्डका अध्यागमन प्रहरी प्रमुखले ती युवतीको सुरक्षाको चासोका कारण उनलाई कुवेत फिर्ता पठाउने योजना रद्द गरिएको बताए । सुराचेत हकपर्नले भने, ‘यदि फिर्ता पठाउँदा उनको ज्यान जान्छ भने हामी पक्कै पनि त्यसो गर्दैनौं ।’ यसअघि थाइल्यान्डका अध्यागमन अधिकारीले १८ वर्षीया अल कुनुनलाई कुवेत पठाउने प्रयास गरेका थिए । त्यसलगत्तै उनले आफूलाई फिर्ता पठाउन लागिएको विमान कुवेतका लागि नउडुन्जेल विमानस्थलस्थित एक होटलको कोठा थुनेर बसेकी थिइन् । थाई अधिकारीले संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकायका प्रतिनिधिलाई अल कुनुनसँग भेट गर्न दिने बताएपछि उनी बाहिर आएकी हुन् ।

आफूले इस्लाम धर्म परित्याग गरेको हुनाले बलपूर्वक साउदी अरेबिया फर्काएर परिवारले आफ्नो हत्या गर्ने षड्यन्त्र गरेको उनले बताएकी थिइन् । इस्लाम धर्मअनुसार महिलालाई समान अवसर नदिइने भएकाले धर्म परित्याग गरेको उनको भनाइ छ । उनले भनिन्, ‘मेरा दाजुभाइ र परिवार तथा साउदी दूतावासले मलाई कुवेतमा कुरिरहेका छन् । उनीहरूले मलाई मार्छन् । मेरो जीवन संकटमा छ ।’ थाई प्रहरीका एक वरिष्ठ अधिकारीले ती युवती विवाह गर्न नमानेर भागेको बताएको बीबीसीले उल्लेख गरेको छ । उनले आफूसँग अस्ट्रेलिया जाने प्रवेशाज्ञा रहेको दाबी गर्दै बैंककस्थित सुर्वणभूमि विमानस्थलमा आफूलाई भेट्ने एक साउदी कूटनीतिज्ञले राहदानी खोसेको दाबी गरिन् । तर साउदी अधिकारीले राहदानी नियन्त्रणमा लिएको अस्वीकार गर्दै फर्किने हवाई टिकट नभएकाले उनलाई नियन्त्रणमा लिइएको दाबी गरे ।

उनलाई कुवेत पठाउन भनेर थाई अधिकारीहरू उनको कोठाबाहिर उभिइरहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यम समाचार प्रकाशित भएको थियो । अल कुनुनले आफूले अब गुमाउन केही बाँकी नरहेको भन्दै नाम तथा अन्य विवरण ट्वीटरमार्फत सार्वजनिक गर्दै उनले विश्व समुदायसँग शरणका लागि आग्रह गरेकी छन् ।

मानवअधिकारवादी संस्थाहरूले उनको सुरक्षाबारे चासो व्यक्त गर्दै जीवन रक्षाका लागि अपिल गरेपछि थाइल्यान्डका अधिकारी पछि हट्न बाध्य भएको जनाइएको छ । हयुमन राइटस् वाच एसिया क्षेत्रका सहायक निर्देशक फिल रोबर्टसनले ‘राष्ट्रसंघको शरणार्थी हेर्ने निकायसँग भेट्न र शरण माग्न नदिइएसम्म कोठाबाट बाहिर नआउने उनले अडान राखेको’ जनाएका थिए । उनले ती युवतीलाई कुवेत फिर्ता गर्नबाट रोक्न बैंककको एक अदालतमा आवेदन दिएको आवेदन भने थाइल्यान्डको अदालतले खारेज गरेको थियो । मानवअधिकारवादीहरूले थाई पक्षले साउदी अरबलाई सघाएको दाबी गरेका छन् । उनीहरूले युवतीलाई नियन्त्रणमा लिन साउदी अधिकारी उनी आएको विमानसम्मै पुगेको जनाए ।

गत साता ती युवतीले आफ्नो टीटरमा लेखेकी थिइन्, ‘म आफ्नो देशमा अध्ययन गर्न र काम गर्न पाउदिनँ । त्यसैले म स्वतन्त्र हुन चाहन्छु, आफूले चाहेअनुसार पढ्न र काम गर्न चाहन्छु ।’ त्यसगत्तै उनले आफ्नो उक्त पोस्टबाट ‘बुवा एकदमै क्रूद्ध भएको’ जनाएकी थिइन् ।

साउदी कानुनअनुसार पुरुषको अभिभावकत्वबिना महिलाले कामगर्न, यात्रा गर्न, बैंकमा खाता खोल्न, विदेश भ्रमण गर्नलगायतका गतिविधि गर्न रोक लगाएको छ ।

यसअघि सन् २०१७ को अप्रिल महिनामा अस्ट्रेलियाबाट फिलिपिन्सको बाटो हुँदै कुवेत जान लागेकी २४ वर्षीया डिना अली लास्लुमलाई उनको परिवारले मनिला विमान स्थलबाट साउदी अरब लगेको थियो ।

क्यानडाका एक पर्यटकको फोन प्रयोग गरेर पठाइएको सन्देशमा परिवारले आफूलाई मार्न सक्ने बताएकी थिइन् । तर त्यसपछि उनको अवस्था भने हालसम्म अज्ञात छ ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘निरेम सांगीतिक उत्सव’ को तेस्रो संस्करण यही आउँदो डिसेम्बर १२ मा हुने घोषणा गरेको…

अर्ध-राज्य आधिकारिक समाचार साइट तस्निमले एक कथित प्रत्यक्षदर्शीको बयान जारी गर्‍यो जसले दाबी गर्‍यो कि "बन्दुकधारीहरू बीस वर्षका तीन जना…

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

प्रतिकृयाहरू
...