Tuesday 17th February 2026

भारतीय फुटबलर सुनिल क्षेत्रीले मेस्सी र नेयमारलाई उछिने, रोनाल्डोको पछि पछि


तितोपाटी – क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ।

आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको खेलमा सुनील छेत्रीले दुई गोल गर्दा भारत ४-१ ले विजयी मात्रै भएन, क्षेत्रीले १०५ खेलमा व्यक्तिगत अन्तर्राष्ट्रिय गोल सङ्ख्या ६७ पुर्‍याउदै सक्रिय खेलाडीहरूको गोल सङ्ख्यामा मेस्सी र नेयमारभन्दा माथि उक्लिए।

मेस्सीले अहिलेसम्म आर्जेन्टिनाका लागि १२८ खेलमा ६५ गोल र नेयमारले ब्राजिलका लागि ९५ खेलमा ६० गोल गरेका छन्। तर रोनाल्डोभन्दा छेत्री निकै पछाडि नै छन्। रोनाल्डोले पोर्चुगलका लागि १५४ खेलमा ८५ गोल गरिसकेका छन्।

छेत्री सक्रिय खेलाडीहरूको सूचीमा दोस्रो स्थानमा भए पनि सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीहरूको सूचीमा २० औँ स्थानमा छन्। इरानका अलि देई १४९ खेलमा १०९ गोलसहित शीर्षस्थानमा रहेको सूचीमा छेत्रीभन्दा तल डिडियर ड्रोग्बा र ब्राजिलका रोनाल्डो छन्।

छेत्रीले दुई गोल गरेपछि एशियाली कप २०१९ को पहिलो खेलमा भारत विजयी भयो र यो नतिजा भारतको प्रतियोगिताको ५५ वर्षको इतिहासमा पहिलो जित हो।

नेपाली मूलका भएका कारण छेत्री नेपाली फुलबल समर्थकमाझ प्रिय छन्। नेपालविरुद्ध खेल्दा भने उनके प्रदर्शन नेपाली समर्थकमाझ अप्रिय बन्छ। उनले अन्तर्राष्ट्रिय फुटबल खेल्न शुरू गरेयता भारतले नेपालसँग नौवटा अन्तर्राष्ट्रिय खेल खेलेको छ, जसमध्ये उनले आठ खेल खेलेर पाँच गोल गरेका छन्। र, तीमध्ये छ खेलमा भारत र एक खेलमा नेपाल विजयी भएको छ।

को हुन क्षेत्री?
३४ वर्षीय सुनील छेत्री भारतीय सुपर लिगमा बेङ्गालुरु फुटबल टोलीका कप्तान हुन्। ‘क्याप्टेन फ्यान्टास्टिक’ उपनामले चिनिने छेत्री भारतीय राष्ट्रिय टोलीबाट सबैभन्दा बढी खेल खेल्ने खेलाडी समेत हुन्। गत वर्ष एशियाली फुटबल परिषद् (एएफसी) ले छेत्रीलाई ‘एशियन आइकन’ घोषणा गरेको थियो। छेत्रीका बुवा भारतीय सैनिक टोलीबाट फुटबल खेल्थे भने उनकी आमा सुशीला छेत्री नेपाली राष्ट्रिय महिला टोलीको सदस्य थिइन्।

सन् २००२ मा मोहन बगानसँग आबद्ध भएर व्यावसायिक रूपमा खेल्न शुरू गरेका छेत्रीले २००५ देखि भारतको राष्ट्रिय टोलीबाट पाकिस्तानविरुद्ध पहिलो खेल खेलेका थिए र गोल पनि गरेका थिए। त्यसयता छेत्रीले सन् २००७, २०११, २०१३, २०१४ र २०१७ मा गरी पाँच पटक भारतका उत्कृष्ट खेलाडीको पुरस्कार प्राप्त गरिसकेका छन्। सुनील छेत्री फुटबलमा भारतको सबैभन्दा ठूलो उपलब्धि मानिने एएफसी च्यालेञ्ज कप २००८ जित्ने बेला नायक थिए। प्रतियोगितामा उनले ४ गोल गरेका थिए।

-बीबीसी नेपालीबाट


सम्बन्धित शीर्षकहरु

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

लुलु हाइपरमार्केटले यस हाला फेब्रुअरीमा कुवेतको राष्ट्रिय तथा मुक्ति दिवसहरूलाई ‘I Love My Kuwait’ नामक भव्य प्रमोसन मार्फत अविस्मरणीय किनमेल…

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

प्रतिकृयाहरू
...