तितोपाटी डट कम- गुमीस्थित जनसंयुक्त प्राविमा केही वर्षअघिसम्म विद्यार्थी संख्या न्यून थियो । पाँच वर्षअघि गजेन्द्र राना शिक्षकका रूपमा प्रवेश गरे । अहिले जनसंयुक्तमा विद्यार्थीको चाप बढेको छ । स्वयंसेवी शिक्षकका रूपमा आएका उनले विद्यालयको माहोलै बदलेका छन् ।
काठमाडौंको एसओएस बालग्राममा पढेका राना ५ वर्षअघि जन्मस्थान गुमी आएका थिए । शिक्षकहरू विद्यालयमा जाँडरक्सी खाएर आउने, विद्यार्थी पनि दिनभरि माटो खेलेर घर फर्किने । विद्यालयको यस्तो अवस्था देखेपछि उनलाई काठमाडौं फर्किन मन लागेन ।
त्यसैले उनले स्वयंसेवी शिक्षक भएर गाउँको विद्यालयलाई सुधार्ने निधो गरे । अहिले साँच्चिकै जनसंयुक्त प्रावि बदलिएको छ । उतिबेला विद्यालयमा २२ विद्यार्थी अध्ययनरत थिए । अहिले करिब १ सय ५० विद्यार्थी छन् । ‘उहाँ आएपछि विद्यालयले अंग्रेजी माध्यमबाट पढाउन सुरु गर्यो, त्यसपछि त विद्यार्थी पनि बढे,’ विद्यालय व्यवस्थापन समिति सदस्य कुलबहादुर थकालीले भने, ‘बिनातलब पढाउने उहाँको सहयोगबाट विद्यालयको स्तर सुध्रिएको छ ।’
त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेका उनी विद्यालयमा नि:शुल्क पढाउँछन् । विद्यालयले खाजा खर्चबापत मासिक १/२ हजार रुपैयाँ दिन्छ । तर, उनी खुसीसाथ पूरै समय विद्यालयलाई दिन्छन् । ‘नानीबाबुको ओठमा हाँसो देख्दा निकै आनन्द लाग्छ,’ उनले भने, ‘अब मेरो सपना यहाँका विद्यार्थीलाई उच्च शिक्षा दिलाएर समाज बदल्ने हुनेछ ।’
जनसंयुक्त विद्यार्थी कम हुँदा अर्को विद्यालयसँग मर्ज हुने अवस्थामा पुगेको थियो । अहिले स्तरोन्नति भई ८ कक्षासम्म चलाउने तयारी छ । ‘गजेन्द्र सर नआएको भए यो विद्यालय आजसम्म अन्य विद्यालयमा मर्ज भइसक्थो, हामीलाई त ढुंगा खोज्दा देउता भेटिएझैं भएको छ,’ विद्यालय व्यवस्थापन समिति अध्यक्ष हस्तबहादुर सुनारले भने, ‘गजेन्द्र सर भनेपछि विद्यार्थी हुरुक्कै हुन्छन्, बोर्डिङ छाडेर आउनेको संख्या पनि बढेको छ ।’
विद्यार्थी बढेपछि निजीस्रोतबाट शिक्षक पनि थपिएको उनले बताए । गजेन्द्रले विद्यालयमा आउनेबित्तिकै अंग्रेजी माध्यमबाट पढाइ सुरु गरे । यसले चर्को शुल्क तिरेर बोर्डिङ पढ्ने विद्यार्थीलाई आकर्षित गर्यो । उनकै सल्लाहमा विद्यालयले पोसाक अनिवार्य गर्यो । गजेन्द्र सरको प्रवेशले विद्यालय परिवर्तन भएपछि स्थानीय पनि दंग छन् । ‘अहिले गाउँका बोर्डिङ स्कुलसमेत पछि परेका छन्,’ थकालीले भने, ‘हिजोआज अन्य विद्यालयले समेत हाम्रो सिको गर्न थालेका छन् ।’
जनसंयुक्तलाई सुधारेसँगै गजेन्द्रले त्यस्तै अर्को कुनै विद्यालयलाई सुधार्ने योजना बनाएका छन् । तर, विद्यार्थी, शिक्षक र अभिभावकको मायाले उनलाई विद्यालय छाड्न सजिलो छैन । उनको योजनाबाट विद्यालय परिवार पनि चिन्तित छ । ‘सर हाम्रा बालबालिकाको भविष्यबारे निकै चिन्तित हुनुहुन्छ,’ अध्यक्ष सुनारले भने ।
गजेन्द्र पनि छोटो समयमै विद्यालय सुधार्न सकेकोमा सन्तुष्ट छन् । यहाँका अभिभावक, शिक्षक र विद्यार्थी सबैको सहयोगबाट परिवर्तन सम्भव भएको उनी बताउँछन् । ‘पढ्न भनेर स्कुल आएका विद्यार्थी दिनभरि माटोमा खेलेर घर फर्केको देख्दा दु:ख लाग्थ्यो,’ उनले भने, ‘अहिले हाम्रो अवस्था देख्दा मनमनै गर्व लाग्छ ।’
गुर्भाकोट नगरपालिका उपप्रमुख मैना विकएकजना व्यक्तिले चाहे परिवर्तन सम्भव हुने बताइन् । ‘गजेन्द्र सरले हामीलाई नसोचेको कुरा प्रदानगर्नुभएको छ,’ उनले भनिन्, ‘उहाँकै सहयोगमा आगामी शैक्षिक सत्रबाट विद्यालयमा कक्षा थप गर्ने सोच बनाएका छौं ।’
पछिल्लो समय गजेन्द्रको प्रेरणाबाट नमुना बनेको विद्यालयमा अहिले देश–विदेशबाट सहयोग आउने क्रम बढेको छ । दक्षिण कोरियामा रहेको सुर्खेत समाजले बिहीबार १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।
-कान्तिपुरबाट