Saturday 7th March 2026

मलेसियाका जेलमा रहेका कामदारलाई स्वदेश फर्काइदिने भन्दै लाखौंको ठगी [भिडियोसहित]


तिताेपाटी – अवैध रुपमा मलेसियामा बसेर रोजगारी गरिरहेको नेपाली कामदार स्वदेश फर्कने नाममा लाखौं रुपैयाँ ठगीमा पर्ने गरेको सार्वजनिक भएको छ। अवैधानिक बसेको अभियोगमा पक्राउ परेका १२ जना नेपाली कामदार मलेसियाली प्रहरी र नेपाली दलालबाट लाखौं ठगिएका हुन्।

ठगिएका युवाले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा उजुरी गरेपछि यो कुरा सार्वजनिक भएको हो। झापाका युवराज आचार्य, रौतहटका अस्लाम मियाँ अन्सारी र संसाद मियाँ, बाँकेका सिरज अली, धनुषाका मम्सीकुमार महतो सुनसरीका दिनेश शाह, सप्तरीका सुलेन्द्र यादव र रितेशकुमार यादव, रुकुमका माने कामी, शंक बहादुर बस्नेत र रुपन्देहीका मिन कुमार बुढा मगरले फर्किने नाममा ठगीमा परेको भन्दै उजुरी गरेका छन्। करीब २५ लाख आफूहरुले दलाललाई बुझाएको उनीहरुले बताएका छन्।

उनीहरूलाई फिर्तीकेन्द्रबाट नेपाल फर्काउन सहयोग गर्ने भन्दै उदयपुरका एजेन्ट सुमन लिम्बू र मलेसिया प्रहरीका उच्च अधिकारी एरिन मिराज अबदुल्लले १२ जनासँग गरी करिब २५ लाख नेपाली रुपैयाँ ठगेको भन्दै प्रहरीमा उजुरी गरेका हुन्।

मलेसियाली प्रहरीको धरपकडमा पक्राउ परेका कतिपय नेपाली श्रमिकलाई प्रहरी र दलाल मिलेर आर्थिक शोषण गर्ने गरेको झापाका युवराज आचार्यले नेपाल लाइभलाई बताए। आचार्य ६ वर्षअघि मलेसिया पुगेका थिए। उनी ६ महिना जेल बसेर मलेसियास्थित क्यारल्याङ फिर्तीकेन्द्रमा गएका थिए। ‘प्रहरी र दलाल मिलेर फिर्तीकेन्द्रमा रहेका नेपालीसँग रकम असुल्ने गर्छन्। यसमा दूतावासका कर्मचारीको पनि मिलेमतो हुन्छ’ उनले भने।

आचार्यसहित विभिन्न आरोपमा जेल परेका अन्य १२ जना बिहिबार नै काठमाडौं उत्रिएका छन्। उनीहरू अहिले न्याय माग्दै काठमाडौंमा भौंतारिइरहेका छन्।

दलाल र मलेसिया प्रहरीको मिलोमतोमा ठगिएको भन्दै पीडितहरू प्रहरीमा पुगेका हुन्। मलेसियाको फिर्तीकेन्द्रमा बसेर फर्किएका उनीहरु करार अवधि सकिएर अथवा भागेर काम गर्दै आएका थिए। उनीहरूलाई अवैध भएर काम गरेको अभियोगमा मलेसिया प्रहरीले पक्राउ गरेको थियो।

यसरी हुन्छ ठगी

रोजगारीका लागि मलेसिया पुगेका नेपाली कामदार करार अवधि सकिएपनि रोजगारदाता कम्पनीका शरण लिएर काम गर्दै आएका छन्। यसरी अवैध बनेका कामदारलाई मलेसिया प्रहरीले पक्राउ गर्छ। पक्राउ परेका कामदारलाई अदालतले निश्चित सजाया र जरिवाना गरी फिर्तीकेन्द्रमा पठाइदिन्छ। फिर्तीकेन्द्रमा बसेका कामदारले मलेसियाको कुटनीतिक नियोगमा ट्राभल डकुमेन्टका लागि आवेदन गर्नुपर्छ।

ट्राभल डकुमेन्टका लागि आवेदन भरेदेखि नेपाली दलाल, मलेसिया प्रहरी र नियोगका कर्मचारीबीच साँठगाँठ सुरु हुन्छ। त्यसपछि कामदारसँग पैसाको लागि प्रहरी र दलालले सौदाबाजी सुरु गर्छन्।

फिर्तीकेन्द्रमा बसेका धनुषा ढल्केबरका मम्सीकुमार महतोलाई जेलबाट छुटाएर नेपाल पठाइदिने भन्दै दूतावासका कर्मचारीसँगको साँठगाँठमा दलालले परिवारबाट रकम माग गरेका थिए। पैसा माग्ने दलालको को हुन् भन्ने विषयमा आफू अनभिज्ञ रहेको महतोले बताए।

‘रकम खाने दलाल को हुन् भन्ने कुरा परिवार र मलाई थाहा छैन। मलेसिया प्रहरीले नै घरपरिवारमा सम्पर्क गराउन भन्दै एक नेपाली दलालसँग फोनमा कुराकानी गराइदिएको थियो। परिवारको फोन नम्बर दिन आनाकानी गरेको थिएँ। तर दलाल नेपालको ठेगाना पत्ता लगाएर परिवारसम्म पुगेछन्,’ महतोले भने।

नेपालमा रहेका दलालले फिर्तीकेन्द्रमा बसेका कामदारका परिवारलाई नक्कली फोटो पठाएर अवस्था नाजुक छ भन्दै पैसा माग्ने गरेका छन्। परिवारमार्फत पैसा लिने दलालको पहिचान पीडितलाई थाहा हुँदैन। कसले ठग्यो भनेर पैसा दिनेलाई पनि थाहा हुँदैन। 

‘दूतावासले सहयोग गर्दैन’
मलेसियाबाट फर्किएका १२ जना कामदारले फिर्तीकेन्द्र र जेलमा बस्दा नेपाली दूतावासबाट कुनै सहयोग नभएको गुनासो गरेका छन्। सामान्य मुद्दामा जेल परेका नेपाली कामदारलाई पनि दूतवासले सहयोग नगर्ने उनीहरूको भनाई छ। सहयोगका लागि आवेदन दियो भने पनि दूतावासले तत्काल कामदारका समस्याका सुनुवाइ नगर्ने गरेको पीडितको आरोप छ।

कम्पनीले भाग्न बाध्य बनाएपछि दूतावासमा खबर गरेको सुनसरीका दिनेश शाहले बताए। शाहले भने, ‘दूतावासले कामदारको समस्यालाई वास्ता नै गर्दैन। दूतावासले सहयोग नगर्दा बाध्यताले अवैध हुनुपर्छ।’

समस्यामा परेका कामदारका विषयमा दूतावास नै बेखबर रहेको उनीहरुको भनाई छ।

हालै मलेसियाबाट फर्किएका उनीहरु आफै खर्च गरेर फर्किएको बताए।  मलेसियाको कानुनमा फिर्तीकेन्द्रमा बसेवापत् पैसा लिने व्यवस्था छैन तर, फिर्तीकेन्द्रमा बसेर फर्किएका प्राय सबैले प्रतिव्यक्ति एक हजार रिंगेट (करीब ३० हजार नेपाली रुपैयाँ बराबर) भन्दा धेरै तिरेर बसेको बताए।   

लागुऔषध ओसारपसारको अभियोग
अवैध रुपमा बसेर काम गरिरहेको नेपाली कामदार मलेसिया प्रहरीको फन्दामा परेपछि प्रहरीले नै पैसा माग्छन्। पैसा नदिए जबरजस्ती लागुऔषध ओसारपसारको मुद्दामा जेल हाल्नेसम्म गरेको  उनीहरूको भनाइ छ।

आफूहरूलाई प्रहरीले जबरजस्ती लागुऔषध ओसारप्रसारको अभियोग लगाएर जेल हालेको झापाका आचार्य र सुनसरीका शाहले बताएका छन्। ‘प्रहरीले पक्राउ गरेपछि पैसा माग्छ। दिएन भने लागऔषध ओसारपसारको अभियोगमा जेल हाल्ने गरेको छ’ आचार्यले भने। मलेसिया प्रहरीले पक्रिएका धेरै नेपालीलाई झुटो मुद्दामा जेल हाल्ने गरेको उनीहरूको भनाई छ।

जेलभित्र चरम यातना  
मलेसियाको जेलमा परेका नेपाली कामदारलाई प्रहरीले चरम यातना दिने गरेको नेपाल फर्किएका पीडितले बताउँदै आएका छन्। प्रहरीले हिरासतमा लिएपछि यातना लिएर रमाइलो लिने गरेको मम्सीकुमार महतोले बताएका छन्। उनले भने, ‘प्रहरीले यातना अपशब्द बोल्दै यातना दिन्छन्। कुट्ने मात्र होइन, सबै लुगा फुकाल्न लगाएर संवेदनशील अंगमा पनि हिर्काउँथे। किड्नी बेच्ने धम्कीसमेत दिने गर्थे।’

मलेसिया गएका महिला कामदार जेल परे भने ती महिलाले त झन् आफूले पाएको यातना समेत भन्न सक्दैनन्। मलेसियाका जेलमा रहेका नेपालीलाई प्रहरी चरम यातना दिने गरेको पीडितको भनाई छ। 

परिवारलाई ब्ल्याकमेलिङ
मलेसियाका जेलमा परेका कामदारलाई दलालले ब्लकमेलिङ गरेर पैसा माग्ने गरेको उनीहरूको भनाई छ। रौतहटका संसाद मियाँका परिवारसँग एक अपरिचित दलालले मलेसियामा मियाँको गम्भीर अवस्था रहेको भन्दै पैसा लिएको बताएका छन्।

मियाँ सिकिस्त बिरामी रहेको र तत्काल हस्पिटल पुर्याउन नसेके मृत्यु हुने भन्दै दलाल लिम्बूले पटक-पटक रौतहट नै गएर ४ लाख रुपैयाँ परिवारसँग लिएर गएको पीडित मियाँले बताए। परिवारमार्फत पैसा बुझाएपनि जेलबाट नछुटेपछि मात्र आफू ठगिएको थाहा पाएको उनको भनाई छ। मलेसियामा जेलमा रहेको कामदार परिवारलाई फोनमार्फत दलालले ‘ब्ल्याकमेलिङ’ गरेर पैसा ठग्ने गरेका छन्। 

– नेपाल लाइभ


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...