Sunday 3rd May 2026

रसुवामा ४ दशक पछि व्युँतियो “खम्बा नाच”


तितोपाटी – रसुवाको सदरमुकाम धुन्चेमा चार दशकपछि खम्बा नाच देखाइएको छ । हरेक वर्ष भाइटीकापछि आउने पहिलो मंगलबार यो नाच देखाउने गरिन्छ । रसुवा संरक्षण तथा सांस्कृतिक कला समूहले करिब साढे तीन घण्टा लामो नाच प्रस्तुत गरेको हो । नाचमा भोटे र जोगीको सम्बन्धलाई देखाइएको थियो । तिब्बतीयन भाषामा भोटेलाई खम्बा भनिन्छ।

धुन्चेका युवाहरूको सक्रियतामा नाच देखाइएको टुल्कु छोलिङ गुम्बाका प्रमुख लामा दावा सिदार घलेले बताए । ‘लोप हुन पुगेको चेन्दा नाचअन्तर्गतको खम्बा नाच चार दशकपछि देखाएका हौं,’ उनले भने, ‘आगामी दिनमा यसलाई निरन्तरता दिन्छौं । २०३५ सालसम्म हरेक वर्ष देखाइँदै आएको भए पनि त्यसपछिका दिनमा नाच नै लोप हुने अवस्थामा पुगेको थियो । लोप हुन नदिनका लागि अहिले युवा जुटेका छन्।’

नाचमा जोगी र तिब्बतीयन भोटेको मुख्य भूमिका हुन्छ । प्रत्येक वर्ष फरक–फरक नाच देखाइने उनको भनाइ छ । गत वर्ष जरायो नाच, यो वर्ष खम्बा नाच देखाइएको र आगामी वर्ष राजारानी नाच देखाइनेछ । नाच देखाउनका लागि समुदाय र स्थानीय तहले ४ लाख ६० हजार रुपयाँ खर्च गरेका छन् । नाच देखाउनका लागि १८ जना भन्दा बढी सहभागी हुने गर्छन् । संस्कृति तथा परम्परा जोगाउनका लागि एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्न यो नाच देखाउन थालिएको हो । संस्कृति जर्गेनाका लागि गाउँपालिकाले सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए।

यसरी सुरु हुन्छ नाच
तिब्बतीयन भोटेहरू र बनारसी जोगीहरू नेपाल आउँछन् । यहाँ आएपछि उनीहरूको भेट हुन्छ । बनारसी जोगी पशुपति हुँदै गोसाइकुण्ड गइरहेका हुन्छन् । भेट हुँदा भारतबाट आएका जोगीले तिब्बतबाट आएका खम्बालाई ‘फोहोरी’ भन्छन् । तिब्बतबाट आएकाले भारतबाट आएका जोगीलाई ‘काले’ भन्दै व्यंग्य गर्छन् । भेटको क्रममा उनीहरू बीच को सानो को ठुलो भन्ने विषयमा विवाद हुन्छ ।
लामो समयसम्म विवाद चलेपछि अन्त्यमा जोगीको जित हुन्छ । त्यहीक्रममा दर्शकको रूपमा पुगेकाहरूले जोगीलाई काँधमा बोकेर लैजान्छ । गुरु रिम्पोक्र्षेको रूपमा जोगीलाई मानिने भएकाले जोगीलाई बोकेर लैजाँदा घरमा सुख, शान्ति र लक्ष्मीको बास हुन्छ भन्ने लामा गुरुहरूको बताउँछन्।

हरेक वर्षको भाईटिकाको पहिलो मंगलबार चेन्दा नाच अन्तर्गतका यी नाचहरू देखाइन्छ । चार वर्षसम्म हरेक वर्ष एक–एकवटा मात्र एउटा नाच देखाइने गरिएको छ । गतवर्ष चेन्दा नाचअन्तर्गत जरायो नाच देखाईएको थियो । यो वर्ष खम्बा नाच देखाइएको छ।

-नागरिकन्यूजबाट


सम्बन्धित शीर्षकहरु

मिना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक भएको छ । पुस्तकमा शिक्षासँग सम्बन्धित अनुभव, स्मृति र सामाजिक यथार्थलाई समेटिएको छ…

डा. स्वर्णिम वाग्ले ले नेपालको अर्थतन्त्र अहिले “टेक–अफ प्वाइन्ट” मा पुगेको टिप्पणी गर्नु केवल आशावादी भाषण मात्र होइन, आर्थिक सम्भावनाको…

झापा मेचीनगर घर भएका युवा मनिष दर्जीले Kuwait मा आफ्नै क्याम्पको सिढीमा पासो लगाई आत्महत्या गरेको आज २१ दिन पूरा…

प्रतिकृयाहरू
...