Friday 26th April 2024

रसुवामा ४ दशक पछि व्युँतियो “खम्बा नाच”


तितोपाटी – रसुवाको सदरमुकाम धुन्चेमा चार दशकपछि खम्बा नाच देखाइएको छ । हरेक वर्ष भाइटीकापछि आउने पहिलो मंगलबार यो नाच देखाउने गरिन्छ । रसुवा संरक्षण तथा सांस्कृतिक कला समूहले करिब साढे तीन घण्टा लामो नाच प्रस्तुत गरेको हो । नाचमा भोटे र जोगीको सम्बन्धलाई देखाइएको थियो । तिब्बतीयन भाषामा भोटेलाई खम्बा भनिन्छ।

धुन्चेका युवाहरूको सक्रियतामा नाच देखाइएको टुल्कु छोलिङ गुम्बाका प्रमुख लामा दावा सिदार घलेले बताए । ‘लोप हुन पुगेको चेन्दा नाचअन्तर्गतको खम्बा नाच चार दशकपछि देखाएका हौं,’ उनले भने, ‘आगामी दिनमा यसलाई निरन्तरता दिन्छौं । २०३५ सालसम्म हरेक वर्ष देखाइँदै आएको भए पनि त्यसपछिका दिनमा नाच नै लोप हुने अवस्थामा पुगेको थियो । लोप हुन नदिनका लागि अहिले युवा जुटेका छन्।’

नाचमा जोगी र तिब्बतीयन भोटेको मुख्य भूमिका हुन्छ । प्रत्येक वर्ष फरक–फरक नाच देखाइने उनको भनाइ छ । गत वर्ष जरायो नाच, यो वर्ष खम्बा नाच देखाइएको र आगामी वर्ष राजारानी नाच देखाइनेछ । नाच देखाउनका लागि समुदाय र स्थानीय तहले ४ लाख ६० हजार रुपयाँ खर्च गरेका छन् । नाच देखाउनका लागि १८ जना भन्दा बढी सहभागी हुने गर्छन् । संस्कृति तथा परम्परा जोगाउनका लागि एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्न यो नाच देखाउन थालिएको हो । संस्कृति जर्गेनाका लागि गाउँपालिकाले सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए।

यसरी सुरु हुन्छ नाच
तिब्बतीयन भोटेहरू र बनारसी जोगीहरू नेपाल आउँछन् । यहाँ आएपछि उनीहरूको भेट हुन्छ । बनारसी जोगी पशुपति हुँदै गोसाइकुण्ड गइरहेका हुन्छन् । भेट हुँदा भारतबाट आएका जोगीले तिब्बतबाट आएका खम्बालाई ‘फोहोरी’ भन्छन् । तिब्बतबाट आएकाले भारतबाट आएका जोगीलाई ‘काले’ भन्दै व्यंग्य गर्छन् । भेटको क्रममा उनीहरू बीच को सानो को ठुलो भन्ने विषयमा विवाद हुन्छ ।
लामो समयसम्म विवाद चलेपछि अन्त्यमा जोगीको जित हुन्छ । त्यहीक्रममा दर्शकको रूपमा पुगेकाहरूले जोगीलाई काँधमा बोकेर लैजान्छ । गुरु रिम्पोक्र्षेको रूपमा जोगीलाई मानिने भएकाले जोगीलाई बोकेर लैजाँदा घरमा सुख, शान्ति र लक्ष्मीको बास हुन्छ भन्ने लामा गुरुहरूको बताउँछन्।

हरेक वर्षको भाईटिकाको पहिलो मंगलबार चेन्दा नाच अन्तर्गतका यी नाचहरू देखाइन्छ । चार वर्षसम्म हरेक वर्ष एक–एकवटा मात्र एउटा नाच देखाइने गरिएको छ । गतवर्ष चेन्दा नाचअन्तर्गत जरायो नाच देखाईएको थियो । यो वर्ष खम्बा नाच देखाइएको छ।

-नागरिकन्यूजबाट


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...