Wednesday 4th February 2026

स्याङ्जामा प्याराग्लाइडिङ विश्वकप


तितोपाटी – स्याङ्जामा आजबाट प्याराग्लाइडिङ विश्वकप खेल शुरु हुँदैछ । स्याङ्जाको स्वरेक मैदान (भीरकोट) र डौंवाफाँटमा पहिलोपटक प्याराग्लाइडिङ एक्कुरेसी (स्पट ल्याण्डिङ) विश्वकप–२०१८ हुन लागेको हो । प्रतियोगिता कात्तिक १५ देखि १८ सम्म सञ्चालन हुनेछ । नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ संघ (नेफा), नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको पहिलो दिन बिहीबार अभ्यास खेल मात्र हुने आयोजकले जनाएका छन् ।

प्रतियोगितामा महिला पुरुष दुवै इभेन्टमा प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरी ४ स्वर्ण पदकका लागि प्रतिष्पर्धा हुने मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समिति स्याङ्जाकी प्रमुख सीताकुमारी सुन्दासले जानकारी दिइन् ।

प्रतियोगितात्मक प्रतिष्पर्धा भने शुक्रबारदेखि मात्र हुनेछ । प्रतियोगीले एकै दिनमा दुई राउण्ड अर्थात दुई वटा फ्लाइट गर्नुपर्ने हुन्छ । टिम प्रतिस्पर्धामा प्रत्येक समूहमा पुरुषतर्फ ५ र महिलातर्फ ३ खेलाडीहरुको समूह हुनेछ । प्रतियोगितामा प्रत्येक समूह तथा ब्यक्तिले ६ पटकसम्म ल्याण्डिङ गर्नु पर्नेछ ।

प्रतियोगितामा २१ देशका ९८ जना प्याराग्लाइडिङ पाइलटहरु प्रतिष्पर्धामा उत्रिनेछन् । प्रतियोगितामा मित्र राष्ट्र भारत, चीनसहित एसिया तथा अमेरीकालगायतका देशका पाइलटहरुले सहभागिताको लागि नाम दर्ता गराइसकेको सुन्दासले जानकारी दिइन् । यसअघि ३० देशका पाइलटहरुले सहभागिता जनाउने भनिए पनि सबैले नाम दर्ता नगराएको बताइएको छ । यद्यपि, पाइलटहरुले नाम दर्ता गराउने क्रम जारी रहेको सुन्दासले बताइन् ।

प्रतियोगितामा एक सय ५० जनासम्मले प्रतिष्पर्धामा सहभागिता जनाउन सक्ने प्रतियोगिता संयोजक शैलेन्द्र राउतले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न प्याराग्लाइडिङको सर्वोच्च निकाय एफएआईका प्रतिनिधिहरुको ३ सदस्यीय टोलीसमेत स्याङ्जा आउने संयोजक राउतले बताए । उनका अनुसार एफएआईका प्रतिनिधि इण्डोनेसियाका उगा र मुनीर तथा मलेसियाका नादिया आउन लागेका हुन् ।

प्रतियोगितामा हुनसक्ने दुर्घट्नालाई मध्यनजर गरेर सुरक्षाको प्रबन्ध गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी पाइलटहरुको सुरक्षाका लागि रेस्क्यू टिम, एम्बुलेन्स र हेलिकोप्टरसमेत तयारी अवस्थामा राखिएको सचिवालय प्रमुख अनन्तकुमार श्रेष्ठले जानकारी दिए ।

पोखरामा यसअघि १७ औं संस्करणसम्म खुल्ला नेपाल प्याराग्लाइडिङ र पोखरा तथा स्याङ्जाको स्वरेकमा प्री–वल्र्ड कप गरिएको थियो ।

१८ औं एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङको क्रस कन्ट्रीतर्फ रजत पदक हात पार्न सफल भएको थियो ।

जिल्ला समन्वय समित स्याङ्जाको सहयोगमा हुने प्रतियोगिताको समूहतर्फ स्वर्ण पदक विजेताले १५ सय, रजत पदक विजेताले २ सय र काश्य पदक विजेताले ७ सय युरो प्राप्त गर्नेछन् । त्यस्तै, व्यक्तिगततर्फ स्वर्ण पदक विजेताले १ हजार, रजत पदक विजेताले ७ सय ५० र काश्य पदक विजेताले ५ सय युरो प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको संयोजक शैलेन्द्र राउतले बताए ।


सम्बन्धित शीर्षकहरु

सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा…

भारतको २०२६–२७ संघीय बजेटमा विदेश सहायता विनियोजनले नयाँ कूटनीतिक प्राथमिकताहरू स्पष्ट संकेत गरेको छ। सबैभन्दा ठूलो विकास सहायता भुटानलाई २,२८८…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले इरानको सट्टा भेनेजुएलाबाट तेल किन्न सम्झौता गरिसकेको दाबी गरेका छन्। शनिबार एयर फोर्स वनमा पत्रकारहरूसँग…

प्रतिकृयाहरू
...