Tuesday 10th March 2026

खासोग्गी हत्याबारे टर्कीको पहिलो आधिकारिक बयानः दूतावास छिर्नेबित्तिकै घाँटी थिची हत्या


बीबीसी

साउदी पत्रकार जमाल खसोग्गीको हत्या कसरी भएको थियो भन्नेबारे टर्कीले पहिलो पटक आधिकारिक बयान दिएको छ । टर्कीका अनुसार खसोग्गी दूतावास प्रवेश गरेलगत्तै उनको घाँटी थिचेर हत्या गरियो ।

अक्टोबर दुई तारिखमा इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासमा भएको उक्त हत्याबारे थुप्रै हप्तासम्म मिडियामा विभिन्न अड्कलबाजीपछि टर्कीले यस्तो बयान दिएको हो । यद्यपी, यो दाबीमा टर्कीले कुनै पनि प्रमाण भने पेश गरेको छैन ।

मुख्य अभियोजक इरफान फिदानले सोमबार आफ्ना समकक्षीसँग भएको बैठकबाट कुनै ठोस नतिजा निस्कन नसकेको बताएका थिए ।

साउदी अरबले उक्त बैठकबारे कुनै टिप्पणी गरेको छैन ।

टर्कीले के भन्यो ?

टर्कीको तर्फबाट जारी गरिएको बयानमा भनिएको छ, ‘पहिले नै बुनिएको योजना अनुरुप जमाल खसोग्गी साउदी अरबको वाणिज्य दूतावासमा प्रवेश गरेलगत्तै घाँटी थिचेर हत्या गरियो ।’

यसमा भनिएको छ, ‘त्यसपछि पूर्वनियोजित तरिकाले उनको शवलाई टुक्राटुक्रा गरी नष्ट गरियो ।’

खसोग्गी साउदी नागरिक थिए र अमेरिकी मिडियामा काम गर्दथे । उनी आफ्ना देशको शासकका कडा आलोचकको रुपमा परिचित थिए ।

उनको शव अहिलेसम्म फेला पार्न सकिएको छैन तर टर्की, अमेरिका र साउदी अरबले उनको हत्या साउदी वाणिज्य दूतावासभित्रै भएको ठोकुवा गरेका छन् ।

यद्यपी, उनको हत्या कसरी गरेको थियो भन्ने विषयमा भने यी देशबीच एकमत छैन ।

प्रश्नले घेरिएका शाही परिवारः

टर्कीको सत्ताधारी एके पार्टीका एक वरिष्ठ प्रवक्ताले बुधबार उनको हत्या कुनै वरिष्ठ पदमा बसेका व्यक्तिको अनुमती बिना हुनै नसकिने ठोकुवा गरेका छन् ।

साउदी अरबले यसमा शाही परिवारको भूमिका छ भन्ने खबरलाई खण्डन गर्दै आएको छ ।

टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले गत हप्ता साउदी राजा सलमानसँग कुराकानी गरेका थिए र दुबैले हत्या अनुसन्धानमा सहयोग गर्ने विषयमा सहमती जनाएका थिए ।

नाम नखुलाइएका टर्की अधिकारीले यसअघि मिडियासमक्ष खसोग्गीको हत्या पुष्टि गर्नका लागि अडियो भिडियो आफूसँग भएको बताएका थिए तर अहिलेसम्म प्रमाण जारी गरिएको छैन ।

टर्कीको मिडियाले स्रोतको हवाला दिँदै खसोग्गीको हत्या कसरी गरिएको थियो भन्नेबारे छापेको थियो । हत्याअघि उनलाई अत्यधिक यातना दिइएको थियो भन्ने आरोप पनि लगाइएको थियो ।

गत हप्ता खसोग्गीकी टर्की निवासी प्रेमिका हेतिस सेन्जिगले स्थानीय टिभी च्यानललाई एक अन्रत्वार्ता दिएकी थिइन् । आँखामा आँसु लिँदै उनले भनेकी थिइन, ‘साउदी अरब प्रशासनले उनलाई मार्ने षड्यन्त्र रचिरहेको छ भन्ने थाहा भएको भए म कुनै पनि हालतमा उनलाई दूतावासमा जान दिँदैनथें ।’

खासोग्गी आफ्नो विवाहका लागि केही कागजात लिनका लागि दूतावास गएका थिए ।

के भन्छ साउदी अरब ?

साउदी अरबका अटोर्नी जनरल शेख सउद–अल–मोजेबले टर्कीका समकक्षी फिदानसँग दुईपटक भेटवार्ता गरे । त्यसपछि उनी कुनै बयान जारी नगरिकनै  साउदी अरबबाट फिर्ता भए ।

साउदी अरबले खासोग्गीबारे भिन्न–भिन्न जानकारी दिँदै आएको छ ।

सुरुमा खासोग्गी हराइरहेको भन्ने खबरमा उनी दूतावासबाट जीवितै निस्किएको साउदी अरबले दाबी गरेको थियो भने पछि उनको हत्या भएको स्विकारेको थियो ।

साउदी अरबले आफू हत्याको कारण पत्ता लगाउनका लागि प्रतिबद्ध भएको बताउँदै आएको छ । यसै सिलसिलामा साउदीले १८ संदिग्धलाई पक्राउ गरेको छ जसको साउदी अरबमा नै मुद्दा चल्नेछ ।

अमेरिका, ब्रिटेन, फ्रान्ससमेत विभिन्न देशले यो पूरा घटनाक्रमका लागि साउदी अरबको कडा आलोचना गरेका छन् ।

एजेन्सी


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...