Wednesday 24th September 2025

बुटवलको एक मासु पसलमा ६ महिनादेखिको बासी ४ क्वीन्टल खसी-बोकाको टाउको र खुट्टा फेला पर्यो


तितोपाटी – बुटवलको एक मासु पसलमा करिब ६ महिनादेखिका खसीबोकाका खुट्टा र टाउका फेला परेको छ । बुटवलको नयाँ बसपार्क पछाडि इट्टाभट्टी लाइनमा रहेको कुरैसी मासु पसलमा अनुगमन गर्दा जिल्ला अनुगमन समितिले करिब चार क्वीन्टल खुट्टा र टाउका भेटाएको हो । जाडो याममा बढी माग हुने भएकाले खुट्टा र टाउकोलाई करिब ६ महिनादेखि संकलन गरेर पाँच सय लिटरका दुईवटा डिपफ्रिजमा लुकाएर राखेको अवस्थामा अनुगमन समितिले फेला पारेको हो ।

समितिका अनुसार यो परिमाणको पुरानो र बासी मासुजन्य पदार्थ भेटिएको रुपन्देहीमा सबैभन्दा धेरै हो । समितिले यो परिमाणलाई अस्वभाविक मानेको छ । उक्त मासु पसलले मापदण्ड विपरीत बासी र पुरानो मासु बेचेको गोप्य सूचना र जनगुनासो आएपछि जिल्ला संयुक्त अनुगमन समितिले अनुगमन गरेको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए ।

पुरानो र बासी मासुले फुड पोइजनिंग र झाडापखाला जस्ता रोग लाग्ने र जनस्वास्थ्यमा गम्भीर असर पुराउने हुँदा मासु पसलेलाई उपभोक्ता हित संरक्षण ऐन अनुसार कारवाही हुने सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

ठूलो परिमाणमा बासी र पुरानो मासुजन्य पदार्थ भेटिएपछि उक्त मासु पसल अर्को सूचना नहुंदासम्मका लागि शिल गरिएको वाणिज्य कार्यालय भैरहवाका प्रमुख वेदप्रकाश उपाध्यायले जानकारी दिए ।

बुटवलकै ठूलो मासु पसल मानिने कुरैसी मासु पसलले प्रहरी, सेना, फिटनेस सेन्टर, ठूला होटलहरुमा मासु आपुर्ति गर्दै आएको थियो ।

बुटवलमा पशु बधशाला भवन बनेको ४ वर्ष पुरा हुंदा पनि सञ्चालनमा ल्याउन स्थानीय सरकारले बेवास्ता गर्दा उपभोक्ताहरु अस्वस्थकर मासु उपभोग गर्न वाध्य भएकाले तत्काल बधशाला सञ्चालनमा ल्याउनुपर्ने उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष नर्बु लामाले बताए ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

प्रतिकृयाहरू
...