Thursday 10th September 2026

पोखरामा ८० वर्षीया वृद्धाको हत्या


तितोपाटी – कास्कीको माछापुच्छे गाउँपालिका–८ मा एक वृद्धा घरभित्र मृत अवस्थामा फेला परेकी छन् । नयाँपुलकी ८० वर्षीया कौशिला गुरुङको सोमबार साँझ घरभित्र शंकास्पद अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए ।

घटनास्थलको प्रकृति, मृतकको टाउकोलगायत शरीरका विभिन्न भागमा चोट देखिएको र घरको मूल ढोकामा बाहिरबाट ताल्चा लगाइएकाले उनको हत्या भएको आशंका गुरुङले गरे ।

आइतबार राति भएको घटनाको बारेमा सोमबार साँझमात्र जानकारी भएको थियो । जेठा छोरा चित्रबहादुरसँग बस्दै आउनुभएकी कौशिला छोरा घरमा नभएको दिन उक्त घटना घटेको सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी दिए । गुरुङको साथमा भएका गरगहना लुट्ने नियतले उनको हत्या भएको हुनसक्ने प्रारम्भिक आँकलन प्रहरीको छ ।

मृतकको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...