Tuesday 13th January 2026

नेपालले आइसिसी विश्व ट्वान्टी–२० छनाैट खेलमा थाइल्याण्डलार्इ पनि हरायो


तितोपाटी – नेपालले आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ मा लगातार तेस्रो जित निकालेको छ। मलेसियामा जारी प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले थाइल्याण्डलाई डीएल पद्दतिको आधारमा १ सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको हो।

नेपालले जितका लागि दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले ८.२ ओभरमा ९ विकेटको क्षतिमा १८ रन बनाएको अवस्थामा वर्षा भएपछि डकवर्थ लुइस (डीएल) को नियमअनुसार नेपाल फराकिलो जित निकाल्न सफल भयो। थाइल्याण्डका कुनैपनि ब्याट्सम्यानले दोहोरो रनको आकडा पार गर्न सकेनन्। वान्चना उइसुक र जियाउल हकले सर्वाधिक ७–७ रन बनाए।

थाइल्याण्डलाई कम स्कोरमा समेटन नेपालका सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए। सन्दीपले ३ ओभर बलिङ गर्दै १ मेडन राखेर ८ रन खर्चिए। त्यस्तै करण केसीले ३ र ललित राजवंशीले १ विकेट लिए। योसँगै सन्दीपले ३ खेलमा १४ विकेट लिइसकेका छन्।

यसअघि क्वालालम्पुरस्थित वायुमास ओभल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो। नेपालका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले विस्पोटक ब्याटिङ गर्दै सर्वाधिक ४० रन बनाए। उनले १४ बलमा २ चौंका र ४ छक्का प्रहार गरे।

करणले १९.३,१९.४ र १९.५ मा लगातार ३ छक्का प्रहार गरेका थिए। त्यस्तै सोमपाल कामी ४ रनमा नटआउट रहे। मध्यक्रममका ब्याट्सम्यान लगातार आउट भइरहेको अवस्थामा क्रिजमा आएका करणले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले सम्मानजनक स्कोर खडा गरेको थियो।

पहिलो विकेट २८ रनमा गुमाएको नेपालका लागि विनोद भण्डारी २.३ ओभरमा १५ रन जोडेर आउट भए। उनले ८ बलमा २ चौंका र १ छक्का प्रहार गरे।

दोस्रो विकेटका रुपमा अनिल शाह ५.३ ओभरमा २५ रन बनाएर आउट भए। उनले १७ बलमा ७ चौंका प्रहार गरे।

तेस्रो विकेटका रुपमा दिपेन्द्रसिंह ऐरी १२.१ ओभरमा ३० रनमा आउट भए। उनले २६ बलमा ३ चौंका र १ छक्का हाने।

चौंथो विकेटका रुपमा आरिफ शेख १४.१ ओभरमा ८ रन बनाउँदै पभेलियन फर्किए। उनले ९ बलमा १ चौंका हिर्काए।

पाँचौं विकेटका रुपमा सरद भेषवाकर १४.६ ओभरमा सर्वाधिक ३४ रन बनाएर आउट भए। उनले आउट हुनुअघि २८ बलमा २ चौंका प्रहार गरे।

छैटौं विकेटका रुपमा कप्तान पारस खड्का ५ रनमा आउट हुँदा उपकप्तान ज्ञानेन्द्र मल्ल पनि सातौं विकेटका रुपमा व्यक्तिगत ७ रनमा आउट भए। ज्ञानेन्द्रले ७ बलमा १ चौंका प्रहार गरे।

थाइल्याण्डका लागि पायुपुथ संनार्डले ४ विकेट लिए। उनले ४ ओभरमा २१ रन दिएर ४ विकेट लिएका हुन्। त्यस्तै भिचनाथ सिंहले २ र जियाउल हकले १ विकेट लिए।

नेपालले गत बुधबार भएको पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा शनिबार आयोजक मलेसियालाई समान ८ विकेटले हराएको थियो।

जारी प्रतियोगितामा थाइल्याण्ड शीर्ष स्थानमा छ। थाइल्याण्डले ३ खेलबाट ५ अंक जोडेको छ। त्यस्तै २ खेलबाट ४ अंक जोडेको सिंगापुर दोस्रो स्थानमा छ। नेपाल तेस्रो स्थानमा छ। नेपालको पनि समान खेलबाट ४ अंक बनाएपनि रनरेटका आधारमा सिंगापुर भन्दा पछि छ।

नेपालले थाइल्याण्डको पुरुष टोलीसँग खेल्न लागेको यो दोस्रो पटक हो। यसअघि सन् १९९८ को एसीसी ट्रफीमा नेपाल र थाइल्याण्डबीचको खेल तय भएपनि वर्षाको कारण उक्त खेल टस समेत नभई स्थगित भएको थियो।

प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को छनोटमा नेपाल, आयोजक  मलेसिया, थाइल्यान्ड, भुटान, चीन, म्यानमार र सिंगापुर छन्। समूहका शीर्ष तीन स्थानमा रहने टोलीले क्षेत्रीय छनोटको अन्तिम चरणमा स्थान पक्का गर्नेछन्। युएई र कतारले यसअघि नै अन्तिम चरणको क्षेत्रीय छनोटमा स्थान पक्का गरिसकेका छन्।

अन्तिम चरणको छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्। यस पटकको ट्वान्टी–२० विश्वकप क्रिकेट अस्ट्रेलियाले २०२० अक्टोबर  १८ देखि १५ नोभेम्बरसम्म सञ्चालन गर्नेछ। प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।


सम्बन्धित शीर्षकहरु

आइतबार (जनवरी १२) ह्वाइट हाउसले पुष्टि गर्‍यो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा तीव्र विरोध प्रदर्शनका बीच हवाई आक्रमण सहित…

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

प्रतिकृयाहरू
...