Tuesday 11th August 2026

उदयपुरमा करिब १ महिना देखि १७ वर्षीया किशोरी वेपत्ता


तितोपाटी – उदयपुर त्रियुगा नगरपालिका–७ चकलघाटकी १७ वर्षीया किशोरी तुलसा पोखरेल २५ दिनदेखि हराइरहेको जनाइएको छ । मंगलबार राजधानी पत्रकार सम्मेलन गरी पोखरेल परिवारले तुलसा २२ भदौदेखि सम्पर्कविहीन रहेको जानकारी गराएको हो ।

कक्षा १२ मा अध्ययनरत उनी कलेजको रजिस्ट्रेसन फाराम भर्न घरबाट हिँडेको परिवारको भनाइ छ । तर, सोही दिनदेखि उनी सम्पर्कमा नआएको उनका दाजु परशुराम पोखरेलले बताए । ‘२२ भदौदेखि हाम्रो सम्पर्कमा छैनन्, यो विषय प्रहरी प्रशासनलाई पनि जानकारी गराइसकेका छौं,’ उनले भने, ‘तर प्रहरीले खोजतलासमा ढिलासुस्ती गरेको महसुस भएको छ ।’

त्यस्तै, महिला अधिकार, माइती नेपाल र विभिन्न अधिकारकर्मीसँग पनि आफूहरूले तुलसाको खोजीका लागि हारगुहार गरेको पनि दाजु परशुरामले सुनाए । तर, बहिनी हराएको तीन दिनपछि मात्रै प्रहरीमा खबर गरेको उनको भनाइ छ । उनले तुलसाको मोबाइलको कल डिटेल हेर्दा र उनले प्रयोग गर्ने फेसबुक हेर्दा घरबाट निस्किएको दिन अर्थात् २२ भदौको बिहान जहानसिंह भुजेलसँग निरन्तर फोन सम्पर्क गरेको देखिएको र अहिले भुजेलको नम्बरमा सम्पर्क गर्दा उक्त नम्बर पनि बन्द रहेको बताए ।

त्यस्तै, नयाँ शक्ति पार्टी नेपाल प्रदेश २ की महिला संयोजक तारादेवी भण्डारीले सुरुमा छोरीले भागी विवाह गरेकी होलिन् भन्ने लागेर प्रहरी प्रशासनमा ढिलो उजुरी भएको स्पष्ट पारिन् । ‘तर, उजुरी दिइसकेपछि प्रहरी प्रशासनले खोजीकार्यमा ढिलासुस्ती देखायो,’ उनले भनिन्, ‘प्रहरीले चासो देखाएको जस्तो अनुभूति हामीलाई भएको छैन ।’

हराएकी तुलसाकी सानीआमासमेत रहेकी नेतृ भण्डारीले छोरी हराएको करिब एक महिना बितिसक्दा पनि उनका बारेमा कुनै जानकारी नहुनु र प्रहरीले पनि केही पत्ता लगाउन नसक्नुले परिवारमा थप पीडा उत्पन्न भएको उललेख गरिन् । उनले भनिन्, ‘निर्मला पन्तकै जस्तै घछना हाम्री छोरीमाथि नहोस्, छिटोभन्दा छिटो उनको खोजी होस् ।’

पछिल्लो समय मुलुकमा हत्या, हिंसा, बलात्कार र अपहरणजस्ता घटनामा दिनप्रतिदिन वृद्धि भइरहेको बताउँदै उनले यस्तो घटनाका दोषी र अपराधीहरूलाई कारबाही गर्न सरकार चुकेको भन्दै गुनासो पोखिन् । उनले भनिन्, ‘सरकारले जनताको सेवा गर्न सक्दैन भने कुर्सीमा बस्नुको कुनै अर्थ छैन ।’

प्रहरीसँग आफूहरुले छोरी हराएको घटना जानकारी गराउँदा प्रहरी प्रशासनले उल्टै यस्ता घटना धेरै रहेको जवाफ मिलेको दुखेसो पोखिन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य खुला रहेको दाबी गर्दै इरानमाथि दबाब बढाएका छन्। तर इरानले भने अमेरिकाले आफ्नो व्यवहार…

न्युयोर्क, १० अगस्ट २०२६ — अमेरिकी संघीय न्यायाधीशले भारतीय अर्बपति गौतम अडानीविरुद्ध चलिरहेको घुसखोरी तथा ठगीसम्बन्धी आपराधिक मुद्दा औपचारिक रूपमा…

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङबीच सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता…

प्रतिकृयाहरू
...