किशोर पन्थी,अमेरिका / बाले सधै भन्नुहुन्थ्यो ‘नेपाली काँगे्रेस पार्टी सबैभन्दा राम्रो पार्टी हो ।’ जीवनको अधिकांश कालखण्डमा उहाँ नेपाली काँग्रेस नै रहनुभयो । नेपाली काँग्रेसका नेताहरुपनि हाम्रो घरमा खुबै आवतजावत गर्थे । बा काँग्रेस भएकै कारण कम्युनिष्ट विचार भएका हाम्रै दाजुभाईहरु हाम्रो घरमा झगडा गर्न आउँथें । कहिलेकाँही त बोलचालसमेत बन्द हुन्थ्यो ।
तर एकरात खाना खाएर बाआमा सुतिसक्नुभएका हाम्रो घरमा सेना र प्रहरीको संयुक्त गस्ती छिर्यो । घरभित्र घिउ, दहीका भाँडा फुटाइदिनेदेखि लुटपाटसम्म गर्यो । चिसो रातमा सुतिसक्नुभएका बाआमा दुबैलाई घरबाहिर राखेर घरभित्र झण्डै चारघण्टा ताण्डव नृत्य चल्यो । त्यसपछि बालाई नियन्त्रणमा लिएर कुटपिट गर्दै उनीहरुले लगेर गए । बालाई मार्ने भए भनेर आमा रुदै घरमा बस्नुभयो । भोलिपल्ट उनीहरुले बालाई तारेखमा छोडिदिए । त्यतीबेला अहिलेका काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो ।
समाजमा सधै सम्मानित स्थानमा रहनुभएका बामाथि भएको यो दुब्र्यबहारले उहाँको मनमा ठूलो चोट परेको थियो । त्यसपछि उहाँले कहिल्यै दाह्री काट्नुभएन, मुलुकमा गणतन्त्र आएपछिमात्र उहाँले दाह्री काट्नुभयो । तत्कालिन काँग्रेस सरकारको नजरमा मेरो पत्रकारिता नै बाको गल्ती थियो ।
यो एउटा युद्धको बेलाको परिघटना थियो । हामीले कहिले पनि यो घटनाका कारण नेपाली काँग्रेससँगको सद्भाव बिगारेनौं । हाम्रो घर लुट्ने शेरबहादुर देउवा भन्दै उहाँको अपमान पनि गरेनौं । हामीले यसलाई परिवर्तनको क्रममा भएको एउटा परिघटनाका रुपमा लियौं । यद्यपी गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री रहेको बखत हाम्रो घरमा सेना र प्रहरीबाट पटकपटक तोडफोड र लुटपाट भएको थियो ।
तर यस्ता घटनाहरु हामीले बिर्सनुपर्छ । बिर्सेका पनि छौं । मुलुकमा धेरै परिवर्तन भइसकेको छ । बा त यो संसारमा हुनुहुन्न । तर सबै परिघटनाका साक्षी आमाले पनि कहिले यी पूराना कुराहरु हामीसँग गर्नुहुन्न । शायद मुलुकमा आइसकेको परिवर्तनको सन्दर्भमा आमाले यी कुराहरु सम्झन चाहनुहुन्न ।