Friday 13th March 2026

साफ च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालले हावा खायो


तितोपाटी – माल्दिभ्ससँग ३-० ले पराजित हुँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । माल्दिभ्ससँगको पराजयसँगै नेपालले फाइनल पुग्ने ऐतिहासिक मौका गुमाएको हो । नवौं मिनेटमा अक्रम अब्दुल घानीले गरेको फ्रीकिकबाट माल्दिभ्सले अग्रता लिएको थियो ।

त्यसपछि ८४ औं र ८६ औं मिनेटमा इब्राहिम हसन वाहिदले लगातार गोल गरेपछि नेपालको फाइनल पुग्ने मौका गुमेको हो । माल्दिभ्सलाई हराएको भए नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्ने थियो ।

पहिलो हाफमा नै १-० ले पछि परे पनि नेपालले केही राम्रा अवसरहरु बनाएको थियो । बलमा राम्रो मुभ बनाए पनि नेपालले पोस्टको दिशामा राम्रो प्रहार भने गर्न सकेन ।

२८ औं मिनेटमा ठूलो वर्षासँगै बिजुली चम्किएर केहीबेर खेल रोकिएको थियो । खेल पुनः सुरु भएपछि पहिलो हाफको बाँकी समयमा पनि नेपालले राम्रा मुभहरु बनाएको थियो ।

बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा भएको खेलको ६० औं मिनेटमा निराजन खड्काको स्थानमा नवयुग श्रेष्ठ र कप्तान भरत खवासको स्थानमा अञ्जन विष्ट मैदानमा छिरे ।

दुई जना खेलाडी परिर्वतन गरेपछि नेपालले आक्रामक खेल खेलेको थियो । तर गोल गर्न भने एकपछि अर्को अवसर पाए पनि चुक्यो ।

खेलको ६६ औं सुनिल बलले डिबक्स बाहिरबाट प्रहार गरेको बल पोष्टको नजिकैबाट बाहिरिएको थियो । खेलको ७५ औं मिनेटमा सुमन अर्यालको स्थानमा विशाल राई मैदानमा प्रवेश गरे । सुमन अर्याललाई बाहिर ल्याउदै मिडफिल्डर विशाल राईलाई मैदानमा छिराउन साथ नेपालको डिफेन्स लाइन कमजोर देखियो ।

खेलमा नेपालले ६७ प्रतिशत समय बल नियन्त्रणमा राखेको थियो । पास एक्युरेसीमा पनि राम्रो देखिएको नेपाली टिमले पहिलो गोल फर्काउन नसक्दा नै अन्तिम समयतिर थप गोल खाएको होे ।

खेलभर नेपालले गरेको १६ प्रहारमा ४ प्रहार मात्रै पोस्टको दिशामा गएको थियो । माल्दिभ्सले १४ प्रहार गरेकोमा ७ प्रहार पोस्टको दिशामा थियो ।

खेलमा माल्दिभ्सले १६ फल गरेको थियो भने नेपालको ६ फल भएको थियो । सुरुवाती अग्रता लिएपछि रक्षात्मक बनेको माल्दिभ्सले त्यसैको फाइदा लिँदै २ गोल थप्यो ।

भाग्यमानी माल्दिभ्स

समूह चरणमा श्रीलंकासँग गोलरहित बराबरी खेलेका माल्दिभ्स भारतसँग २-० ले पराजित भएको थियो । श्रीलंका पनि भारतसँग २-० ले नै पराजित भएपछि सेमिफाइनलका लागि भएको टसमा माल्दिभ्सले बाजी मारेको थियो ।

समूह चरणमा एक गोल पनि नगरी सेमिफाइनल आएको माल्दिभ्सले सेमिफाइनलमा नेपाललाई ३ गोल गरेको हो ।

नेपाल भने समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ४-० ले हराएको नेपालले समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई २-० ले हराएर सेमिफाइनल पुगेको थियो ।


सम्बन्धित शीर्षकहरु

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

प्रतिकृयाहरू
...