Tuesday 17th March 2026

पाकिस्तानका लागि अमेरिकी सहायता रोक्क, पाकिस्तान भन्छ ‘गलत कुरा मान्न तयार छैनाै ‘


तितोपाटी – संयुक्तराज्य अमेरिकाको क्षेत्रीय रणनीति कार्यान्वयनमा पाकिस्तानले ‘निर्णायक भूमिका निर्वाह नगरेको’ आरोप लगाउँदै करिब ३० करोड अमेरिकी डलर (करिब रु. ३१ अर्ब) सहायता रोक्का गर्ने निर्णय गरेको अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले जनाएको छ । अमेरिकाले पाकिस्तानभित्र रहेका लडाकूहरुका सुरक्षित आश्रयस्थलहरु ध्वस्त पार्नेतर्फ दबाब दिइआएको छ, र वर्षको सुरुमै घोषणा गरेको सहायता रोक्काको रकम वृद्धि भएर दुई अर्ब डलरसम्म पुग्ने एक अधिकारीले बताए ।

‘दक्षिण एसिया रणनीतिको कार्यान्वयनमा पाकिस्तानको निर्णायक कार्यवाहीको अभाव महसुस गरिएको छ । यही कारण जुन जुलाई २०१८ मा रक्षा मन्त्रालय मार्फत पाकिस्तानलाई उपलब्ध गराउने भनिएको ३० करोड डलर अब अन्यत्रै प्राथमिकताका क्षेत्रमा खर्च हुन्छ,’ लेफ्टिनेन्ट कर्नेल कोन फल्कनरले बताए । तथापि, कार्यक्रममा फेरबदल गर्ने रक्षा मन्त्रालयको प्रस्तावमाथि कङ्ग्रेसको अनुमति आवश्यक पर्नेछ, उनले बताए । कङ्ग्रेसले उक्त प्रस्ताव स्वीकृत गर्ने वा खारेज गर्न सक्नेछ ।

पाकिस्तानले देशभित्रैका कतिपय लडाकू समूहसँग कडा सङ्घर्ष गर्नु परेको छ, र चरमपन्थीसँगको लामो युद्धमा हजारौंको ज्यान गइसकेको र अर्बौं डलरको क्षति भइसकेको पाकिस्तानको भनाइ छ । तर अमेरिकी अधिकारीहरु अफगानिस्तानमा हुने आक्रमणमा पाकिस्तानभित्र सुरक्षित रुपमा लुकेर बस्ने विभिन्न समूहको संलग्नता रहेको आरोप लगाउँछन् ।

सीमावर्ती क्षेत्रमा खुलेआम घुमफिर गर्ने लडाकुलाई नियन्त्रण गर्न पाकिस्तानले बेवास्ता गरिरहेको वा कतिपय अवस्थामा सहयोग गरिरहेको अमेरिकी अधिकारीहरुको भनाइ छ ।

ह्वाइट हाउसको विश्वासमा पाकिस्तानको गुप्तचर निकाय इन्टर–सर्भिस इन्टेलिजेन्स र अरु सैनिक निकायहरुले लामो समयदेखि तालिबानलाई रकम र हतियार दिइरहेका छन् । अफगानिस्तानमा भारतको प्रभाव निस्तेज तुल्याउन पनि तालिबानलाई पाकिस्तानको सहयोग छ ।

पाकिस्तानको हस्तक्षेपले मात्र अफगानिस्तानमा जारी लामो युद्ध अन्त्य हुने अमेरिकी विश्वास छ । अमेरिकी नैराश्य केही पहिलेदेखि तीव्र रुपमा अगाडि आएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा अगाडिका राष्ट्रपति बाराक ओबामाले पाकिस्तानको एब्बोटाबादमा लुकेर बसेका ओसामा बिन लादेनलाई मार्न तथा लडाकूहरु लुकिछिपी रहेका स्थानहरुमा ड्रोन आक्रमण गर्न अनुमति दिएका थिए ।

तर ट्रम्पको भाषाणबाट खासगरी पाकिस्तानी अधिकारीहरुलाई क्षुब्ध पारेको छ ।

‘संयुक्तराज्य अमेरिकाले विगत १५ वर्षदेखि पाकिस्तानलाई ३३ अर्ब डलरको सहयोग दिनु नै मुर्ख्याइ हो, तर उनीहरुले हामीलाई कपट र धोखा मात्र दिए, र हाम्रा नेतालाई उनीहरु मुर्ख ठान्छन्,’ ट्रम्पले यसै वर्षको सुरुमा एउटा ट्वीटमा लेखेका छन् । ‘उनीहरु (पाकिस्तान) ले आतङ्कवादीलाई सुरक्षित स्थल दिए हामीले अफगानिस्तानमा खोज्यौँ । अब त्यो हुँदैन ।’

यसै बिच पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफू अमेरिकाको कठपुतली नभएकोले अमेरिकाको कुनै पनि गलत कुरा मान्न तयार नभएको तर अमेरिकासँग सम्मानजनक सम्बन्ध स्थापित गर्न चाहेको बताएका छन् । इमरान खानको भनाई उद्धृत गर्दै एक्सप्रेस पत्रिकाकाले उनी अमेरिकाको मामलामा आफ्नो पुरानो दृष्टिकोणमा कायम रहेको बताएको छ ।

पत्रिकाको अनुसार इमरान खानको भनाई थियो, ‘अमेरिकाको कुनै पनि गलत कुरा हामी मान्न तयार छैनौं । हामी अमेरिकासँग लड्न  होइन सम्बन्ध सुधार्नमा लागि पर्छाैं । उक्त मौकामा इमरान खानले एकपटक पुनः उनी भारतसमेत सबै छिमेकी मुलुकसँग सम्बन्ध सुधार्न चाहेको बताएका छन् तर उनका अनुसार भारतले कुनै सकारात्मक रवैया देखाएको छैन ।

इस्लामाबादमा पत्रकारसँगको कुराकानीमा इमरान खानले यतिबेला आफूसामू अत्यधिक चुनौती भएको बताएका छन् । उनले सेना प्रमुख जनरल कमर जावेद बाजवाको पनि अत्याधिक तारिफ गरे ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

प्रतिकृयाहरू
...