तितोपाटी – गुफा भन्नाले चट्टानहरूले प्राकृतिक रूपमा बनेको ठुला ठुला ओढारहरू र सुरङहरू हुन् । गुफाहरू धेरै जसो पहाडमा पाइन्छन् । गुफा ढुङ्गाबाट बनेको र जमिन मुनि हुन्छ भने कहिँ कहिँ समुन्द्र भन्दा मुनी सम्म पनि हुन्छ । नेपालको बारेमा कुरा गर्दा नेपालमा धेरै गुफाहरू छन्। एसियाकै ठुलो गुफा पनि रहेको नेपालमा नै रहेको छ। नेपालमा रहेका कैयौं गुफाहरू पर्यटकीय आकर्षण बन्दै आएका छन्। फरक फरक किंवदन्ती रहेका यी गुफाहरूले पर्यटकहरूबाट उठ्ने शुल्कले सामाजिक काममा समेत टेवा पुर्याउँदै आएका छन्।
सिद्ध गुफा तनहुँ जिल्लाकाे बन्दिपुर नगरपालिकामा अबस्थित छ । पृथ्वी राजमार्गको बिमलनगर भन्ने ठाउँबाट केही मिनेटको पैदल यात्रा गरेपछी यो गुफा पुग्न सकिन्छ । यो एसियाकै सबैभन्दा ठुलो गुफा मानिन्छ । यसको धार्मिक तथा पुरातात्विक महत्व छ। बन्दिपुर–६ कोक्चे सामुदायिक वन भित्र चुरियाघाटी डाँडामा छ गुफा। जुन विमलनगर बजारको दक्षिणमा पर्छ। गुफा ६५० मिटर उचाइमा छ। विमलनगरबाट आधा घन्टा उकालो चढे गुफामा पुगिन्छ। विमलनगरबाट गुफा १.३ किमि छ। त्यस्तै गुफाबाट बन्दिपुर बजार ३.५ किमिमा। ढुँगा ओच्छाइएको सिँढी चढेर गुफामा जानु पर्छ।लो चट्टान बीच भागमा गुफा छ। प्रबेशद्वार साँघुरो भए पनि भित्र पुरै फराकिलो, सजिलो र अग्लो उचाइ छ। गुफाको लम्बाई करिब ४२५ मिटर र चौंडाई २५ मिटरसम्म छ। होचो भागमा ५७ मिटर गहिरो सुरुङ छ।गुफाभित्र चुनढुँगामा किसिम किसिमका आकृती छन्। जस्तो कल्पना गर्यो, त्यस्तै देखिन्छन् ती। त्यतिमात्र होइन, गुफाभित्र ध्यान कक्ष, सभा कक्ष, तप कक्ष र खोपी पनि छन्।पूर्व, दक्षिणपश्चिम फैलिएको गुफा प्रबेशद्वारमा शिवलिंग, त्रिशुल र घन्टा छन्। प्रबेशद्वार साँघुरो छ। अलिक भित्र छिर्ने वित्तिकै अध्यारो हुन्छ। ठूल–ठूला चट्टान छन्। भित्र पस्ने वित्तिकै पहिला श्रीपेचको आकृति देखिन्छ।
जुम्लाको गणेश गुफाभित्र भगवान गणेश, पार्वती र शिवका आकृति देख्न सकिने स्थानीय बासिन्दाहरू बताउँछन्। हरेक वर्ष जनैपूर्णिमापछिको गणेश चतुर्दशीका दिन त्यहाँ ठुलो मेला लाग्ने गर्दछ।
हलेसी क्षेत्रको एउटा गुफामा चुनढुंगा पग्लिँदै गरेको जस्तो छ। त्यहाँ सेतो पानी बग्छ। त्यो पानी महादेवलाई दूधको स्नान गराउन खसेको भन्ने किंवदन्ती पनि छ।
पोखरामा रहेको पाताले छाँगो फेवातालको निथार हो। यथार्थमा यो छाँगो गुफाभित्र प्रवेश गर्छ। गुप्तेश्वर गुफावाट प्रवेश गरेपछि प्रकृतिको यो चमत्कार देख्न पाइन्छ। गत वर्ष मात्रै ६ लाख भन्दा बढीले पाताले छाँगो अवलोकन गरेको बताइन्छ।
पोखराको बाटुलेचौरमा महेन्द्र गुफ़ा छ। गत वर्ष तीन लाखले अवलोकन गरे। अँधेरी भुवानको नामले परिचित यो गुफा तत्कालीन राजा महेन्द्रले २०१६ सालमा अवलोकन गरेपछि यसको नाम परिवर्तन भएको हो। यो गुफाबाट वार्षिक २ करोड आमदानी हुन्छ । बाटुलेचौरमा रहेको बिन्ध्यबासिनी माविले आमदानी लिन्छ र गुफा व्यबस्थापन पनि गर्छ ।
बाटुलेचौरमा चमेरे गुफा पनि छ। गुफाभित्र थरिथरिका चमेराको बासस्थान छ। चमेरोले उज्यालो मन नपराउने भएकाले अन्य गुफामा झैं स्थायी बत्तीको व्यवस्था यहाँ छैन। यो गुफाबाट वार्षिक करोड बढी आम्दानी हुने र त्यसलाई विन्द्यवाशिनी माविलाई दिइने बताइन्छ।
पोखराको छोरेपाटनमा रहेको गुप्तेश्वर गुफाको प्रवेश मार्ग। यो गुफामा करिब ६ सय मिटरभित्र प्रवेश गरेपछि पाताले छाँगो नजिकबाट देख्न सकिन्छ। वर्षाको समयमा दुर्घटनाको डरले छाँगो नजिक जान दिइन्न।
हलेसी महादेव नेपालको प्रसिद्ध हिन्दू एवं बौद्ध तीर्थस्थल हो। त्यहीँ ठूलो चट्टानको गुफा छ। गुफाभित्र प्रवेश गरी केही सयमीटर तल ओर्लेपछि समथर ठाउँमा पुगिन्छ।
दाङको तुल्सीपुर उपमहानगरपालिकामा रहेको सिद्ध चमेरे गुफा चार तलाको रहेको छ। गुफामा एक हजार वर्ष पुराना अभिलेख, प्राचीनकालीन विभिन्न आकृति र स्तुपहरु रहेका छन। यहाँ चमेराको वाक्लो वसोवास रहेको छ।
जुम्लाको कनकासुन्दरी गाउँपालिकास्थित पाण्डव गुफा। कौरब र पाण्डवहरूबीच लडाइ भएपछि पाण्डवहरू गुप्तबास बस्न यो गुफा बनाएको भन्ने किंवदन्ती छ।
तनहुँ जिल्लाको व्यास नगरपालिका स्थित दमौलीमा मादी र सेती नदीको संगमदेखी पश्चिम किनारमा एउटा ऐतिहासिक गुफा छ । त्यस गुफामा पराशर ऋषिले तपस्या गरेका थिए र तपसिद्ध दिने गुफा पनि त्यहि नै हो। उक्त पराशर गुफा देखि पूर्व मादी-सेतीको संगम किनारदेखि उत्तर पट्टि वेद शास्त्रका प्रबर्द्धक महर्षि ब्यास जीले तपस्या गरेको तपस्यास्थल यसै ठाउँमा रहेको विश्वास गरिन्छ ।