Wednesday 9th September 2026

एक दशक अघि पठाएका पत्र हुलाकमै !


तितोपाटी – तपाईंले हुलाकबाट पठाएको पत्र कति दिनभित्र सम्बन्धित स्थानमा पुग्छ ? अवश्य पनि दुई–तीनदेखि एक साता वा पन्ध्र दिनभित्र प्रापकले पाउँछ । तर, भारतमा १० वर्षभन्दा अगाडि पठाइएका पत्र पनि कार्यालयकै भण्डारण कक्षमा भेटिएका छन् ।

वर्षौंदेखि पठाएका पत्र सम्बन्धित व्यक्तिलाई नपठाएको पाइएपछि लापर्बाही गरेको आरोपमा उडिसाको हुलाकका एक कर्मचारी निलम्बनमा परेका छन् । हालसालै खाली गरिएको एउटा हुलाक कार्यालयनजिकको विद्यालयका विद्यार्थीहरूले ठूलो झोलामा पत्र तथा सामग्री फेला पारेपछि हुलाकको लापर्बाही सार्वजनिक भएको थियो ।

विद्यालयनजिकैको चौरमा खेल्ने क्रममा उनीहरूले पत्र राखिएको ठूलो झोला फेला पारेका थिए । झोला खोलेर हेर्दा विभिन्न समयमा पठाइएका पत्र, एटिएम कार्ड, बैंकका पासबुकलगायतका महत्वपूर्ण कागजात भेटिएका थिए । भेटिएको झोलाबारे बालबालिकाले अभिभावकलाई जानकारी गराएपछि स्थानीय अधिकारी तत्काल सो स्थानमा पुगेका थिए ।

हिन्दुस्तान टाइम्स पत्रिकाका अनुसार झोलाभित्र सन् २००४ देखिको मितिका ६ हजार पत्र, प्याकेज र अन्य सामग्री भेटिएका थिए । १५ सय तस्बिर पहिलेकै अवस्थामा भेटिएको थियो भने अन्य बाँकी कागजात च्यातिएको थियो । सो हुलाकको शाखा केही साताअघि अर्को स्थानमा सरेको थियो । शाखाका सहायक पोस्ट मास्टर जगन्नाथ पुहान विगत एक दशकदेखि सो कार्यालयमा मुख्य भूमिकामा थिए । तर, उनले पत्र पठाउन कुनै प्रक्रिया चालेका थिएनन् ।

प्रेषकले मेल ट्र्याक गर्ने आशंकामा रजिस्टर गरिएका पत्रहरू सम्बन्धित ठेगानामा तत्कालै पठाइन्थ्यो । तर, सामान्य पत्रलाई भने वर्षौंदेखि एउटा भण्डारण कक्षमा थन्क्याइएको थियो । हुलाकका जिम्मेवार व्यक्ति किन आफ्नो कर्तव्यप्रति च्यूत भए भन्नेबारेमा केही खुलाइएको छैन । हिन्दुस्तान टाइम्सका अनुसार लामो समयदेखि हिँड्न नसकेकाले पत्र कोठामा थन्किएको भन्दै उनले आफ्नो बचाउ गरेका छन् ।

यति लामो समयसम्म आफ्ना पत्र नपाउँदा पनि स्थानीयले गुनासो नगर्नु आफैँमा विडम्बना भएको लापर्बाहीबारे अनुसन्धान गरिरहेका अधिकारीहरूले बताएका छन् । फेला पारिएका पत्रलाई ढिलै भए पनि सम्बन्धित व्यक्तिलाई पठाइने अधिकारीहरूले बताएका छन् । केही छरपस्ट फालिएका पत्रमा जागिरको आवेदनदेखि एटिएम कार्ड रहेका खामसमेत छन् ।


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...