Sunday 22nd March 2026

अाज नागपञ्चमी, घर-घरमा नागको पुजा अर्चना गरिंदै


तितोपाटी – आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी तिथि हिन्दु धर्मावलम्बीहरुले घरको ढोकामाथि नागको चित्र टाँसी गाईको दूध, फूल अक्षताको साथमा गाईको गोबर सहित नागको पूजा अर्चना गरी मनाउँदैछन्। साउन शुक्ल पञ्चमीका दिन नाग, सर्पको चित्र वा कपासको आकार बनाएर नागपूजा गरिन्छ । साउने झरीले दलदल भएको जमिनको भित्रिभागबाट घस्रेर हिँड्ने सरिसृप विषालु यी नाग ÷सर्प जमिन बाहिर आउने भएकाले यसप्रति सचेतता अपानाउन पनि यो तिथिमा नागको पूजा गरिएको हो भनिन्छ । नागको तस्विर वा कपासको आकृति बनाई घरको मूलढोका तथा पानीका स्रोतमा अर्चना गर्ने गरिन्छ । आजको दिन बिहानै उठी स्नान गरी दिप, कलश, गणेशको पूजा गरी ढोकामा नाग टाँस्नाले सर्प वा नागको भए हुँदैन भन्ने धार्मिक मान्यता रहेकोछ । यसरी दैलो या मूल खाम्बोमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास छ।

शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कट, शङ्ख, पद्म र महापद्म गरी आठ नागको विशेष वर्णन गरिएको छ । ज्योतिषी डा. लोकराज पौडेलका अनुसार जन्मकुण्डलीमा सर्पयोग परेकाले यो दिन नागको पूजा अर्चना गर्दा राम्रो हुन्छ । बैधिक दर्शनमा १२ वटा नागहरुको उपस्थिती पाइन्छ। जसमा अनन्त, वासुकी, शेष, पद्यम्, कम्बला, कारकोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गला पर्दछन्। यी सम्पूर्णको लागी आजकै दिन पूजा अर्चना गरिन्छ।

नाग पञ्चमीको एेतिहासिकता महाभारतसँग जोडिएको पाइन्छ। महाभारका अनुसार परिक्षीत नाम गरेका राजालाई तक्षक नाम गरेको नागले डँस्छ र उनको मृत्यु हुन्छ। उनका छोरा जन्मजयले बुवाको मृत्युको प्रतिशोधका लागि संसारका सम्पूर्ण सर्पहरुलाई मार्ने क्रम कार्य प्रारम्भ गरे र यसकालागि उनले महायज्ञ शुरु गर्दछन्। जसमा सिद्द ऋृषिमुनी, साधू र पण्डितहरुलाई उनी आमन्त्रण गर्दछन्।

उक्त यज्ञको हवन कूण्डमा निकै शक्तिशाली आगो प्रज्वलित हुन्छ। तक्षक बाहेकका अन्य सम्पूर्ण सर्पहरु त्यहिं भष्म हुन्छन्। तक्षक स्वर्गमा इन्द्रको शरणमा पुगेको हुन्छ। यो देखेर सबै छक्क पर्छन्। तत्कालै मानसदेवीका पुत्र अस्तिकाले जन्मजयसमक्ष माफिको माग गरेपछि उनले यज्ञ स्थगन गर्छन्। यज्ञमा होमिएका सम्पूर्ण सर्पहरुले त्यस पश्चात् आजैको दिन पुर्नजीवन पाएका हुन्।

यस दिन नागदेवताको पूजा अर्चनाकालागि दुध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा (अर्थात् भुटेर फूल उठेको धान) चढाइन्छ। सामान्यतया अगाडी सर्पनै राखेर पूजागर्न डरलाग्दो र जोखिमयूक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा पूजा गर्ने परम्परा छ।

काठमाडौँ भचाखुशीको घोडेनाग, सुन्धारा टुँडिखेलको मीननाग, गल्कोपाखा दक्षिण ठमेलको हरिनाग, इटुम्वहालको जलनाग, टेकू दोभानको टेकुनाग, थानकोटपारी नागढुङ्गा, धापाखेलको नागदह, चोभारपारी टौदह, नक्साल र महाराजगञ्जको नागपोखरी र पशुपतिनाथको आभूषण वासुकी नाग र रातोमच्छिन्द्रनाथको आभूषण कर्कोटक नागमा पूजा अर्चना गरेर मनाउने चलन छ । ज्याठा निवासी लक्ष्मी महर्जनका अनुसार नागदोश लागेकाहरुबाट नागपञ्चमी बाहेकका दिनमा पनि काठमाडौँ सहरका यी नागमा पूजा अर्चना हुँदै आएको छ । चाँगुनारायण ८ कलमसी स्थित पाँचटाउके कल्पेश्वरकाली नागमा यसै दिन विशेष अर्चना गरिँदैछ ।

बहिरा भनिएका पशुपतिनाथका आभूषण वासुकी नागलाई यसैदिन पुजारीद्वारा थाल ठटाएर रातभर जागा गराउने गरिँदै आएको छ । नक्साल नागपोखरीमा रहेको नागपोखरीमा सधैँ झैँ स्थानीय युवाबाट धार्मिक उत्सव आयोजना भएको स्थानीय वरिष्ठ समाजसेवी पवन तण्डुकार बताउनुहुन्छ । शेषनागमाथि रहेर जलसयनीमा रहनु भएका विष्णुका नागलाई दर्शन गर्न नारायण स्थान पुग्ने पनि यो दिन हुन्छन् । दुवो अक्षता दूधले अर्चना गरेर कपुर धुँवााधार गर्दै नागको पूजन गर्दा पाँच इन्द्रियसहित शरीर र मनमा नाग दोष लाग्दैन भनिन्छ । इनार, कुवा, पानी पँधेरोमा नागको वास हुन्छ भनिन्छ, यसै दिन यसै अवसरमा इनार कुवा कुण्ड धारा लगायतका पानीका स्रोत मुहानमा पनि अर्चना गरिन्छ ।

महलाई सर्प वा नागको सत्रुका रुपमा लिइन्छ, महको थोपाले नै सर्प वा नाग टुक्राटुक्रा हुने भएकोले नागपूजाका दिन मह प्रयोग नगर्नु भन्ने मान्यता पनि छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...