Tuesday 17th March 2026

भारतले पनि अन्तरिक्षमा मानव यान पठाउने


तितोपाटी – भारतले आगामी ४ वर्ष भित्र अन्तरिक्षमा आफ्नै यानबाट मानिस पठाउने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२२ सम्ममा अन्तरिक्षमा मानव यान पठाउने घोषणा गरेका हुन। स्वतन्त्रता दिवसका अवसरमा बुधबार लालकिल्लाबाट सम्बोधन गर्दै मोदीले स्वतन्त्रताको ७५ औं वर्ष पूरा भएको अवसरमा राष्ट्रिय झण्डासहित भारतीय नागरिकलाई अन्तरिक्षमा पठाउने बताए ।

यसपछि अन्तरिक्षमा मानव पठाउने मुलुकमा भारत चौथो बन्ने उनले बताए । यसअघि रूस, अमेरिका र चीनले अन्तरिक्षमा मानव पठाइसकेका छन् । अन्तरिक्षमा मानव पठाउने यानको केही दिनअघि परीक्षणसमेत गरिसकिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अन्तरिक्ष मिसनका लागि ९ अर्ब रुपैयाँको बजेट तय गरिएको छ ।

यसअघि पहिलो भारतीयका रूपमा राकेश शर्माले सन् १९८४ मा सोभियत संघको रकेटमार्फत अन्तरिक्षको यात्रा गरेका थिए । अन्तरिक्ष कार्यक्रममा भारत सन् १९६० को दशकदेखि सक्रिय रहँदै आएको छ । यो मुलुकले आफ्नो र अन्य देशका लागि थुप्रै भूउपग्रह पठाइसकेको छ । सन् २०१४ मा एउटा भूउपग्रह मंगल ग्रहको कक्षमा समेत सफलताका साथ पठाइसकेको छ । प्रधानमन्त्री मोदीले ४ वर्षमा आफ्नो सरकारले देशको आर्थिक सुधार एवं गरिबी तथा भ्रष्टाचार न्यूनीकरणका लागि गरेका कामको सूची प्रस्तुत गरेका थिए ।

बीबीसीका अनुसार उनले महत्त्वाकांक्षी स्वास्थ्य योजना ‘आयुष्मान भारत’ का बारेमा पनि उल्लेख गरेका थिए । आगामी २५ सेप्टेम्बरबाट सुरु गरिने बिमा आधारित यो योजनाअनुसार करिब १० करोड गरिब परिवार लाभान्वित हुनेछन् । जसअनुसार प्रतिपरिवार ५ लाख रुपैयाँको बिमा गरिने र यसबाट गरिबले सुलभ रूपमा स्वास्थ्य सेवा पाउने उनले बताए ।

यस्तै, भारतीय सशस्त्र सेनामा सर्ट सर्भिस कमिसनका माध्यमबाट नियुक्त महिला अधिकारीलाई पुरुष समकक्षी सरह परीक्षा दिएर स्थायी बनाउने घोषणा पनि मोदीले गरेका छन् । उनले जम्मु कश्मीरमा लामो समयदेखि हुन नसकेको पञ्चायत र निकाय चुनावलाई पनि तत्काल गराइने बताए ।

मोदीले तीन तलाकजस्तो कुरीति अन्त्य गर्न संसद्को चालू अधिवेशनमा विधेयक पेस गरिएको पनि बताए।


सम्बन्धित शीर्षकहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

प्रतिकृयाहरू
...