Thursday 12th March 2026

एसियाड फुटबलमा नेपाल जापानसँग १-० ले हार्यो


तितोपाटी – एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा मंगलबार नेपाली यू–२३ फुटबल टोलीले जापानसँग १–० को सम्मानजनक हार बेहोरेको छ । जकार्ता सबर्सस्थित विबावा मुक्ति स्टेडियममा भएको खेलमा नेपाली टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले विपक्षीका दर्जनौं प्रयास विफल तुल्याएपछि जापानले गोलअन्तर बढाउन नसकेको हो ।   १९९८ मा भएको बैंकक एसियाड फुटबलमा नेपाल जापानसँग ३-० ले हारेको थियो ।

प्रतियोगिताको दाबेदार मानिएको जापानले सातौं मिनेटमा गोल गर्दै उत्कृष्ट सुरुआत पाएको थियो । काओरु मिटोमाले पेनाल्टी क्षेत्रभित्र डिफेन्सको गल्तीमा फाइदा उठाउँदै सहजै गोल गरेपछि नेपाल पछाडि परेको थियो । त्यसको पाँच मिनेटपछि किरणले रियो हात्सुसेको प्रहार बचाएर खेलमा नेपालको सम्भावना कायम राखे । पहिलो हाफमा नेपालले केही आक्रमणको मौका पाए पनि जापानी डिफेन्सले खतरा सिर्जना हुन दिएन ।

दोस्रो हाफमा थप आक्रामक देखिएको जापानको प्रयासमा गोलरक्षक किरण बाधक बनिरहे । ६७ औं मिनेटमा जापानले सुनौलो मौका पायो । अयासे उयदाको शक्तिशाली प्रहार किरणले बिफल तुल्याए । उक्त बचाउबाट फर्केको बल कोजी मियोशीले पोस्टको दिशा दिए पनि किरणले लगातार दोस्रो बचाउ गर्दै नेपालको सम्भावना कायम राखेका थिए । रक्षात्मक रणनीतिमै ध्यान दिएको नेपालले जापानको पोस्टमा बिरलै बल लाग्न सक्यो ।

नेपालले ४–३–३ को रणनीतिमा खेल्दै सिनियर खेलाडीद्वय विशाल राई र रोहित चन्दसँगै तेज तामाङलाई मिडफिल्डको जिम्मेवारी सुम्पिएको थियो । डिफेन्समा अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ र सुमन अर्यालले पनि चुस्त प्रदर्शन गरे । आक्रमणमा बिरलै मौका पाए पनि विंगर अभिषेक रिजालले बल होल्ड गर्दै विपक्षी खेलाडीलाई दबाबमा राख्ने प्रयास गरे । सुमन लामा र विमल घर्तीमगरको आक्रामक भूमिका भने जम्न सकेन ।

नेपाली टोलीका गोलरक्षक प्रशिक्षक नवीन महर्जनले स्तरीय जापानी टोलीविरुद्ध किरणले राम्रो प्रदर्शन गरेको बताए । ’किरणले कप्तान र एक अनुभवी गोलरक्षकका रूपमा निकै राम्रो प्रदर्शन गरे । सिनियर खेलाडी भएका कारण जस्तो अपेक्षा थियो त्यस्तै प्रदर्शन गरे । जापानले सिफ्टिङ र ट्रान्जिसनमा निकै राम्रो प्रदर्शन गर्‍यो,’ प्रशिक्षक महर्जनले भने । सुरुआतदेखि योजनाअनुसार खेलेकाले नेपाललाई सहज भएको उनको ठम्याइ थियो ।

नेपाल रहेको समूह ‘डी’ कै अर्को खेलमा भियतनामले पाकिस्तानलाई ३–० ले पराजित गर्‍यो । नेपालले बिहीबार शीर्षस्थानको भियतनामको सामना गर्नेछ । नेपालले समूहको अन्तिम खेल पाकिस्तानविरुद्ध आइतबार खेल्नेछ । समूहका शीर्ष दुई टोलीसँगै ६ समूहमध्ये तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट ४ टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

प्रतिकृयाहरू
...