Tuesday 17th March 2026

इन्डोनेसियामा भूकम्पबाट मर्नेको संख्या १६४ पुग्यो


तितोपाटी – इन्डोनेसियाको लोम्बोक द्वीपमा गत आइतबार गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ ।

उद्धारकर्ताहरू भूकम्पको बढी प्रभावित क्षेत्रमा प्रवेश गरेलगत्तै यो संख्या बढेर १६४ पुगेको सरकारी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

भूकम्प गएको चार दिनपछि पनि भूकम्पले अति प्रभाव पारेको क्षेत्रमा उद्धार प्रयास हुन नसकेको बताइएको छ । यसकारण त्यस क्षेत्रबाट जीवित व्यक्तिको उद्धारको आशा पनि कम भएको जनाइएको छ । भूकम्पको कारण विस्थापित भएका केही व्यक्तिले अझै सहयोग नपाएको गुनासो पनि गरेका छन् ।

विशेषगरी उत्तर र पश्चिम लोम्बोकका भूकम्पपीडितलाई सहयोग पु¥याउन नसकिएको राष्ट्रिय प्रकोप निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले बिहीबार ट्विट गरी जानकारी दिएका छन् ।

यस भूकम्पमा परी १६४ व्यक्तिको मृत्यु भएको पुष्टि भएको नुग्रोहोले एएफपी समाचार समितिलाई बताए । साथै यस भूकम्पमा परी करिब १ हजार ४ सय व्यक्ति गम्भीर घाइते भएका र १ लाख ५० हजार विस्थापित भएका पनि नुग्रोरोले बताए । भूकम्पका कारण घरबास गुमाएका व्यक्तिहरूलाई शिविर बनाएर राखिएको छ ।

ती व्यक्ति स्थानीय शरणार्थी स्थलमा बसोबास गर्न बाध्य भएका र यी भूकम्पपीडितलाई खाद्यपदार्थ, औषधि र सफा खानेपानीलगायत सुत्ने स्थानको समेत कमी भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा आइतबार बेलुका ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसमा परी हालसम्म भएका क्षतिको विवरण आइरहेको छ । यस भूकम्पको केन्द्रबिन्दु लोम्बोकबाट १८ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १५ किलोमिटर गहिरो रहेको बताइएको छ ।

इन्डोनेसियाको मौसम विज्ञान विभागले समुद्री सतहको अध्ययनपछि सुनामीको भने खतरा नरहेको जनाएको छ । इन्डोनेसियामा यसै क्षेत्रमा गत साता आएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १७ जनाको मृत्यु भएको थियो ।

सन् २००४ को डिसेम्बरमा इन्डोनेसियाको सुमात्रामा ९.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि सुनामी आएको थियो । जसका कारण एक दर्जन तटीय क्षेत्रका दुई लाख ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

प्रतिकृयाहरू
...