Tuesday 25th February 2025

इन्डोनेसियामा भूकम्पमा परी मर्नेको संख्या १०० नाघ्यो


तितोपाटी – इन्डोनेसियाको लोम्बोक टापुमा आइतबार गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या एक सय पुगेको छ । अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने जनाएका छन् ।

विपद् व्यवस्थापन निकायका अनुसार भूकम्पका कारण करिब २ सय ५० मानिस घाइते भएका छन् । लोम्बोक टापुबाट करिब १० हजार मानिस विस्थापित भएको बीबीसीले जनाएको छ ।

७ म्याग्निच्युडको भूकम्पकपछि हजारौं भवनमा विद्युत् आपूर्ति बन्द भएको जनाइएको छ । नजिकैको गिली टापुमा फसेका करिब १ हजार पर्यटकको उद्धारका लागि डुंगा पठाइएको छ । छिमेकी बाली टापुका मानिस चिच्याउँदै घरबाट भागिरहेको दृश्य भिडिओ फुटेजमा देखिन्छ । समुद्री तट र पदयात्राका लागि लोकप्रिय टापु लोम्बोकमा एक साताअघि पनि भूकम्प गएको थियो। उक्त क्षेत्र बालीबाट करिब सय किलोमिटर टाढा पर्छ।

उक्त भूकम्पका कारण १७ जनाको ज्यान गएको थियो । अमेरिकी भूगर्भ निकायका अनुसार आइतबारको भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा करिब १० किलोमिटर तल थियो ।

भूकम्पलगत्तै अधिकारीहरूले सुनामी आउने चेतावनी जारी गरे पनि केही घण्टापछि फिर्ता लिइएको थियो । इन्डोनेसियाको विपद् न्यूनीकरण निकायका प्रवक्ताले लोम्बोक टापुको प्रमुख नगर माताराममा थुप्रै घरमा क्षति पुगेको समाचार संस्था एएफपीलाई बताए । उनका अनुसार क्षति पुगेकामध्ये अधिकांश कमसल निर्माण सामग्रीबाट बनेका घर हुन्।

मातारामका बासिन्दाले एउटा शक्तिशाली झट्का महसुस गरेपछि मानिस घरबाट भाग्न थालेको बताएका छन् । एक स्थानीयले भने, ‘तत्काल सबै मानिस घरबाहिर निस्के, सबैजना आत्तिएका थिए ।’ उनले अधिकांश भागमा विद्युत् तथा खानेपानी सेवा बन्द भएको जनाए । भूकम्पपछि बालीस्थित अस्पतालबाट बिरामीलाई बाहिर निकाली सडकमा टाँगिएका पालभित्र चिकित्सकले उपचार गरिरहेका छन्।


सम्बन्धित शीर्षकहरु

चुम्बकीय उत्तरी ध्रुव आधिकारिक रूपमा क्यानडाबाट टाढा र साइबेरियातिर आफ्नो गतिशीलता जारी राख्दै आफ्नो स्थान परिवर्तन गरेको छ। यस घटनाले…

हमासले शिरी बिबासको अवशेष इजरायललाई नभई गाजाकी एक महिलाको अवशेष हस्तान्तरण गरेको खुलासा भएपछि "हमासले सम्झौता उल्लङ्घनको पूर्ण मूल्य चुकाउनेछ,"…

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले संगमको पानी दूषित भएको रिपोर्टलाई अस्वीकार गरेका छन् । फेब्रुअरी 19 मा, सीएम योगीले केन्द्रीय…

प्रतिकृयाहरू
...