Saturday 28th September 2024

सडक दुर्घटनाको कारण ठप्प भएको बंगलादेश


तितोपाटी – सडक दुर्घटनामा दुई बालबालिकाको मृत्यु भएपछि एक साताभन्दा लामो समयदेखि बंगलादेशमा विशाल प्रदर्शन र हिंसात्मक झडपका घटना भइरहेको छन्।

अधिकांश युवा जमातले गरिरहेको प्रदर्शनको प्रमुख माग सरकारले सडक सुरक्षाको अवस्था सुधारका लागि काम गरोस् भन्ने छ । विद्यार्थी र स्कुले बालबालिकाले गरेको प्रदर्शनका कारण करिब एक् करोड ८० लाख जनसंख्या रहेको बंगलादेशी राजधानी ढाकामा हिंसात्मक घटनासमेत भएका छन्।

प्रदर्शन कसरी सुरु भयो ?
जुलाई २९ का दिन राजधानी ढाकामा एक जना स्कुले छात्र र अर्की छात्रालाई तीब्र गतिमा रहेको बसले किचेर मारेको थियो ।

अर्को बससँग यात्रु उठाउने प्रतिस्पर्धा गरिरहेको उक्त बसका चालकले बसको नियन्त्रण गुमाएर दुई स्कुले बालबालिकाको हत्या गरेको अनुमान गरिएको छ । गत वर्ष चार हजारभन्दा बढी पैदल यात्रुको मृत्यु भएको राजधानी ढाकामा दैनिकजसो हुने यातायात दुर्घटना जस्तै यो घटना पनि बिलाएर जान सक्थ्यो तर त्यस्तो भएन । दुर्घटनाको विषय सुरुमा सामाजिक सञ्जालमा फैलियो र सामाजिक सञ्जालभर आक्रोश पैदा भयो ।

त्यसपछि देशैभर विद्यार्थी आन्दोलनको उभार उठ्यो । हजारौैं स्कुले विद्यार्थीले राजधानी ढाकामा सडक बन्द गरेर र सडक अवरुद्ध गरेर आन्दोलनलाई गति दिए । प्रदर्शनकारीले ट्रक, बस र कारहरुलाई रोके । उनीहरुले ती सवारीसाधन रोक्दै चालकका चालक अनुमति पात्र माग गरे र सवारीको अवस्था दुरुस्त छ वा छैन भनेर जाँचसमेत गरे ।‘हामी सबै भ्रष्टाचार जाओस् भन्ने चाहन्छौं र चकलेट वितरण गरेजस्तै चालक अनुमति पत्र नदिइयोस् भन्ने चाहन्छौं,’ प्रदर्शनमा सहभागी एक १७ वर्षीय किशोरको भनार्इ उधृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।

शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?
बंगलादेशमा अत्यन्तै कम मात्रामा हुने प्रदर्शन चार दिनसम्म चल्यो । हजारौं विद्यार्थीले राजधानी ढाका ठप्प पारे । सहरभित्र र बाहिरका बस रुट बन्द गरिए ।

शनिबारदेखि भने प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास र रबरको गोली प्रयोग गर्न थाल्यो, जसका कारण कैयौं विद्यार्थी घाइते भए । यद्यपि यो विषय अझै पनि सरकारी प्रशासनले भने अस्वीकार गरिरहेको छ ।सत्तारुढ अवामी लिग पार्टीको भातृ संगठन सरकार समर्थित समूह, बंगलादेश छात्र लिग (बिसिएल) र विद्यार्थीबीच पनि विभिन्न क्षेत्रमा झडप भयो । सोमबार पनि हिंसाका घटना भइरह्यो । प्रहरीले क्याम्पसमा रहेका विश्वविद्यालयका विद्यार्थीलक्षित बल प्रयोग गरेपछि हिंसा भएको बिबिसीले उल्लेख गरेको छ ।

प्रहरीको आक्रमणका कारण कम्तीमा ४० विद्यार्थी घाइते भएको एक स्थानीय अस्पतालमा कार्यरत चिकित्सकलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । बिसिएलले पत्रकारहरुलाई पनि आक्रमण गरेको आरोप लगाइएको छ । उनीहरुले पत्रकारका फोन र क्यामेरामा समेत क्षति पुर्याएको बताइएको छ । प्रदर्शनको समाचार संकलनमा गएका कैयौं पत्रकारमाथि हातपातसमेत भएको बिबिसीले जनाएको छ।

प्रदर्शनकारी कसरी संगठित भए ?
लगभग युवा पुस्ताले नै संचालन गरेको प्रदर्शन सामाजिक सञ्जालका कारण सम्भव भएको थियो । सामाजिक सञ्जालमार्फत् नै दुई स्कुले विद्यार्थी मारिएको र प्रदर्शनलाई संगठित गर्नेबारे फैलिएको थियो ।

स्कुले विद्यार्थीलाई बसले किचेर मारेको विषय सामाजिक सञ्जालमा फैलिएपछि देशैभर आक्रोश उत्पन्न भयो र सडक प्रदर्शनको माग उठ्यो । अभियन्ताहरुले आफूहरुको प्रदर्शनलाई समाचार बनाइदिनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै सञ्चारमाध्यमलाई सामाजिक सञ्जालमार्फत नै आग्रहसमेत गरे ।

सडक यातायात कानुन बन्यो

एक साताभन्दा लामो समय सडक सुरक्षाको माग गर्दै विद्यार्थीले आन्दोलन गरेपछि बंगलादेशको सरकारले सडक यातायातसम्बन्धी कानुको मस्यौदा तयार पारेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

ट्राफिक नियमको उल्लङ्घन गर्नेलाई कडा सजायको व्यवस्थासहितको कानुनको मस्यौदालाई सरकारले सोमबार अन्तिम रूप दिएको हो । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले कानुनको मस्यौदा पारित गरेको मन्त्रिपरिषद् सचिव मोहम्मद शाफिउल अलामलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । प्रस्तावित कानुनको मस्यौदामा दोषीलाई धरौटीमा छुट्न नमिल्ने र पाँच बर्षभन्दा बढी समय जेल सजाय हुने व्यवस्था गरिएको छ । बंगलादेशको अहिलेको कानुनमा ट्राफिक नियमको उल्लङ्घन गर्नेलाई धरौटीमा छुट्न मिल्ने र बढीमा तीन बर्ष जेल सजाय हुने व्यवस्था रहेको छ ।


सम्बन्धित शीर्षकहरु

“स्वार्थ भन्दा माथि सेवा यहि नै बुद्ध भुमि / शान्ति भुमि प्रतिको टेवा ” भन्ने नारालाई आत्मसात गर्दै, रोजगारीको शिलशिलामा…

कुवेतको प्रमुख खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले देशका सबै आउटलेटहरूमा आफ्नो उच्च प्रत्याशित 'लुलु वर्ल्ड फूड' प्रवर्द्धन सुरु गरेको छ। 25…

भारी वर्षाका कारण मुम्बईको अवस्था खराब छ । भारतको आर्थिक राजधानी भनेर चिनिने मुम्बई र आसपासका क्षेत्रमा बुधबार भारी वर्षा…

प्रतिकृयाहरू
...