तितोपाटी – आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई जना अपहरणकारीको मृत्यु भएको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भक्तपुरकै डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको हो ।
अपहरणकारी खोज्दै गएको महाशाखाको टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गर्दा २ जना अपहरणकारी मारिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए । घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल, २ राउण्ड गोली र अपहरणपश्चात फिरौती रकम माग गरिएको सिम प्रयोग गरिएको मोबाइल बरामद गरेको छ ।
यसैबीच, अपहरित ११ वर्षीय बालक निशान खड्काको अपहरणकारीले हत्या गरेका छन् । आइतबार साँझ अपहरणमा परेका निशान खड्काको हत्या भएको हो। ठिमी गरपालिकाको एक निर्माणाधीन घरभित्र निशानको हत्या गरी शव फालिएको अवस्थामा मध्यान्ह साढे १२ बजे शव भेटिएको हो ।
अपहरणकारीले आइतबार साँझ काँडाघारीबाट बालकको अपहरण गरी ४० लाख फिरौती माग गरेका थिए ।
अपहरणकारीको खोजी गर्दै जाँदा अपराध महाशाखाको टोलीसँग भिडन्त हुँदा २ जना अपहरणकारीसमेत मृत्यु भएको छ ।
अपराध महाशाखाको टोलीले भक्तपुरकै डोलेश्वर महादेव मन्दिरमाथि रहेको जङ्गलमा अपरान्ह १ बजे अपहरणकारीलाई इन्काउन्टर गरी मारेको हो ।
।