Tuesday 10th March 2026

इन्डोनेसियामा फेरी अर्को शक्तिशाली भूकम्प, ८२ भन्दा बढीको मृत्यु


तितोपाटी – इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा आइतबार आएको शक्तिशाली भूकम्पमा परी ८२ जनाको मृत्यु भएको छ । छिमेकी बाली समेत हल्लिएको यस्तै भूकम्पमा परेर गत साता लोम्बोकमा एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो ।

स्थानीय अधिकारीहरुका अनुसार, भूकम्पको धक्काबाट बालीको डेनपसारसम्मका भवनहरुका साथै डिपार्टमेन्ट स्टोर र विमानस्थलको टर्मिनलमा क्षति पुगेको छ ।

बालीमा मानिसहरु घरबाट चिच्याउँदै बाहिर निस्केका थिए । लोम्बोकमा सेना र अन्य उद्धारकर्ताहरुले घाइतेहरुलाई स्ट्रेचरमा राखेर सुरक्षित स्थलमा पुर्‌याएका थिए ।

राष्ट्रिय विपद् एजेन्सीका प्रवक्ता सुटोपो पुर्वोले मृत्यु हुनेको संख्या ८२ पुगेको र अन्य सयौं व्यक्ति घाइते भएको जानकारी दिए । ‘हजारौं घरमा क्षति पुगेको छ र अधिकांश मानिसको मृत्यु भत्किएका घरले पुरिएर भएको हो,’ उनले भने । लोम्बोक जिल्लाको उत्तरमा सबैभन्दा बढी ६५ जनाको मृत्यु भएको छ ।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार ७ म्याग्निच्यूडको उक्त भूकम्प आइतबार साँझ गएको र भूकम्पको केन्द्र उत्तरी लोम्बोक रहेको छ । भूकम्प जमिनको सतहबाट करिब साढे १० किलोमिटर मुनि रहेको थियो ।

‘भूकम्पको ठूलो धक्का आउँदा म टिभी हेरिरहेको थिएँ,’ लोम्बोक निवासी हारिएनले भने, ‘बत्ती हल्लिरहेको थियो र मानिसहरु भागौं भागौं भन्दै कराइरहेका थिए । म पनि घरबाट बाहिर निस्किएँ, बाहिर अँध्यारो थियो किनभने विद्युत काटिएको थियो ।’

इन्डोनेसियाका मौसम विज्ञान विभागले समुद्री सतहको अध्ययनपछि सुनामीको खतरा नरहेको जनाएको छ ।

त्रसित मानिसहरु रातारात अग्ला सुरक्षित स्थानहरुमा पुगेका थिए । बाली र लोम्बोकको विमानस्थल पूर्ववत रुपमै आइतबार रातिदेखि सञ्चालनमा रहेका छन् । भूकम्प आएको आधा घण्टा विमानस्थलहरुमा पनि विद्युत कटौती भएका कारण अन्यौल छाएको थियो ।

यही क्षेत्रमा गत साता आएको ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्पले १६ जनाको मृत्यु हुनुका साथै घरहरु भत्किएका थिए ।

प्रशान्त क्षेत्रीय बेसिनमा अवस्थित इन्डोनेसिया ज्वालामुखी र फल्ट लाइनका कारण भूकम्पको उच्च जोखिममा रहेको छ । डिसेम्बर २००४ मा इन्डोनेसियाको सुमात्रालाई केन्द्रविन्दु बनाएर गएको ९ दशमलव १ म्याग्निच्यूडको भूकम्पले शक्तिशाली सुनामी आएको थियो जसका कारण एक दर्जन तटीय मुलुकका २३०,००० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...