प्रिय निर्मला
जब समाचार पढेँ
तिम्रो विभत्स हत्याको
निशब्द भएँ
मानौँ शब्दहिन छ
शब्दकोष मेरो जिन्दगीको
कोही लेख्दै थिए
फाँसी दे बलात्कारीलाई
कोहि दिँदै थिए श्रद्धान्जली
तिम्रो कहालीलाग्दो अन्त्यप्रति
कोहि दिँदै थिए समवेदना
तिमीजस्तो फुल गुमाएका
तिम्रा परिवारप्रति
कतै तातेका थिए सडक
मरेकि तिमीलाई न्याय माग्दै
कतै गरिएका थिए बिरोध
तिम्रो हत्यारालाई फाँसी माग्दै
तर हेर न,
म यतिबेलासम्म पनि
बिल्कुल निशब्द थिएँ
उता तिम्रो सास रोकिँदा
शब्दहिन अनि रित्तो म थिएँ
व्यक्त गरुँ पनि त आखिर
कस्तो रङ्गको शब्दले
जहाँ मानविय संवेदनाका रङहरु
धरासायी हुँदै गएका छ्न्
कुन यन्त्रले नापुँ म
तिम्रो छट्पटी अनि पिडालाई
जसको मापन गर्ने
छैन मसङ्ग कुनै इकाइ
साक्षात्कार नभए नि म
तिम्रो जस्तो पिडासङ्ग
तिमीभन्दा कम पिडामा
छैन यहाँ म पनि
तिम्रो पिडाको तितो ध्वनी
गुन्जीरहेकै बेला कानभरी
आवेगको ज्वाला
दन्किरहेकै बेला मनभरी
बलात्कारी नरपिचासलाई
फाँसीको माग गर्दै
जनसागर चिच्याइरहेकै बेला देशभरी
एलिसाको बलात्कार फेरी
अनि हत्याको खबर हेडलाइनभरी
उफ् सोँच्छु कति पिडा भयो होला
तिमीलाई अनि तिमीभन्दा
सानी बैनी एलिसालाई
अनि म फेरी निशब्द हुन्छु
किनकि,
सगरमाथा भन्दा अग्लो महसुस हुन्छ
आकार तिम्रो त्यो पिडाको
कल्पनामा नै सहि
नाइलभन्दा लामो आभास हुन्छ
त्यो बेला बगेको नदि तिम्रा अश्रुधाराको
अनि मेरो सिक्स सेन्सले
नछोएको भान हुन्छ एक्छेउँ पनि
तिम्रो दर्दनाक पिडाको
अनि फेरी फेरी निशब्द हुन्छु
महिनैपिच्छे घट्ने यस्ता घट्नाको
बहुतै गरिन्छ बिरोध
गरिन्छ माग फाँसीको
तताइन्छ सडक अनि सदन
छुटाइन्छ पनि एकदिन
अनि घट्छ अर्को अप्रिय घटना
र फेरी मर्छन् तिमी जस्ता
सयौँ निर्मलाहरु
उनिजस्ता कयौँ एलिसाहरु
अनि सम्भावित डरमा जिउन
बाध्य छ्न् हजारौं निर्मलाहरु
करोडौँ एलिसाहरु
त्यसैले लाग्दैन विश्वास कानुनको
लाग्दैन भर सरकारको
किनकि दम भए कानुनमा
रोक्दो हो बलात्कार
छेक्दो हो शृङ्खला हत्याका
लेख्नका लागि बनाइन्छ कानुन
देखाउनका लागि गरिन्छ कारबाही
फेरी गर्छौँ किन माग फाँसीको?
फितलो कानुनको गाताभित्र
लेख्ने काम मात्र हुनेछ यो पनि
कथमकदाचित् यो माग
एकदिन पुरा भए पनि
बलात्कारीको सजाय फाँसी
तोकेछ भने यदि सरकारले
तिमीजस्ता हजारौँ जिवीत निर्मलाले
हजारौँ जिवीत एलिसाहरुले
उनिहरुलाई फाँसी दिन पाउनुपर्छ
राक्षस बलात्कारीहरुलाई
हामीले मार्न पाउनु पर्छ
सरकारले होइन ! ! ! !
सिर्जना जी.सी.
हाल काठमाण्डौ