Friday 3rd April 2026

कञ्चनपुरमा १३ वर्षीया बालिकाको बलात्कार गरि हत्या


तितोपाटी – कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ। भीमदत्त नगरपालिका–१८ निम्बुखेडाकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको हो।  बिहीबार उनको घर नजिकै उखुबारीमा बलात्कारपछि हत्या भएको बुझिएको छ। उनको हत्या गरिएको अवस्थामा शुक्रबार बिहान मात्रै शव फेला परेको छ। घरदेखी १ किलोमिटरको दुरीमा खोलापारी रहेको उखुबारीभित्र उनको हत्या गरेर फालिएको अवस्थामा शव भेटिएको छ।

बिहीबार मध्यान्ह १२ बजेतिर घरबाट साथीकोमा जान भनेर हिडेँकी पन्त साँझसम्म घर नफर्किएपछि परिवारले खोजतलास गरेका थिए। उनको सडक नजिकै खोला किनारमा साइकल र किताबकापी फेला पारेपछि नजिकै खोजतलास गर्ने क्रममा शुक्रबार बिहान उखुबारीमा शव भेटिएको हो।

साँझसम्म समेत खोजतलास गर्दा नभेटिएपछि रातिको समयमा परिवारले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले राति खोजतलास गर्न नमानेको परिवारको आरोप छ। प्रहरीले शुक्रबार बिहान खोजतलास गर्ने क्रममा एक जना शंकास्पद युवक पक्राउ परेपछि हत्या गरिएको अवस्थामा शव भेटिएको हो।

शव अहिले घट्नास्थलमै रहेको छ। बालिका स्थानीय सरस्वती मावि खोल्टीमा कक्षा ९ मा अध्ययनरत थिइन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी ज्ञानबहादुर सेट्टीले घटनाकाबारेमा तीब्र अनुसन्धान अघि बढेको बताएका छन्।
‘हामीले एकजनालाई पक्राउ गरेर थप अनुसन्धान थालेका छौं’ डीएसपी सेट्टीले भने,‘ अहिले नै कसले र किन हत्या गरेको भन्ने खुलेको छैन्’।

घट्नापछि स्थानीयवासीहरु आक्रोशित भएका छन्। उनीहरुले दिनप्रतिदिन अपराध बढ्दै गएपनि प्रहरी प्रशासनले ध्यान दिन नसकेको बताएका छन्। स्थानीयले प्रहरी चौकी स्थापना गर्न माग समेत गरेका छन्। कञ्चनपुरमा दुईसाता अघि समेत कृष्णपुरमा एक १७ वर्षीया किशोरीको समेत बलात्कारपछि हत्या भएको थियो।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...