Saturday 4th April 2026

जापानमा बाढी पहिरोको कारण ३८ भन्दा बढीको मृत्यु


तितोपाटी – जापानको पश्चिमी क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण कम्तीमा ३८ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार ५० भन्दा बढी मानिस हराइरहेका छन् । जापानी अधिकारीका अनुसार मृत्यु हुनेहरु अधिकांश हिरोसिमा क्षेत्रका छन् ।

उक्त क्षेत्रमा गत बिहीबारदेखिको बाढीका कारण सयौं घरहरु ध्वस्त भएका छन् । अधिकारीहरुले करिब १५ लाख मानिसलाई आफ्नो घर छाडेर जान चेतावनी दिइएको जनाएका छन् । समाचार संस्था रोयटर्सका अनुसार १३ लाखलाई सर्तक रहन सूचना जारी गरिएको छ ।

स्थानीय समाचार संस्थालाई उद्धृत गर्दै बीबीसीले हजारौं प्रहरी, अग्निनियन्त्रक र सेना उद्धारकार्यमा खटिएको जनाएको छ । जापानी समाचार संस्था क्योडोका अनुसार कतिपय बाढीपीडितहरु पहिरोले जिउँदै पुरिएका छन् ।

राजधानी टोकियोबाट करिब ६ सय किलोमिटर पश्चिमको सहर मोटोयामामा शुक्रबार र शनिबार ५ सय ८३ मिलिमिटर वर्षा भएको जापानी मौसम विभागले जनाएको छ । विभागले अझै केही दिन भीषण वर्षा हुने जनाएपछि उच्च सर्तकता अपनाइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

हिरोसिमाबाट ३ सय किलोमिटर पूर्वको सहर क्योटोमा पनि बाढीले कैयौं घरहरुमा क्षति पुगेको जनाइएको छ । एक स्थानीय मनाबु ताकेसिताले भने, ‘आँधीयाम सुरु भएसँगै नदीको नजिकैका स्थानमा बस्ने स्थानीयहरु निकै त्रसित भएका छन् ।’

 


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...