तितोपाटी – एउटा वडा सचिवले कति वटासम्म वडाको जिम्मेवारी सम्हाल्नसक्ला ? १, २, ३ अथवा ४ वटा वडा ? जवाफ आ–आफ्नै हुनसक्छन् । तर जाजरकोटको कुशे गाउँपालिकाका ९ वडाको जिम्मेवारी एक वर्षदेखि सचिव एक्लैले सम्हाल्दै आएका छन् ।
स्थानीय तहको चुनाव भएको एक वर्ष बितिसकेको छ । लामो समयसम्म कर्मचारी व्यवस्थापन नहुँदा यस्तो समस्या आएको हो । उनले सदरमुकामस्थित गाउँपालिकाको सम्पर्क कार्यालयमा बसेर नौवटै वडाको जिम्मेवारी सम्हालिरहेका छन् ।
स्थानीय सरकार सञ्चालन कार्यविधि २०७४ मा वडा सचिवलाई पञ्जिकाधिकारी तोकेको छ । वडा सचिवको हस्ताक्षरविना जन्मदर्ता, मृत्युदर्ता र बसाइँसराइको काजगात बन्न सक्दैन । तर वडा सचिव खनाल सदरमुकाममै भए पनि गाउँपालिकाको पञ्चिकरणको काम भने रोकिएको छैन । वडा सचिव खनालले नागरिकतालगायतका सिफारिशमा सदरमुकामबाट अग्रिम (ब्ल्यांक) हस्ताक्षर गरेर गाउँ पठाइदिन्छन् । त्यसमा वडाध्यक्षले प्रमाणित गरेर पठाउने गरिएको छ । जन्मदर्ता, विवाह दर्ता, मृत्यु, बसाइँसराइ, नाता प्रमाणित, लक्षित वर्गको सिफारिश पनि त्यसरी नै खाली लेटरप्याडमा हस्ताक्षर गरेर पठाउने र त्यहाँ रहेका तत्कालीन प्रशासन सहायक, सामाजिक परिचालक र लेखा सहायकले विवरण भरेर दिने गरिएको गाउँपालिका प्रमुख हरिचन्द्र बस्नेतले बताए ।
उनले बारम्बार माग गर्दा पनि सरकारले वडा सचिव नपठाउँदा समस्या भएको बताए ।
वडा सचिवमात्र होइन कार्यकारी प्रमुख र गाउँपालिका प्रमुख तथा उपप्रमुख पनि सदरमुकाममै बस्ने गरेका छन् ।
सदरमुकामबाट एक दिनको पैदल दूरीमा रहेको यो गाउँपालिकामा बैंक नहुँदा आर्थिक कारोबारसमेत सदरमुकाममै हुने हुँदा सेवाग्राही सामान्य कामका लागि पनि सदरमुकाम धाउन बाध्य छन् ।