तितोपाटी – प्रधानमन्त्री केपी ओलीले जुन १९ देखि २२ तारिख ( असार ५ देखि ८ गते) सम्म उत्तरी छिमेकी मुलक चीन भ्रमण गर्ने भएका छन् ।
परराष्ट्र मन्त्रालले बिहीबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो ।
चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा ओली चीन भ्रमणमा जान लागेका हुन् ।
प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले परम्परागत र मैत्रीपूर्ण सम्बन्धलाई मजबुत बनाउँदै परिवर्तित सन्दर्भमा अझ माथि उठाउन भ्रमण केन्द्रीत हुने बताए ।
उनले यसअघि नेपालका प्रधानमन्त्रीको भ्रमणले नेपाल चीन सम्बन्धमा नयाँ आयाम थपेको भन्दै त्यसबेला भएका सम्झौता कार्यान्वयनको चरणमा लैजान यो भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्रीको चीन भ्रमणका अवसरमार तान्स हिमालय कनेक्टीभिटिलाई मूर्त रुप दिन केही महत्वपुर्ण सम्झौतामा हस्ताक्षर हुने भएका छन् ।
त्यसमध्ये वर्षा याममा अवरुद्ध हुदै आएका नेपाल चीन नाका सञ्चालन गर्ने विषयमा छलफल गर्ने तयारी भएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । वर्षाको समयमा ति नाका अवरुद्ध हुँदा सामान ढुवानी
गर्न समस्या हुँदै आएको छ । त्यस्तै नेपाल चीन जोड्ने महत्वपूर्ण नाका तातोपानी नाका समेत आगामी मे महिनाबाट खुलाउने विषयमा नेपाल र चीनबीच छलफल हुनेछ ।
नेपाल र चीन जोडिएका हिल्सा, रसुवागढी, रिम्पु–तिप्लापास, दार्चुलाको टिंकर बझाङको उराइपास लगायतका नाका बर्षाको समयमा अवरद्ध हुँदा ती नाकाबाट खाद्यान्न लगायतका सामान ढुवानीमा समस्या हुँदै आएको छ ।
के–के हुन्छ सम्झौता ?
–रसुवामा बन्न लागेका दुईवटा पुलबारे सम्झौता गर्ने ।
–क्रस बोर्डर ट्रन्समिसन लाइन सम्झौता गरिने जसले उर्जा क्षेत्रमा एक हजार मेगावाट विजुली उत्पादन गर्ने । त्यसमा चिनियाँ र बुुटवल पावर कम्पनीको सहकार्य हुने । –कृषि र पशुपालनाका क्षेत्रमा सम्झौता हुने ।
भ्रमण कार्यतालिका
पहिलो दिन– दूतावासको कार्यक्रममा सहभागि
दोस्रो दिन– चाइनिज विजनेस कमिटी (सिसिटिआइपी) सँग छलफल गर्ने । सो छलफलमा उर्जालगायतका विषयमा सम्झौता गरिने । सोही दिन उच्चस्तरीय भेटघाट हुने ।
तेस्रो दिन– नेपाल पर्यटन भ्रमण बर्ष २०२० कार्यक्रममा सहभागि हुने । त्यसै दिन चिनियाँ प्रधानमन्त्रीसँग उच्चस्तरीय भेटवार्ता गर्ने ।
चौथो दिन– २२ तिब्बतियन स्वायत्त क्षेत्रमा चिनियाँ कम्युनिष्ट पार्टीका सेक्रेटरीसँग भेटघाट तथा तिब्बतका केही क्षेत्रको भ्रमण गर्ने । सोहि दिन स्वदेश फर्किने ।
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको यो भ्रमणले नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने दाबी गरेको छ । ‘यो भ्रमणलेनेपाल चीनबीचको सम्बन्धमा थप उचाई मिल्छ भन्ने हाम्रो बुझाई छ,’ पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले भने ।
प्रधानमन्त्रीको टोली एक नीजि एयरलाइन्सबाट चीन जाने भएको बताइएको छ । यसअघि प्रधानमन्त्रीको चीन भ्रमणबारे परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत ६ दिने हुने भनेकोमा आज आयोजित पत्रकार सम्मेलनमा भ्रमण तालिका छोट्याउँदै ४ दिने भएको जानकारी दिइयो ।