Saturday 20th September 2025

अमेरिका जान लागेका १३ नेपाली नाइजेरियामा अलपत्र


तितोपाटी – पैदल तथा हवाईमार्ग हुँदै अमेरिका प्रवेशका लागि मोटो रकम बुझाएर नाइजेरियाको लागोसमा पुगेका म्याग्दीका १३ जना युवा अलपत्र परेका छन् ।

दलाललाई मोटो रकम बुझाएर भारत, थाइल्याण्ड हुँदै नाइजेरिया पुगेका म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका युवाले दिएको जानकारीअनुसार दलालले विभिन्न बहाना बनाएर नाइजेरियामा प्रवेश गरेपछि लागोसमा रहेको एक होटलमा म्याग्दीका १३ सहित २३ जना नेपाली युवालाई बन्धक बनाएका थिए ।

नाइजेरियन दलालसँगै रहेका नेपाली दलालले समेत युवालाई होटलबाट बाहिर आउन नदिएको नाम उल्लेख नगरिदिन अनुरोध गर्दै ती युवाले जानकारी दिएका छन् ।

करीब २२ महिना अगाडि हवाई र पदैल यात्रा गरी नाइजेरिया पुगेका युवाले घरपरिवारमा सम्पर्क गरेपछि घटना सार्वजनिक भएको होटलमा रहेका युवाले पठाएको विवरणमा उल्लेख छ । बन्धक बनाइएका युवामध्ये भागेर बाहिर आएकाले दिएको सम्पर्क नम्बरमा जेम्स भन्ने नाम गरेका व्यक्तिले फोन उठाएर कुनै समस्या नभएको बताउने गरेको आफन्तको भनाइ छ ।

बन्धक बनाइएका युवा नाइजेरियाबाट अमेरिकातर्फ प्रस्थान गर्ने भएकाले पनि आफ्नो नामसहित पासपोर्टको विवरणसमेत सार्वजनिक नगर्न अनुरोध गरेका छन् । म्याग्दीबाट गएकामा अर्मनका युवा धेरै छन् । बेनी नगरपालिका र गाउँपालिकाका विभिन्न वडाका युवाको नाम पहिचान हुन सकेको छैन । अवैध मार्गबाट करीब रु ३५ लाख खर्च गरी अमेरिका पुग्ने युवालाई नेपाल, भारतलगायत देशका तस्करले तोकेको ठाउँमा मोटो रकम बुझाउनुपर्छ । सम्झौताअनुसार रकम बुझाउन नसक्नेलाई होटलमै बन्धक बनाएर राख्ने गरिएको छ ।

नेपालबाट पठाउने एजेण्टलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली एजेण्टलाई पक्राउ गरेपछि थप जानकारी लिने प्रयास भइरहेको परिवार स्रोतलाई उद्धृत गर्दैै अमेरिकामा रहेका एक म्याग्देलीले जानकारी दिए । उनले आफू पनि हिँडेर आएको बताउँदै बाटो जोखिमपूर्ण भए पनि नेपालीको आकर्षण नघटेको बताए ।

नेपालबाट ठाउँ ठाउँमा युवालाई मोलतोल गरी बिक्री गरेजस्तै गरी पैसा बुझाउनुपर्छ । नेपाल, भारत, थाइल्याण्डलगायतका देशमा नेपाली दलाल रहेका उनीहरुले बताएका छन् । पछिल्लो समय, बोलिभिया, पानामा र मेक्सिकोमा समेत नेपाली दलालले होटललगायतमा काम गर्ने गरी त्यहाँ पुगेर सेटिङ मिलाउने गरेका छन् ।

बन्धक बनाइएका युवाले विभिन्न अन्तर्राष्ट्रियस्तरका रेमिट् कम्पनीमार्फत परिवारबाट रकम मगाइरहेका छन् । भारत, ब्राजिल, इथोपिया, बोलिभिया, पेरू, इक्वेडर, पानामा हुँदै करीब १२ देशका समुद्र र जंगलको कठोर यात्रा पार गरी मेक्सिकोमा पुगेपछि तस्करले अन्तिम सेटिङ गरेबापत रकम माग्ने गर्छन् । हरेक वर्ष म्याग्दीबाट रु ५० लाखसम्म दलाललाई बुझाएर अमेरिका जाने युवाको संख्या अत्यधिक रहेको छ ।


सम्बन्धित शीर्षकहरु

जेन जेड आन्दोलन ले ४८ घण्टा भित्र सवै कुरा ढालि दियो तर रबि लामिछाने ढलेन । पूर्व सरकारमा सामेल दलका…

नेपालका जनरल जेड प्रदर्शनकारीहरूले ४८ घण्टाभन्दा कम समयमा सरकार ढाल्न सफल भए - तर यो विजयले ठूलो मूल्य चुकाउनु परेको…

गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा…

प्रतिकृयाहरू
...