Wednesday 24th December 2025

स्कुल नगएको भन्दै बाबुले गरे बिरामी छोराको हत्या


भक्तपुर – भक्तपुरमा एक बाबुले स्कुल नगएको आवेगमा आफ्नै छोरामाथि छुरा प्रहार गरेका छन्। बिरामी भएर स्कुल नगई सुतिरहेका छोरामाथि छुरा प्रहार गर्दा उनको ज्यानसमेत गएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका ५ खरिपाटी घर भई हाल भक्तपुर नपा १० भत्क्यापाटी बस्ने ३५ वर्षीय पलमान गिरीले आइतबार १२ वर्षीय आफ्नै छोरा प्रतीक गिरीमाथि छुरा प्रहार गरेका हुन्।

परिसरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेका अनुसार मानसिक अवस्था ठीक नभएका बाबु पलमानको छुरा प्रहारबाट घाइते प्रतीकलाई उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो।

भक्तपुरमा उपचार सम्भव नभएपछि काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज रिफर गरिएकोमा त्यहीं उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए।

उनका अनुसार बिरामी भएर खाटमा सुतिरहेका छोरा प्रतीक स्कुल नगएको झोंकमा बुबा पलमानले छुरा प्रहार गरेका थिए। घरमा कोही नभएको बेला घटना भएकाले प्रतीकलाई बचाउन नसकिएको प्रतीकका दाजु कपिल बताउँछन्। प्रतीकका ठूलोबुबाका छोरा कपिलका अनुसार प्रतीकका आमा मन्दिर गएको र घरमा प्रतीक र उनका बुबामात्रै थिए।

‘आन्टी (प्रतीककी आमा) मन्दिर जानुभएको रहेछ। घरमा बिरामी प्रतीक र काकामात्रै हुनुहुन्थ्यो’, उनले भने, ‘प्रतीक बिरामी भएर सुतिरहेका थिए। काकाले ढोका लगाएर गर्न नहुने काम गरिसकेका रहेछन्। घरमा कोही नभएको हुँदा तत्कालै घटनाबारे जानकारी हुन सकेन। थाहा हुँदा धेरै ढिलो भइसकेको थियो।’

पलमानका तीन दाजुभाइ सगोलको घरमा छुट्टाछुट्टै बस्दै आएका छन्। तैपनि घटनाबारे तत्कालै कसैले थाहा पाउन नसकिएको कपिल बताउँछन्। ‘म बिहान अफिस जानुअघिसम्म सबै अवस्था राम्रो थियो’, उनले थपे, ‘तर अफिस पुग्न नपाउँदै अनर्थ भइसकेको रहेछ।’

उनका अनुसार काका पलमान डिप्रेसनले ग्रसित थिए। तीन महिनाअघि लगानी गरेको व्यवसाय बिग्रेपछि पलमान डिप्रेसनको शिकार भएको उनी बताउँछन्। उक्त व्यवसाय बिग्रेपछि उनी खाली हात छन्। जसले गर्दा झन् झन् डिप्रेसनमा गएको परिवारको बुझाइ छ। जसले गर्दा छोराछोरीलाई नपढेको भन्दै गाली गर्ने झर्कने र कराउने गरेको कपिल सुनाउँछन्।

‘डिप्रेसनमा जानुभएपछि भाइबहिनीसँग किन नपढेको भन्दै गाली गर्नुहुन्थ्यो, कराउनुहुन्थ्यो’, उनले थपे, ‘तर यस्तोसम्म घटना हुन्छ भनेर हामीले सोचेका पनि थिएनौं।’

घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। घटनामा संलग्न पलमान प्रहरीको नियन्त्रणमा छन्।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

प्रतिकृयाहरू
...