Sunday 22nd March 2026

पुनरावेदनपछि अनिल मृत्युदण्डबाट बच्न सक्छन्, बुवाआमाको आश सिंहदरबारमाथि


अनिलका लागि वकिल र खर्चको व्यवस्था

काठमाडौं – कतारमा मृत्युदण्डको सजाय सुनाइएका अनिल चौधरीको पक्षमा मुद्दा लड्न वकिल र खर्चको व्यवस्था गरिएको छ । 

गोली हानेर मृत्युदण्ड कार्यान्वयन गर्न कतारको तल्लो अदालतले गरेको फैसलाविरुद्ध नेपाली दूतावासले यसअघि नै अपील गरेको थियो ।

अनिल दोषी रहेको भन्दै कतारको तल्लो अदालतले २६ मार्च २०१८ मा मृत्युदण्डको फैसला गरेको थियो । त्यही निर्णयलाई सदर गर्दै उसले मृत्युदण्ड गोली हानेर कार्यान्वयन गर्न आदेश दिएको थियो ।

नेपाली दूतावास कतारका द्वितीय सचिव एवं प्रवक्ता नितेश सापकोटाका अनुसार महोत्तरीको औरही –१, का चौधरीलाई निर्दोष सावित गराउन त्यहाँको सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो । कानूनी प्रतिरक्षाका लागि स्थानीय वकिल नियुक्त गरिएको छ ।

कतारी नागरिक उमैर मोहम्मद उमैर अल रामजानी अल नायुमीको हत्या अनिलले गरेको पुष्टि गर्दै कतारको तल्लो अदालतले मृत्युदण्डको फैसला सुनाएको हो । चौधरी २ अप्रिल २०१७ मा पक्राउ परेका थिए ।

अनिलको पक्षबाट मुद्दा लड्न आवश्यक पर्ने रकम समेत छुट्याइएको छ । मुद्दाका लागि आवश्यक पर्ने रकमबारे परराष्ट्र मन्त्रालयले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा पत्राचार गरेको थियो । कानूनी प्रतिरक्षाका लागि दूतावासमा पठाइएको पेश्की रकमबाट मुद्दा लड्न आवश्यक खर्च गर्न बोर्डले परराष्ट्र मन्त्रालय हुँदै नेपाली दूतावासलाई पत्राचार गरेको छ ।

बोर्डले कानूनी प्रतिरक्षा शीर्षकमा विदेशमा रहेका नेपाली नियोगहरुलाई रकम पठाउने गरेको छ । विदेशमा आपतमा परेका नेपालीका पक्षमा मुद्दा लड्न परे यो रकमबाट खर्च गरिन्छ । मुद्दा लड्नका लागि शुरुमा ३० हजार रियाल (झण्डै ९ लाख रुपैयाँ) लाग्ने अनुमान छ । मुद्दा लड्नका लागि थप खर्च चाहिए दूतावासलाई पठाइने पनि बोर्डले जनाएको छ ।

कतारको सर्वोच्च अदालतले तल्लो अदालतको फैसला तत्काल कार्यान्वयन नगराउन आदेश दिन सक्छ । अनिल निर्दोष रहेको थप प्रमाण जुटेमा उनी जेलमुक्त हुन सक्छन् । दोषी प्रमाणित भएपनि मृतक परिवारले ब्लडमनी स्वीकार गरे उनी मृत्युदण्डबाट बच्न सक्छन् । सँगै कुनै अवसरमा आममाफी पाएर पनि उनी जेलमुक्त हुन सक्ने आश भने राख्न सकिन्छ । तर सर्वोच्चले पुनरावेदनको निवेदन स्वीकार गरे पनि फैसला गर्ने दिन भने अहिलेसम्म नतोकेको नेपाली दूतावासले जनाएको छ ।

बुवाआमाको आश सिंहदरबारमाथि

एसएलसी पास गरेपछि धेरथोर कमाएर फर्कियोस् भन्ने सोचेर ५८ वर्षीय श्यामकिशोर चौधरीले छोरा अनिललाई कतार पठाउनुभएको थियो । उहाँले सोचेजस्तै अनिलले घरमा पैसा पनि पठाउँथे । ‘कार धोएबापत ३० रियाल जति दिनमा टिप्स हुन्छ भन्थ्यो । १९ महिना काम गर्‍यो, साढे तीन लाख रुपैयाँ जति पठायो होला,त्यसबाट दुई लाख रुपैयाँ ऋण तिरेँ’, श्यामकिशोरले भन्नुभयो ।

अनिल एक्ला छोरा हुन् । कमाउन गएको छोरा १९ महिनामै जेल परेपछि श्यामकिशोरलाई दुःखमाथि दुःख थपियो । अनिल जेल परेको १५ महिना भयो । जेलबाट छोरोलाई छुटाउन श्यामकिशोर १० पटक काठमाडौं आउनुभयो । ‘लाख रुपैयाँ जति खर्च भयो । सिंहदरबार त काठमाडौं बस्दा दिनहुँ गएको, अब त्यहाँ बस्ने भगवानहरुले मेरो छोरा बचाउलान कि भन्ने मात्रै आश छ,’ श्यामकिशोरले भन्नुभयो, ‘अनिलकी आमाले पनि छोरो जसरी पनि फर्काउनु भनेर ढिट गरेकी छ ।’

अनिल भन्छन् : मैले कसैलाई मारेको छैन

अनिलको परिवारमा आमा बुवा मात्रै छन् । दुई दिदीको बिहे भइसक्यो । अनिलले पनि जेलबाट बेलाबेलामा घरमा फोन गरिरहन्छन् । ‘फोनमा मलाई बचाउनु बुवा भन्छ, उसको आमाको फोनमा मात्र फोन गर्न मिल्छ त्यहाँबाट, के हुँदैछ म आउन पाउँछु कि पाउँदिन, मैले कसैलाई मारेको छैन भन्छ, मैले के भन्ने’, श्यामकिशोर भन्नुहुन्छ ।

अनिलका मामाका छोरा ओमप्रकाश चौधरीका अनुसार, अनिलको काम गर्ने समय बेलुकीको ७ बजे सकिन्थ्यो । पक्राउ पर्ने दिन पनि अनिल काम सकेर कोठामा फर्किँदै थिए । त्यो दिन कार धुँदा अनिलको दाहिने हातको बुढी औँला काटिएको थियो । हातमा र सर्टमा थोरै रगत पनि लागेको थियो । ड्युटी सकेर तरकारी किन्न अनिल बजार गएका थिए ।

बजारबाट फर्किँदा सर्टमा रगत देखेर प्रहरीले उनलाई सोधपुछ ग¥यो । त्यो दिन प्रहरीले बाटोमा शव भेटेर मानिसहरुलाई सोधपुछ गरिरहेको रहेछ । सोधपुछकै क्रममा प्रहरी अनिलको कोठासम्म पुग्यो । कोठामा आठ हजार रियाल र कतारी नागरिकको पुरानो परिचयपत्र फेला पर्‍यो । त्यसैका आधारमा बाटोमा भेटिएको शव नै अनिलले हत्या गरेका हुन भनेर जेल हालेको ओमप्रकाशसँग अनिलले बताएका थिए ।

दूतावासले पनि अनिलको बारेमा कम्पनीबाट जानकारी लिएको थियो । लुगामा रगतको छिर्कासहित राती १२ बजे मजदुर क्याम्पमा आएको कम्पनीले दूतावासलाई जानकारी गराएको थियो । उनको कोठाबाट केही कतारी नागरिकको परिचयपत्र र चक्कु समेत बरामद गरिएको थियो । प्रहरीले बेवारिसे शव फेला पारेकाले अनुसन्धान गर्न भन्दै पक्राउ गरेको दूतावासले अनिलका परिवारलाई जानकारी गराएको थियो ।

-उज्यालो अनलाइनबाट


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...