Tuesday 27th January 2026

३० वर्ष पुग्दा पनि छोराले घर नछोडे पछि बाबुअामाद्वारा मुद्दा दायर


तितोपाटी – न्यूयोर्क राज्यको क्यामिलस निवासी एक ३० वर्षे युवकलाई भर्खरै एक न्यायाधीशले आफ्नो अभिभावकको घर छाड्न आदेश दिएका छन् । ती अभिभावक छोराले स्वतःस्फुर्त रुपमा आफ्नो घर नछाडेपछि अदालत पुगेका थिए ।

अभिभावक मार्क र क्रिस्टिना रोटोण्डोले महिनौँ अघिदेखि आफ्नो छोरा माइकललाई आफ्नै वासस्थान खोज्नको लागि दबाब दिइरहेका थिए । रिपोर्ट अनुसार उनीहरुले फेब्रुअरी २ बाट छोरालाई यसबारे पटक–पटक जानकारी गराएका थिए ।

ती अभिभावकले छोरालाई घर छाडे शुरुवाती खर्चको लागि ११०० डलर सहयोग गर्ने प्रस्ताव पनि राखेका थिए । तर उनीहरुका अनुसार छोराले उक्त रकम लिएको तर घर भने छाडेनन् ।

अभिभावकका अनुसार माइकलले त्यति पैसाले अन्यत्र जीवन धान्न नसकिने बताएका थिए । अन्य विकल्पले छोरालाई घर निकाल्न नसकेपछि अन्ततः उनीहरु स्थानीय अदालतमा पुगेका थिए ।

रिपोर्ट अनुसार माइकल रोटोन्डो विगत आठ वर्षदेखि आफ्नो अभिभावकसँग बसिरहेका छन् । र, उनी घरको दैनिक काम र घरखर्चमा कुनै योगदान पनि गर्दैनन् ।

छोरालाई आत्मनिर्भर गराउने अन्य विकल्पले काम नगरेपछि २ फेब्रुअरीको दिनमा उनीहरुले माइकललाई एक नोटिस लेखेका थिए ।

“माइकल, तिम्रो आमासँग छलफलपछि हामीले तिमीले तत्काल यो घर छोड्नुपर्छ भन्ने निर्णय लिएका छौँ । तिमीलाई आफ्नो सामान खाली गर्नको लागि १४ दिनको समय दिइएको छ । त्यसपछि तिमीलाई फर्कन दिइनेछैन । यो निर्णय लागु गर्न हामी आवश्यक जुनसुकै कदम उठाउन बाध्य हुनेछौँ,” पिता मार्कले लेखेको पत्रमा भनिएको छ ।

११ दिनपछि उनीहरुले यो नोटिसबारे पुनः सम्झाएर कानुनी कदम चाल्ने चेतावनी दिएका थिए । उक्त पत्रमा लेखिएको थियो : “माइकल, तिमी यो घरमा पाहुना मात्र हौ । तिमीले यहाँ लामो समय बस्नको लागि कुनै लिज वा सम्झौता नगरेकाले हाम्रो अनुमति बिना तिमी यहाँ बस्न पाउँदैनौँ । मार्च १५ सम्म पनि तिमीले यो घर नछाडेमा तिमीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइनेछ ।”

त्यो चेतावनी र त्यसपछिका अन्य थप पत्रहरुको बेवास्ता गरेपछि मे ७ मा अदालतमा गएर माइकलकी आमाले छोरालाई आफ्नो घरबाट हटाइ पाउँ भन्ने निवेदन दिएकी थिइन् ।

अदालतमा माइकलले ६ महिनाको समय मागेका थिए । न्यायाधिस सामु उनले आफूले घरधन्दा र घरखर्चमा योगदान नगरेकोले अभिभावकको यो ‘प्रतिशोधपूर्ण’ कदम चालेको बताएका थिए ।

तर न्यायाधिसले उनको कुरा नसुनेर उनलाई अभिभावकको घर छाड्न निर्देशन दिएका छन् ।

अदालतको उक्त निर्णयपछि रोटोण्डोले यो फैसला ‘अपमानजनक’ भएको भन्दै आफूले यस निर्णय विरुद्ध अपिल गर्ने सोचेको बताए ।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...