Sunday 17th May 2026

कोरोनाभाइरसबारे डब्लुएचओको चेतावनी: पूरै विश्व सावधान हुनुपर्छ


तितोपाटी-विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसबारे पूरै विश्व सावधान हुनुपर्ने बताएको छ। उसले यसको फैलावट रोक्न सम्पूर्ण विश्वले मिलेर कदम चाल्नुपर्नेमा जोड दिएको छ। विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको स्वास्थ्य आपत्‌काल कार्यक्रमका प्रमुखले चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस सङ्क्रमणबारे सम्पूर्ण विश्व सावधान हुनुपर्ने बताएका छन्।

डाक्टर माइक र्‍यानले घातक भाइरससँग जुझ्न चीनले चालेका कदमहरूको प्रशंसा गरे: “चुनौती निकै ठूलो छ तर त्यसको सम्बोधनका लागि देखाइएका प्रतिक्रिया पनि व्यापक छन् ।” बिहीवार डब्लुएचओले यो भाइरसले विश्वव्यापी आपतकालीन अवस्था निम्त्याएको हो कि होइन भनी फैसला गर्न बैठक डाकेको छ।
गत साताको बैठकमा उसले त्यस्तो घोषणा गरेको थिएन। जिनिभामा बोल्दै डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयससले भने, “सङ्क्रमणका लगातार बढ्दा घटना अनि चीन बाहिर पनि मानिसबाट मानिसमा सरेका प्रमाण निश्चय नै निकै चिन्ताजनक छन्। हालसम्म चीन बाहिर सङ्क्रमितहरूको सङ्ख्या थोरै नै छ। तर त्यो बढ्ने सम्भावना छ।”
हाल सङ्क्रमितहरूको सङ्ख्या ७ हजार छ। १७० जनाको ज्यान गएको छ। सङ्क्रमित प्रत्येक पाँच जनामध्ये एक जनामा न्युमोनियाजस्ता गम्भीर समस्या देखिएका छन्। चीनबाहिर १६ देशमा यसको सङ्क्रमण पाइएको छ।

यो कोरोनाभाइरस सङ्क्रमणको कुनै स्पष्ट उपचार वा खोप छैन। तर कैयौँ मानिसहरू उपचारपछि निको भएका छन् । डब्लुएचओका डाक्टर र्‍यानले चीन जान विज्ञहरूको एक अन्तर्राष्ट्रिय टोली जम्मा पारिँदै गरेको र सो टोलीले उक्त रोग कसरी सर्छ भन्नेबारे थप जानकारी बटुल्ने बताए।
“हामी यो सङ्क्रमणको एक महत्त्वपूर्ण चरणमा छौँ। यसको फैलावट अझै पनि रोक्न सकिन्छ भन्नेमा हामी विश्वस्त छौँ,” उनले भने। यसबीच अस्ट्रेलियामा वैज्ञानिकहरूले प्रयोगशालामा उक्त कोरोनाभाइरसको विकास गरेका छन् जसले यसको सुरुवाती रोग जाँच प्रक्रिया निर्माणमा सघाउ पुग्न सक्छ।
यसै साता सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानोमले चीन भ्रमण गरेका थिए। उनले त्यहाँ सङ्क्रमित अधिकांश मानिसमा सामान्य लक्षणमात्र देखा परेको तर बीस प्रतिशतमा भने त्यसले न्युमोनिया तथा श्वासप्रश्वासको गम्भीर समस्या उब्जाएको देखिएको बताएका छन्। उनले चीनलाई विश्वको समर्थन र ऐक्यबद्धता आवश्यक रहेको बताए। विगतका सङ्क्रमणबाट पाठ सिकेर विश्वले काम गर्नुपर्ने उनको भनाइ छ। बीबीसी


सम्बन्धित शीर्षकहरु

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ…

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

प्रतिकृयाहरू
...