Thursday 15th May 2025

महिला क्रिकेटले जितेको दिन


तिताेपाटी — मुख्य प्रतियोगिता खेल्न विदेश जानु अघि २-३ साताको बन्द प्रशिक्षण राखिने र त्यही तयारीको भरमा सिधै खेल्नु पर्ने नेपाली महिला क्रिकेटको नियति नै हो । महिला क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता मुस्किलले वर्षको १-२ वटा हुन्छ । त्यसको प्रभाव घरेलु क्रिकेटमा त पर्ने नै भयो ।

नेपाल क्रिकेट संघ (क्यान) साँढे तीन वर्ष निलम्बनमा रहेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने प्रधानमन्त्री कपले महिला क्रिकेटको राष्ट्रिय प्रतियोगिता धानिएको थियो । निलम्बन अघि पनि क्यान र महिला राष्ट्रिय प्रतियोगितामा खासै फरक थिएन्, वर्षको त्यही मुस्किलले एक पटक जसो तसो राष्ट्रिय प्रतियोगिता हुने गरेको थियो ।

नेपालको महिला क्रिकेट कतिसम्म उपेक्षित थियो भने अहिलेसम्म अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सकेको छैन । नेपालको पुरुष क्रिकेटमा फ्रेन्चाइजको लहर छ । पछिल्लो तीन वर्षमा मात्र पुरुषतर्फ ७ वटा फ्रेन्चाइज क्रिकेट हुँदा नेपालको महिला क्रिकेट खेलाडीहरू वर्षको एउटा राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि भौतारिरहनु पर्थ्यो । पुरुष क्रिकेटमा भित्रिएको ग्लायमर उनीहरू मैदान बाहिर बसेर हेर्न बाध्य थिए ।

नेपाली महिला खेलाडीले पनि फ्रेन्चाइज क्रिकेट खेल्ने सपनालाई सार्थक बनाएका छन् । क्विन्स इभेन्ट प्रालीको आयोजनामा भएको वुमन च्याम्पियन्स लिग (डब्लुसीएल) ट्वान्टी-२० क्रिकेट खेलेर महिला क्रिकेट खेलाडीले आफ्नो सपनामात्र पुरा गरेनन्, आफ्नो स्थिति जाँच्ने अवसर पनि पाए । बिहीबार सम्पन्न डब्लुसीएल जितेर चितवनले नेपाली क्रिकेटमा इतिहास रच्यो । अर्को भनेको १३ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अगाडि उनीहरूले आफुहरूलाई बुझ्ने अवसर पाए ।

‘पहिलो महिला फ्रेन्चाइज क्रिकेट प्रतियोगिता जित्न नपाउदा दुख पनि लागेको छ । यो सँगैं खुशी पनि छु, महिला क्रिकेटको जित भएको छ । पहिलो पटक भए पनि सबैजनाले राम्रो खेलेका छन्,’ रुबिनाले भनिन्, ‘जुन हिसाबमा खेलाडीले खेले, मलाई त्यसमा गर्व पनि लाग्छ नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तान भएकोमा । उपाधि नचालेकोमा दुख लाग्नु स्वभाविक हो, तर जसले उचाले पनि महिला खेलाडीले नै ट्रफी उचालेका छन् ।’

नेपालको पहिलो फ्रेन्चाइज क्रिकेटमा रुबिना उत्कृष्ट खेलाडीमा चुनिन् र स्कुटर पाइन् । नेपाली महिला क्रिकेटरले यस्तो पुरस्कार पाएको विरलै छ । रुबिनाको ब्याट र बल निकै राम्रोसँग चलेको थियो । पुरुष क्रिकेटरले नै डाह गर्ने हिसाबले प्रतियोगिता भरी उनले ब्याटिङ गरेकी थिइन् । उनको ब्याटिङ औषतनै १ सय ७ थियो । फाइनलअघि उनको ब्याटिङ औषत २ सय १२ थियो । फाइनलमा उनी नचल्दा उनको टोली काठमाडौं क्याट क्विन्स उपविजेतामा सीमित हुन पर्यो ।

‘प्रत्येक पटक म आफ्नो खेलमा सुधार गर्न चाहान्छु, जहिले पनि म उत्कृष्ट खेल्न चाहान्छु । मैले जिम्मेबारी लिएर खेल्दा टिमले जित्न पनि सक्थ्यो । तर मैले फाइनलमा राम्रोसँग खेल्न सकिन् । साग अगाडि जुन एउटा प्लेटफर्म सेट गर्नु पर्ने थियो, आत्मविश्वास ल्याउनु पर्ने थियो, त्यो यस्ता प्रतियोगिताहरूले ल्याउने गर्छ,’ रुबिनाको यस भनाईले डब्लुसील जस्ता प्रतियोगिताले खेलाडीको नर्भसनेस हटाउने छ, जसको कारण उसको टोली फाइनलमा पराजित भएको थियो ।

साग निर्धारित समय अनुसार मंसिर १५ देखि २३ सम्म हुने तालिका छ । यसले नेपाली भुमिमा महिला क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता पनि भित्राउने छ । दर्शकले पहिलो पटक नेपाली महिला खेलाडीको प्रदर्शन स्वदेशी भुमिमा हेर्न पाउने छन् । पाँच फ्रेन्चाइज टोली समावेश डब्लुसीएलले महिला क्रिकेट खेलाडीको प्रदर्शन र क्षमता उजगार गरेको थियो । त्यसले केही दर्शक पनि तान्न सफल भयो ।

‘पहिलो पटक फ्रेन्चाइज क्रिकेट खेलेको रमाइलो भयो र राम्रो पनि भयो । यसमा खेलेपछि हाम्रो आत्मविश्वास पनि बढेको छ । हामीले यस्तो ठुलो माहोलमा खेल्नै पाएको थिएनौं,’ पोखरा पल्टनकी कप्तान सीता रानामगरले भनिन्, ‘पहिलो पटक यस्तो प्रतियोगितामा खेलेकोले होला, सुरुमा केही खेलाडी अत्तालिएका जस्ता देखिन्थे । खेल्दै गएपछि लयमा आउन लागियो । दर्शकहरू पनि मैदानमै आएर हेर्दा आत्मविश्वास बढेर गयो ।’

नेपाली राष्ट्रिय महिला टोलीकी उपकप्तान पनि रहेकी सीताले यस्तो प्रतियोगिताले खेलाडीको मनोबल बढाउने जनाउदै भनिन्, ‘वर्षमा एउटा राष्ट्रिय प्रतियोगिता मात्र खेल्ने बानी परिसकेको थियो । यो एउटा ठुलो प्लेटफर्म थियो खेलाडीका लागि । टिभीमा प्रत्यक्ष प्रसारण हुँदा राम्रो खेल देखाउनु पर्छ भन्ने हुन्छ । त्यसैले प्रतियोगिताको स्तर पनि बढाउछ र हामीलाई अलिक माथिल्लो स्तरमा खेल्न सहयोग पनि गर्छ ।’

पुरुष राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र वर्तमान उपकप्तान ज्ञानेन्द्र मल्लसहितको टोलीले आयोजना गरेको प्रतियोगिता हो डब्लुसीएल । उनीहरूको क्विन्सले पोखरामा गत वर्ष देखि पुरुषतर्फ पोखरा प्रिमियर लिग क्रिकेट आयोजना गर्दै आएको छ । त्यसबाहेक पुरुषतर्फ अन्य दुई फ्रेन्चाइज क्रिकेट धनगढी प्रिमियर लिग र एभरेष्ट प्रिमियर लिग पनि आयोजना हुने गरेको छ ।

आयोजक आफै कसरी प्रतियोगिता सञ्चालन हुनेमा सुरुमा अन्योलमा रहेको ज्ञानेन्द्र बताउछन् । ‘कस्तो हुने हो के हुने हो भनेर सुरुमा केही नर्भस भएका थियौं, तर प्रतियोगिता अगाडि बढेसँगैं राम्रो हुदै गयो । खेलाडी देखि सबैक्षेत्रबाट राम्रो सहयोग भयो । सुरुमा दर्शक अलिक कम जस्तो लागेको थियो, तर क्वालिफायर र फाइनलमा जसरी दर्शक आउनु भयो, यसले राम्रो अर्थ जनायो,’ ज्ञानेन्द्र भन्छन्, ‘महिला क्रिकेट प्रति कम चासो भएर पनि हुनसक्छ, सुरुमा दर्शक कम देखिनुको कारण ।’

पुरुषको जुन क्रिकेट क्रेज छ, त्यही अनुसार महिला क्रिकेटलाई पनि समर्थन गरिदिन उनले दर्शकसँग अनुरोध गरे । ‘महिला क्रिकेटमा प्रायोजक जुटाउन निकै गाह्रो भयो । राम्रो हिसाबमा गर्दा बजेट पनि धेरै हुन जान्छ । बजेट माथि भएपछि हामीले पनि प्रायोजकबाट त्यही अपेक्षा गर्छौ । धेरै प्रायोजकले व्यपार प्रवद्धनको हिसाबमा भन्दा पनि खेल प्रतिको मोहका कारण प्रायोजन गरिरहनु भएको छ,’ ज्ञानेन्द्रले भने, ‘प्रायोजकसँगैं कतिलाई महिला क्रिकेटको स्थितिको बारेमा थाहा पनि थिएन् । त्यसैले आउदा वर्षहरूमा प्रायोजक पनि ठुलो रुपमा आउनु हुनेछ भन्ने आशा गरेका छौं ।’

अन्तर्राष्ट्रिय क्रिकेट परिषदले दुई साता अघि क्यानमाथी लगाएको निलम्बन सशर्त फुकुवा गरेको छ । आउने दिनमा क्यानलाई पनि यो किसिमको प्रतियोगिता आयोजना गर्ने ढोका खोलिदिएको छ । ज्ञानेन्द्र मान्छन्, ‘संघलाई यस्ता प्रतियोगिता आयोजना गर्न केही सुझाव दिनुपर्छ जस्तो लाग्दैन । उहाँहरू पनि दक्ष भएर आउनु भएको हो । हामीले भन्दा पनि क्यानले राम्रो हिसाबले यस्ता प्रतियोगिता आयोजना गर्नसक्छ ।’
कान्तिपुरबाट साभार

सम्बन्धित शीर्षकहरु

कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी १७ अक्टोबर २०२५ शुक्रबारका दिन "कल्याणकारी सांगीतिक धमाका-२०२५" आयोजना गर्ने भएको छ । समाजले…

चर्चित लोकगायक प्रकाश सपुतको म्युजिक भिडियो सकम्बरी मार्फत चर्चामा आएकी २ वर्षअघि रिलिज भएको प्रकाश सपुतको चर्चित म्युजिक भिडियो ‘सकम्बरी’बाट…

नुवाकोट घर भएर काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ्ग मृत भेटिएकी हुन् । काठमाडौँको बागबजारस्थित गेस्ट हाउसमा २०८१ चैत २९…

प्रतिकृयाहरू
...