Thursday 24th April 2025

पोखरालाई ‘पर्यटकीय राजधानी सहर’ घोषणा गरिने


पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ।

आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को उपस्थितिमा यही चैत ४ गते पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आयोजनामा घोषणा कार्यक्रम गरिने प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले जानकारी दिए।

उनका अनुसार घोषणा मूल समारोह अघि वसुन्धरा उद्यानबाट विभिन्न सांस्कृतिक झाँकीसहितको र्‍याली निकालिनेछ। घोषणा समारोह फेवाताल किनार बाराही घाटमा हुने आयोजकले जनाएको छ ।

“प्रदेशका विभिन्न जाति तथा समुदायका मौलिक झाँकीसहितको र्‍यालीपछि समारोह हुनेछ। राजधानी सहरको प्रतिमा अनावरणपछि औपचारिक रुपमा घोषित हुनेछ”, उनले भने।

घोषणा समारोहलाई भव्य बनाउका लागि पोखरा महानगरका प्रमुख धनराज आचार्यको संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको छ।

सो समितिमा प्रदेश सरकारका प्रमुख सचिवसहित सबै सचिवहरू, पोखराका छिमेकी पालिका रुपा, मादी, माछापुच्छ्रे, अन्नपूर्ण, स्याङ्जाको फेदीखोला, तनहुँको शुक्लागण्डकी, पर्वतको कुश्मा र मोदी गाउँपालिकाका अध्यक्ष, पर्यटन संघ संस्थालगायत रहेका छन्।

राजधानी घोषणा समारोहलाई भव्य बनाउन र यसको महत्वलाई अन्तर्राष्ट्रियस्तरमा समेत बुझाउनका लागि नेपालस्थित चीन र भारतका राजदूत र विभिन्न देशका नेपालस्थित कूटनीतिक नियोगका प्रमुखलाई आमन्त्रण गरिएको बताइन्छ।

प्रदेश सरकारले आफ्नो राजधानी सहरलाई पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि अध्ययन समिति गठन गरेको थियो। सो समितिले गत फागुनमा प्रतिवेदन सरकारलाई बुझाएको थियो।

पोखरा महानगर प्रमुख धनराज आचार्यले घोषणा समारोहलाई उत्सवका रुपमा मनाउने गरी भव्य बनाउने गरी तयारी गरिएको बताए। पोखरा पर्यटनको पर्यावाची भएकाले धेरै लामो छलफल र अध्ययनपछि औपचारिक रुपमा राजधानी घोषणा गर्न लागिएको बताए।

“पोखरा के हो भन्नेमा कुनै दुविधा छैन, पोखरा पर्यटनको केन्द्र हो, गन्तव्य हो र पर्यटनको पर्यायवाची हो। सबै हो भने क्यापिटल सिटी अफ टुरिजम पनि किन न भन्ने भनेर घोषणा गर्दछौं। यसबाट गण्डकी प्रदेशसहित समग्र देशको समृद्धिमा टेवा पुग्नेछ”, महानगर प्रमुख आचार्यले भने।

उनले पर्यटकीय राजधानी घोषणपछि आवश्यक पूर्वाधार तथा मापदण्डको पहिचान, सेवाको गुणात्मकतालगायतमा सुधार गर्दै लगिने बताए।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन्। व्यवसायीले लामो समयदेखि राजधानी घोषणा गर्न माग गर्दै आएका थिए।


सम्बन्धित शीर्षकहरु

भारतको जम्मु–कश्मीरस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य पहलगाममा मंगलबार भएको आतङ्ककारी आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको छ। भारतीय सञ्चारमाध्यम ‘दैनिक भाष्कर’…

जम्मू कश्मीरको पहलगाममा पर्यटकमाथि आक्रमण भएको छ। अधिकारीहरूले बीबीसीलाई बताएअनुसार बन्दुकधारीहरूले पर्यटकहरूमाथि गोली चलाएका थिए जसमा २० भन्दा बढीको मृत्यु…

एक पूर्व सीआईए एजेन्टले एडोल्फ हिटलरले आफ्नै मृत्युको नाटक गरेको र अर्जेन्टिना भागेको बढ्दो प्रमाण रहेको विश्वास गर्छन्, जहाँ "अनुयायीहरूले…

प्रतिकृयाहरू
...