Thursday 19th March 2026

रोजगारी गुमेपछि फर्किए ६ लाख


तितोपाटी- स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन। सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ। तर अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकेको छैन।

कोरोना कहरपछि वैदेशिक रोजगारीमा असन्तुलन देखिएको छ। कोभिडअघि दैनिक एक हजार पाँच सय जना श्रमिक वैदेशिक रोजगारीमा जाने गरेका थिए। अहिले वैदेशिक रोजगारीमा धेरै गिरावट आएको छ।

नेपाल राष्ट्र बैंकको असारसम्मको तथ्यांकअनुसार २०७७÷०७८ मा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानीकरण) ६२.८ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो संख्या २०.८ प्रतिशतले घटेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने श्रमिकको संख्या ४६.८ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो संख्या ३४.७ प्रतिशतले घटेको थियो।

बर्सेनि श्रमबजारमा ५ लाखभन्दा बढी आउँछन्। मुस्किलले ५० हजार जना पनि आन्तरिक रोजगारीमा जोडिन पाएका छैनन्। साढे चार लाख वैदेशिक रोजगारीमा जान वाध्य भए पनि पछिल्लो समयमा कोेभिडले निर्वाधरूपमा वैदेशिक रोजगारीमा जान पाइरहेका छैनन्। स्वदेशमै रोजगारी गुमाउनेको संख्या बढ्दै गएको छ। कोभिडले पर्यटन, मनोरञ्जन क्षेत्र पूर्णरूपमा बन्द भएकाले रोजगारी पनि खुम्चिएको छ।

कोरोना भाइरसका कारण रोजगारी गुमाएर पौने ६ लाख नेपाली स्वदेश फर्किएका छन्। कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार ५ लाख ७२ हजार ५ सय ७१ जना नेपाली श्रमिक स्वदेश फर्किएका छन्। नियमित रूपमा स्वदेश फर्किने श्रमिकको तथ्यांक यसमा राखिएको छैन।

सरकारले चालू आर्थिक वर्ष ७ लाखलाई रोजगारी दिने घोषणा गरेको छ। गत वर्ष रोजगारी लक्षित कुनै कार्यक्रम कार्यान्वयन हुन सकेनन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगले रोजगारीसम्बन्धी अध्ययनसमेत गर्न सकेका छैनन्।

शेरबहादुर देउवा सरकारले युवालाई स्वदेशमै रोजगारी दिने न्यूनतम साझा कार्यक्रम ल्याएको छ। सरकार बनेको दुई महिना भइसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन। जसले गर्दा न्यूनतम कार्यक्रमसमेत अलपत्र परेका छन्। अघिल्लो सरकारले समेत बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने घोषणा गरे पनि स्वदेशमा रोजगारी सिर्जना हुने कुनै योजना ल्याउन सकेन। प्रधानमन्त्री रोजगार कार्यक्रमसमेत प्रभावकारी हुन सकेको छैन। अर्थविद् केशव आचार्यका अनुसार विदेशी दाताबाट ऋण लिएर झार उखेल्नु उचित नहुने बताउँछन्। सरकारले ऋण लिएर प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्दै आएको छ। विभागका अनुसार आव २०७७÷०७८ मा १ लाख ६६ हजार ६ सय ९८ जना श्रमिक वैदेशिक रोजगारीमा गएका छन्। स्वदेशमा पर्याप्त रोजगारी सिर्जना नहुनु, वैदेशिक रोजगारमा जान नपाउनु तथा वैदेशिक रोजगारबाट फर्किने क्रम बढेसँगै रोजगारीमा असन्तुलन पैदा भएको छ। श्रमविज्ञ डा.गणेश गुरुङ सरकारले रोजगारी सिर्जना गर्न ध्यान नदिएको बताउँछन्। रोजगारी सिर्जना गर्न कुनै सरकारले योजना ल्याउन नसकेको उनी बताउँछन्। कोभिडपछि धेरै भारतीय श्रमिक पलायन भएकाले उनीहरूको ठाउँमा विदेशबाट फर्केकालाई अवसर दिन ढिलाइ गर्न नहुने गुरुङ बताउँछन्।

कोभिडपछि ७ लाख भन्दा बढी भारतीय रोजगारी छोडेर गएकामा फर्किएका छैनन्। सोही मात्रामा नेपालीहरू पनि रोजगारी गुमाएर स्वदेश फर्किएका छन्। भारतीय श्रमिकको ठाउँमा नेपालीलाई अवसर दिन ढिलाइ गर्न नहुने श्रमविज्ञहरू बताउँछन्। वैदेशिक रोजगारीबाट गत वर्ष ९ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रिएको छ। कुल ग्रार्हस्थ उत्पादनमा रेमिट्यान्यसले २५ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ।

भारतसहित खाडी मुलुकमा ३१ लाख श्रमिक कार्यरत रहेको अध्ययनले देखाएको छ। श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ५५ लाखभन्दा बढी पुगेको छ। खाडी र मलेसियामा मात्रै १३ लाख ४८ हजार ८ सय ७२ जना कार्यरत रहेको तथ्यांक छ। केन्द्रका अनुसार सबभन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई) बाट फर्किएका छन्। दोस्रोमा रोजगारी गुमाएर फर्किने मुलुकमा कतार पर्छ। यूएईबाट १ लाख ६० हजार ४ सय ७० र कतारबाट १ लाख ४८ हजार ७ सय ९० जना फर्किएका हुन्। – तुलसी सुवेदीले आन्नपूर्णपोस्टमा लेखेकाछन


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...