Friday 9th January 2026

थ्री नेसन्स कपको उपाधि नेपाललाई


तितोपाटी- नेपालले थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि घरमै राखेको हो ।

नेपाललाई च्याम्पियन बनाउन सन्जोक राई र विशाल राईले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो । बंगलादेशका महाबुबुर रहमानले एक गोल फर्काए ।१८औं मिनेटमा सन्जोक राईले गोल गदै नेपाललाई १–० को अग्रता दिलाए । सुनिल बलको कर्नरमा सन्जोक राईले डि बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यस्तै ४२औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । रन्जित धिमालको पासमा सन्जोक राईले छोएको बललाई विशाल राईले वान भर्सेस वानको अवस्थामा उत्कृष्ट फिनिस गरेका थिए ।

खेलको ८३औं मिनेटमा सब्सिच्युट महाबुबुर रहमानले कर्नरबाट आएको बललाई हेडर गोल गर्दै खेललाई २–१ ले स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा नेपाल २–१ ले विजयी हुन सफल भयो । यससँगै ३७ वर्षपछि नेपालले घरेलु भूमिमा उपाधि जितेको छ । यस अघि नेपालले सन् १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो । उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ । उपविजेता बनेको बंगलादेशले ३ हजार डलर प्राप्त गर्यो ।लिग चरणमा नेपालले किर्गिस्तानको ओलम्पिक टोली र बंगलादेशसँग गोलरहित बराबरी खेल्दै लिगमा दोस्रो स्थानमा रहेको फाइनलमा स्थान बनाएको थियो ।

बंगलादेशले लिग चरणमा किर्गिस्तानको ओलम्पिक टोलीलाई १–० ले तथा नेपालसँग गोलरहित बराबरी खेलेको थियो । विश्वकप छनोटको खेल स्थगित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कपको आयोजना गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

इरानमा बुधबार भएको विरोध प्रदर्शन एघारौं दिनमा प्रवेश गरेको छ र इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको…

इजरायलले पश्चिम किनारमा प्यालेस्टिनीहरूका लागि चौथो पुस्ता (४जी) मोबाइल सेवाहरूको स्तरोन्नतिलाई अनुमोदन गरेको इजरायली सञ्चार मन्त्रालयले मंगलबार जनाएको छ। मन्त्रालयले…

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

प्रतिकृयाहरू
...