Friday 29th March 2024

महिला फुटबलकी स्ट्राइकर सावित्रालाई एक वर्ष आराम गर्न डाक्टरको सुझाव


एपिएफ र नेपाली राष्ट्रिय फुटबल महिला टोलीकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ आगामी एक वर्ष मैदानबाहिर रहने भएकी छिन् । उनी महिला राष्ट्रिय लिगअन्तर्गत नेपाल पुलिस क्लबविरुद्धको खेलको क्रममा सोमबार चोटग्रस्त बनेकी हुन् । खेलको ७९औँ मिनेटमा पुलिसको डी बक्सभित्र हेडिङ गर्ने प्रयासमा उफ्रिएकी उनी ‘ल्यान्डिङ’ नमिल्दा चोटग्रस्त बनेकी थिइन् । मैदानमै सामान्य उपचार गरेपछि बाहिर निकालिएकी उनलाई थप उपचारका लागि सातदोबाटोस्थित बिएन्डबी अस्पताल पुर्‍याइएको थियो । थप परीक्षणपश्चात् डाक्टरले उनलाई आगामी एक वर्ष आराम गर्न सुझाब दिएका हुन् ।

घुँडाको एसियल टियर भएकाले उनको शल्यक्रिया पनि गर्नुपर्नेछ । शल्यक्रिया जति चाँडो भयो, उनी त्यति नै छिटो मैदानमा फर्कने सम्भावना छ । ‘डाक्टरले एक वर्षसम्म मैदानबाहिर रहनुपर्ने जनाएको छ । उनको शल्यक्रिया पनि गर्नुपर्नेछ’, एपिएफकी प्रशिक्षक भगवती थापाले भनिन्, ‘उनको उपचार प्रक्रिया सुरु त भएको छ । तर, समय लाग्न सक्छ । उनीजस्तो खेलाडी चोटग्रस्त हुनु देशकै लागि ठूलो दुर्भाग्य हो ।’

जारी लिगमा सावित्राको ४३ गोल

जारी लिगमा सावित्रा एक्लैले ४३ गोल गरेकी छिन् । अग्रपंक्तिमा उनको सशक्त प्रदर्शनले एपिएफले १० खेलसम्म निरन्तर जितको नतिजा आत्मसात् गरेको छ । सर्वाधिक ३० अंक जोडेको एपिएफ उपाधिको निकै नजिक पनि पुगेको छ ।
एपिएफले प्रतियोगितामा बाँकी रहेको आफ्नो दुईमध्ये एकमा मात्रै जित हात पारे पनि उपाधि जित्ने छ । पाँच अंकले पछि रहेको दोस्रो स्थानको त्रिभुवन आर्मी क्लब उसको दुईमध्ये एक खेलमा बराबरीमै रोकिएको अवस्थामा समेत एपिएफले प्रतियोगिता जित्नेछ ।

यद्यपि, सावित्रा चोटग्रस्त बन्दा एपिएफको उपाधि यात्रा सोचेजस्तो सहज भने पक्कै हुनेछैन । ‘उनी नहुँदाको अवस्थाका लागि पनि हामीसँग योजना त छ । प्रतिस्पर्धामा सहभागी भएपछि जितको तयारी त जसरी पनि गर्नु नै पर्छ’, भगवती भन्छिन्, ‘यद्यपि मैदानमा उनको अभाव खड्किनेछ । प्रतियोगितामा हाम्रा लागि आधाभन्दा बढी गोल उनैले गरेकी छिन् ।’

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...