Wednesday 18th February 2026

क्लिनिक र निजी अस्पतालले बिरामी जाँच्नै छाडे


तितोपाटी- देशभरका अधिकांश निजी अस्पताल तथा क्लिनिकले बिरामी जाँच्नै छाडेका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिमको त्रासले निजी अस्पताल तथा क्लिनिकले सेवा दिनै छाडेपछि अन्य रोगका बिरामी मारमा पर्न थालेका छन् ।
ज्वरो र रुघाखोकीका बिरामीलाई चेकजाँच गर्न निजी अस्पतालले आनाकानी गर्न थालेपछि कतिपय बिरामी अस्पतालबाहिर अलपत्र परेका छन् ।
कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै व्यस्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्ता अस्पताललाई अनुगमन गर्न नभ्याउँदा उनीहरूले बिरामीको उपचार नै गर्न नमानेका हुन् । सरकारले सरकारी, निजी वा सामुदायिक कुनै पनि अस्पतालले शंकाको भरमा बिरामीको उपचार गर्न नसक्ने भन्न नपाउने बताउँदै आएको छ ।
ट्याङलाफाँट बस्दै आएकी कविता महर्जन टाउको दुखेर कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्र पुगिन् । तर, केन्द्र बन्द थियो । उनले भनिन्, ‘टाउको एक्कासि दुख्यो, उपचार गराउन जाँदा बन्द पो रहेछ ।’

यस्तै, अत्यावश्यक मानिएका औषधि पसल बन्द रहँदा बिरामी मारमा परेका छन् । निजी क्लिनिक पनि अधिकांश बन्द रहेका छन् । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले संकटको समयमा निजी अस्पताल बन्द गर्न नहुने बताए ।
उनले भने, ‘अस्पताल अत्यावश्यक सेवाअन्तर्गत पर्छन् । निजी अस्पतालमा नाफासँगै सेवाको भावना पनि हुनुपर्छ । बिरामीलाई अस्पतालमा भर्ना नगरेर गेटमा ताला लगाउनु गैरजिम्मेवारपन हो ।’
नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य डा. रितेश थापा सरकारले नियमित बिरामीले प्रभावकारी सुविधा नपाएको स्विकार्छन् । उनले भने, ‘स्वास्थ्यकर्मीलाई राज्यले विश्वास दिलाउन सकेको छैन । स्वास्थ्यजन्य सामग्री उपलब्ध नगराएर जबर्जस्ती काममा लगाउन खोजेको देखिन्छ ।’
उनले कोरोना भाइरसको आशंकामा रहेका र प्रभावित बिरामीका लागि छुट्टै अस्पताल तयार गर्न आवश्यक रहेको बताए ।
सरकारले पर्याप्त मात्रामा व्यक्तिगत सुरक्षा उपकरण उपलब्ध नगराउँदा र सामाजिक दूरी कायम गर्नुपर्ने भएपछि सेवा प्रवाहमा समस्या खड्किएको छ । निजी अस्पतालका सञ्चालकहरूले कोरोना जोखिम रहेको र सरकारले पीपीई व्यवस्था नगरेका कारण अप्ठेरो भएको गुनासो गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले संकटको बेला सहयोगी भावना हुनुपर्ने बताए । उनले भने, ‘यो अवस्थामा निजी र सरकारी भन्ने हुनु हुँदैन । आफ्नो दायित्व बिर्सनु भएन ।’ उनले जोखिमको समयमा सरकार र निजी क्षेत्र सहकार्य गरेर अघि बmढ्नुपर्ने बताए । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले औषधि बिहान वा बेलुकी केही समय खोल्न फार्मेसीलाई आग्रह गरे । उनले भने, ‘औषधि अत्यावश्यकीय सेवाभित्र पर्ने भएकाले जोखिमलाई ध्यान दिँदै समय मिलाएर सञ्चालन गर्नुपर्छ । अप्ठेरो परिस्थिति परे वैकल्पिक व्यवस्था गर्न सकिन्छ ।’साभार राजधानी दैनिकबाट


सम्बन्धित शीर्षकहरु

Bhubaneswar को सुन्दरपाडा क्षेत्रमा जनवरी २७ साँझ भएको शक्तिशाली विस्फोटको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। फुटेजमा विस्फोटको तीव्रता स्पष्ट देखिन्छ,…

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

प्रतिकृयाहरू
...