Wednesday 29th July 2026

आवेगले आलोचित आस्था


तितोपाटी-त्रिभुवन विमानस्थलभित्र दिनहुँ हजारौं यात्रुलाई प्रहरीले चेकजाँच गर्छ। सुन र विभिन्न अवैध सामान ओसारपसार हुने सम्भावनाका कारण प्रहरीले चेकिङ कडा बनाएको छ। विमानस्थलको अन्तिम चेकिङ कक्षमा अझ कडाइ हुन्छ। त्यहाँ मोबाइल, पर्स, झोला, बेल्टलगायत सामाग्री एक्सरे मेसिनद्वारा चेकजाँच गरिन्छ। व्यक्तिलाई पनि चेकिङ कक्षमा लगेर राम्ररी चेकजाँच हुन्छ। बुधबार पनि प्रहरीले यात्रुलाई चेकजाँच गरिहेको थियो। गायिका आस्था राउत त्यही लाइनमा उभिएकी थिइन्। अरु यात्रुलाई सहज ढंगले चेकजाँच गरेका प्रहरीले आस्थालाई पनि उसैगरी चेकजाँच गर्न लागे। जहाज ढिलो हुन लागेको भन्दै राउतलाई बाहिरैदेखि रिस उठिसकेको थियो। उनी सांगीतिक प्रस्तुति दिन सिक्किम जाने क्रममा थिइन्। उनको उडान करिब डेढ घण्टा ढिलो भएको थियो। त्यसको रिस राउतले चेकिङ कक्षमा देखाइन्।

चेकिङका क्रममा उनी हतार गर्दै थिइन्। त्यसै क्रममा प्रहरीलाई उनले असहज व्यवहार देखाइन्। त्यति बेला यात्रुलाई चेकिङ गर्न प्रहरी जवान रमिता श्रेष्ठ खटिएकी थिइन्। राउतले चेकजाँचका क्रममा असहज महसुस गरेपछि शंका मान्दै प्रहरी महिलाले झन् कडा रुपमा चेकजाँच गर्न लागिन्। त्यस क्रममा राउत र प्रहरीबीच भनाभन भयो। चेकजाँच सकिएपछि राउत भित्र छिरिन्। भद्रपुरमा ओर्लिएलगत्तै करिब ३ बजेतिर राउत गाडीबाट फेसबुक लाइभमा जोडिइन्। सो भिडियोले बिहीबार सबैतिर हल्ला मच्चायो। १० मिनेट ३० सेकेन्डको भिडियोमा राउतले ‘प्रहरी मेरो साथी’ नारा मजाक भएको तर्क गरेकी छन्। आफूलाई एक महिला प्रहरीले झर्केर तँ भन्दै ज्याकेट खोल्नुस् भनेको र दुव्र्यवहार भएको उनले भिडियोमा बताएकी छन्। भिडियोमा राउतले प्रहरीलाई ‘डन्ठे’ र ‘बन्दुके’ जस्ता अपशब्द प्रयोग गरेकी छन्।

विमानस्थलका निमित्त प्रहरी प्रमुख एसएसपी रामकृपाल शाहले गायिकाले प्रहरीमाथि नै अभद्र व्यवहार गरेको बताए। ‘भिडियोमा ड्युटीमा खटिएकी प्रहरी कर्मचारीको मनोबल गिराउने काम भएको छ। विमानस्थलमा सबै यात्रुलाई प्रहरीको एउटै व्यवहार हुन्छ। गायिका र नेता भनेर कसैलाई छुट हुँदैन,’ उनले भने।

राउतले प्रहरी संगठनको चरित्रमाथि नै दाग लाग्नेगरी आक्षेप लगाएपछि उनको सर्वत्र आलोचना भएको छ। प्रहरीले समेत यस विषयमा छानबिन गर्ने भएको छ। प्रहरी अधिकारीहरुले सिंगो प्रहरी संगठनमाथि नै नचाहिँदो टिप्पणी गरेको भन्दै स्वच्छ छानबिन हुने बताएका छन्। नेपाल प्रहरीका प्रवक्ता शैलेश थापाले भिडियो छानबिनको क्रममा रहेको बताए। उनले भने, ‘भिडियोमाथि छानबिन हुँदैछ, एकजनाको विषयलाई लिएर प्रहरी जगत्माथि खनिनु राम्रो होइन। हामीले ड्युटीमा खटिएकी प्रहरी महिला, गायिका र भिडियोलाई आधार बनाएर कारबाही प्रक्रिया थाल्छौं।’ गायिका राउतले बिहीबार सामाजिक सञ्जालमार्फत प्रहरीका बारेमा आफूले गरेको टिप्पणीमा माफी मागेकी छन्।-नागरिकन्युज


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...