Tuesday 7th April 2026

आफुले जन्माएका छोरा जब सौताका बनाईए


तितोपाटी- राजविराज नगरपालिका–१२ सिग्यौन दमावतीकी लक्ष्मीदेवी यादवले विवाह भएको एक वर्षपछि छोरा जन्माइन्। नातिको मुख हेर्ने धोको बेलैमा पूरा भएकोमा सासूससुरा खुसी भए। दुई वर्षपछि लक्ष्मीले अर्को छोरा जन्माइन्। प्रहरी सेवामा कार्यरत महिनारायण दुई छोराका बुवा बनेकोमा प्रसन्न थिए। वैदेशिक रोजगारमा गएका उनका भाइ पनि कमाउन थालेका थिए। पाँच जनाको परिवारमा दुई बालक थपिएपछि सात जना भए। जेठी बुहारी भएकाले घरको जिम्मेवारी लक्ष्मीमाथि थियो। सासूससुराकी प्यारी उनको जीवनमा खुसी नै खुसी थियो।

विवाहको १० वर्षपछि लक्ष्मी बुवा शिवराम यादवसँग जिल्ला प्रहरी कार्यालय सप्तरीमा देखा परिन्। हातमा प्लास्टिकको झोला। झोलाभित्र निवेदनसहित विभिन्न कागजपत्र। दुई छोराको जन्मदर्ता देखाउँदै उनले भनिन्, ‘मेरा छोरा अर्केका भएछन्। गर्भ बोकें। प्रसव वेदना सहें। आमा हुनुको अनुभव बटुलें। सन्तान हुर्काएँ। दुई छोरा हुँदाहुँदै निःसन्तान बनाइएँ।’

प्रहरीलाई निवेदन दिँदा उनले डाँको छाडेर रोइन्। लेखनदासले लेखेको उजुरी निवेदनमा सन्तानको माया र ममता कति हुन्छ भन्ने कुरा नदेखिए पनि लक्ष्मीको आँसुले त्यसलाई अभिव्यक्त गरेको थियो। उनको आँसुमा मातृवात्सल्य झल्किएको थियो। पति जागिरमा हुँदा सन्तान हुर्काउने जिम्मा लक्ष्मीकै थियो। धेरै दुःख गरिन्। भोकभोकै काम गरिन्। सासूससुराको सेवा गरिन्। विगत बिर्सेर भविष्यको कल्पनामा रमाइन्। पति र छोराहरूको खुसीलाई अन्तिम सुख सम्झिइन्।

महिनारायण भने इलाममा प्रहरी सेवामा रहँदा स्थानीय मुना खातीसँग प्रेममा फसेछन्। उनीसँग विवाह गरेर अर्कै संसारमा रमाएको लक्ष्मीले पत्तै पाइनन्। बेला–बेलामा महिनारायण घर आउँथे। लक्ष्मी परिवारको खुसीमै रमाएकी थिइन्। २०७४ मा घर आएका महिनारायणले फागुन २० गते छोराहरूको जन्मदर्ता गर्दा रोशन र कृष्णको आमाका नाममा मुनाको नाम लेखाए।

स्थानीय पञ्जिकाधिकारी तरुणकुमारले जन्मदर्ता बनाउन आउने सूचक स्वयम् बुवा भएपछि आमा को हो भनेर सोधखोज गरेनन् र आमाका नाममा इलामकी मुना खाती यादव भनेर प्रमाणित गरिदिए। राजविराज अस्पतालबाट पनि लक्ष्मीको छोरा भएको प्रमाणित हुने लक्ष्मीका बुवा शिवनारायण यादवले दाबी गरे। अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ बनौलीस्थित माइतीमा रहेकी लक्ष्मी आफ्नै छोराको वास्तविक आमा हुँ भन्ने प्रमाण जुटाउन र न्याय पाउन अस्पताल र प्रहरीकहाँ धाइरहेकी छिन्।

महिनारायणले पनि छोराहरू लक्ष्मीबाटै जन्मिएको र आमाको नाममा दोस्री पत्नी मुनाको नाम लेखाएको स्विकारे। जागिर अवधिमा बाहिर रहँदा पत्नीबारे गाउँलेले अनेकौं कुरा गरेकाले सम्बन्धविच्छेद गर्न चाहे पनि लक्ष्मीले नमानेपछि आफूले दोस्रो विवाह गरेको उनले बताए। यो कुरा थाहा पाएकी मुना पनि अहिले उनीबाट अलग भएकी छिन्। प्रहरी निरीक्षक प्रकाश बस्नेतले निवेदन दर्ता गरी आवश्यक प्रक्रिया थालिएको बताए।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...