Friday 6th March 2026

प्लास्टिकका भाँडाले निम्त्याउँदैछ गम्भीर खतरा


तितोपाटी- प्लास्टिकका भाँडा हरेकको भान्सामा प्रयोग हुन्छ । हेर्दा चिटिक्क देखिने, काँस, स्टिलजस्ता धातुभन्दा सस्तो तथा सहज उपलब्ध पनि हुने हुनाले हरेक नेपालीको भान्सामा यसले स्थान पाइरहेको छ । तर जति जति यसले स्थान लिँदै गएको छ, मानव स्वास्थ्यका दृष्टिकोणले यो उत्तिकै खतरनाक पनि बन्दै गएको छ । प्लास्टिकको झोला, प्लास्टिकका भाँडा आदिमा हुने रासायनिक तत्वहरूले मानव स्वास्थ्यमा गम्भीर खतरा देखापरेका छन् ।

प्लास्टिक शुद्ध वस्तु होइन । प्लास्टिक वा प्लास्टिकजन्य सामग्रीहरूमा कुनै न कुनै औद्योगिक रसायनको प्रयोग गरिएको हुन्छ । रसायनको प्रयोगले प्लास्टिकलाई कडा वा नरम, पारदर्शी आदि बनाउँछ । प्लास्टिक वा प्लास्टिकजन्य सामग्री बनाउँदा वा यसको प्रशोधन गर्दा यसमा प्रयोग गरिने रसायनको आधारमा यसलाई वर्गीकरण गरिन्छ ।

कुन प्रकृतिको प्लास्टिकमा कुन रसायन ?
प्लास्टिक वा प्लास्टिकजन्य भाँडाहरूलाई ७ भागमा विभाजन गरिएको छ । पहिलो नम्बरको प्लास्टिक वा प्रशोधनलाई पोलिइथाइलिन वा पेट बोतल भनिन्छ । त्यस्तै दोस्रो नम्बरको प्रशोधनलाई हाई डेन्सिटी पोलिइथाइलिन वा एचडीपीई नामकरण गरिन्छ । तेस्रो नम्बरको प्लास्टिकलाई पोलिभिनाइल क्लोराइड वा पीभीसी भन्ने गरिन्छ । चौथो नम्बरको प्लास्टिकलाई लो डेन्सिटी पोलिइथाइलिन भन्ने गरिन्छ भने पाँचौँ नम्बरकोलाई पोलिप्रोपाइलिन । छैटौँ नम्बरको प्लास्टिकलाई पोलिस्टाइरिनको नाम दिइन्छ र सातौँ नम्बरकोलाई पोलि कार्बोनेटेड ।

हुन त प्लास्टिक वा प्लास्टिकजन्य कुनै पनि सामग्रीलाई मानव स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिँदैन तथापि ३ नम्बरको प्लास्टिक अर्थात्, पीभीसी, ६ नम्बरको प्लास्टिक पोलिस्टाइरिन र ७ नम्बरको प्लास्टिक पोलिकार्बोनेटेडलाई भने ज्यादै खतरनाक मानिन्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत सुमन धिताल भन्छन्, ३, ६ र ७ नम्बरको प्लास्टिक स्वास्थ्यका दृष्टिकोणले खतरनाक छन् ।

के पानीको जार हानिकारक छ ?
पानीको जार पोलिकार्बोनेटेड केमिकलबाट बनेको हुन्छ । यस्ता प्रकृतिका प्लास्टिकमा अत्यधिक मात्रामा औद्योगिक रसायन बिसफिनल ए, थाइलाइडस्, अक्सिडिन र पोलिकार्बन पाइन्छ, जुन मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छ । अहिलेका २० लिटर जाने पानीका जार यिनै पोलिकार्बोनेटेड केमिकलले बनेका छन्, जहाँ तातो वा चिसो पानी राखियो र खाइयो भने त्यो ज्यादै खतरनाक बन्न सक्छ ।

जब यस्ता प्लास्टिकजन्य भाँडामा कुनै न कुनै तरिकाबाट खानेकुरा राख्न प्रयोग गरिन्छ तब यस्ता प्लास्टिकबाट यी रसायनहरू खानामा पुग्छन् र यसले मानव स्वास्थ्यलाई गम्भीर हानि गर्छ । यसले शरीरमा एलर्जी हुनेदेखि जन्मने बच्चाहरूमा शारीरिक तथा मानसिक पक्षघात र वंशाणुगत परिवर्तनसम्म गर्नसक्ने बताउँछिन्, वीर अस्पतालका वंशाणुगत रोग विशेषज्ञ डाक्टर निलम ठाकुर ।

के हुन् यी रसायनहरू ?
बिसफिनल ए अर्थात् बीपीए एक प्रकारको औद्योगिक रसायन हो, जसले मानव जीवनमा वंशाणुगत परिवर्तनसम्म ल्याउन सक्छ । प्लास्टिकका भाँडालाई आकर्षक, मुलायम वा कडा बनाउन प्रयोग गरिने यस्ता रसायनहरूले कार्सियोजिनक अर्थात् क्यान्सरजन्य रोग निम्त्याउन सबैभन्दा बढी सहयोग गर्ने दाबी गर्छिन्, डाक्टर ठाकुर ।

प्लास्टिकको प्रयोगले हर्मोनल चेन्ज ल्याउन सक्छ
सबैभन्दा ठूलो समस्या भनेको यसले मानव जीवनको हर्मोनलाई नै परिवर्तन गराउने हुन्छ । जसले यसको असर कतिलाई तत्काल देखिन्छ भने कतिपयलाई भावी पुस्तामा यो असर देखिन सक्छ । यी रसायनले इस्ट्रेजोन अर्थात् महिलाका शरीरमा हुने हर्मोनलाई वृद्धि गर्ने हुँदा महिलाहरूमा पुरुष व्यवहार र पुरुषमा महिला व्यवहार पनि देखिन सक्ने दाबी गर्छिन्, डाक्टर निलम ठाकुर ।

प्लास्टिकका भाँडालाई राम्रो कदापि मानिँदैन । यसमा हुने रसायन तातो वा चिसोमा बढी पग्लने वा खानामा मिसिने गर्छ । यसले कतिपयलाई तत्कालै असर देखिन्छ भने कतिपयलाई कालान्तरमा । तर पनि राम्रो देखिने, सस्तो तथा सहज उपलब्ध हुने हुनाले नेपाली भान्सामा यसको प्रयोग दिनानुदिन बढ्दो छ, जसले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने निश्चित छ ।

गर्भवती महिला र बालबालिकामा बढी असर
प्लास्टिकको भाँडा सहज त छ तर यसले मानव स्वास्थ्यमा पु¥याउने असर भने ज्यादै ठूलो छ । प्लास्टिकका भाँडामा पाइने रसायनले जो जो कमजोर छन् उनीहरूलाई नै बढी हानि गर्ने गर्छ । प्रतिरक्षा प्रणाली कमजोर हुने बालबालिका तथा गर्भवती महिलालाई यसले बढी असर गर्छ । साना बालबालिकाको पनि प्रतिरक्षा प्रणाली ज्यादै कमजोर हुन्छ ।

३ वर्षभन्दा कम उमेरका बालबालिकालाई त्यसैकारण धेरै रोग लाग्छ । प्लास्टिक वा प्लास्टिकजन्य भाँडामा पाइने विभिन्न रसायनले बालबालिकालाई बढी हानि पु¥याउँछ । यस्ता भाँडाको प्रयोगले सबैभन्दा बढी नोक्सानी त आमाको पेटभित्र हुने बच्चालाई पु¥याउँछ । जसका कारण जन्मने बच्चामा मानसिक पक्षघात, शारीरिक अपाङ्गता, मुटुसम्बन्धी रोग आदि देखा पर्न सक्छ ।

त्यस्तै वयस्क वा गर्भवती महिलाहरूमा स्तन क्यान्सर तथा अन्य महिला र पुरुषहरूमा मधुमेह, मुटुसम्बन्धी रोग, घाँटीको क्यान्सर, धेरै रिस उठ्ने र प्रजनन क्षमतामा समेत असर गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत सुमन धिताल बताउँछन् ।

वरिष्ठ खाद्य अनुसन्धान अधिकृत सुमन धिताल मात्रै होइन, वंशाणुगत रोग विशेषज्ञ डाक्टर निलम ठाकुर पनि प्लास्टिकजन्य भाँडाले महिला र बालबालिकालाई नै बढी असर गर्ने बताउँछिन् । प्लास्टिकको धेरै प्रयोग गर्दा यसले शरीरको कुनै एक भाग मात्रै नभएर पूरै बनावटलाई नै परिवर्तन गराउन सक्ने उनको चेतावानी छ । गर्भवती महिला र बालबालिकालाई बढी असर गर्ने भन्दै यसले आँखा, मिर्गौला आदिलाई पनि असर पु¥याउने बताउँछिन्, वंशाणुगत रोग विशेषज्ञ डाक्टर ठाकुर ।

बच्चा अपाङ्ग बन्न सक्छ
महिलाहरू गर्भवती हुँदा धेरै हर्मोनहरू परिवर्तन भएको हुन्छ भने प्रतिरक्षा प्रणाली पनि कमजोर भएको हुन्छ । यस्तो समयमा यी केमिकलहरूको प्रयोग बढी भएमा प्रजनन् क्षमतामा असर गर्ने र जन्मँदै बच्चा अपाङ्ग पनि हुनसक्ने चेतावानी दिन्छिन् वंशाणुगत रोग विशेषज्ञ डाक्टर निलम ठाकुरको ।
त्यसो त प्लास्टिकजन्य भाँडाको प्रयोग गर्नुहुँदैन वा कमै प्रयोग गर्नुपर्छ भन्ने धेरैलाई थाहा छ । यद्यपि कतिपय शिक्षित भनिएका परिवारले पनि प्लास्टिकको प्रयोग गर्न छाडेका छैनन्, न त कमी नै ल्याएका छन् । सस्तो, राम्रो र सहज उपलब्धताले प्लास्टिकजन्य भाँडाको प्रयोग दिनानुदिन बढिरहेको छ

बीपीए फ्री भाँडा प्रयोग गर्न सुझाव
अहिले बजारमा विभिन्न प्रकारका प्लास्टिकका भाँडाहरू किन्न पाइन्छ । प्लास्टिकको भाँडाको बढी प्रयोग स्कुले बालबालिकामा पाइन्छ । विद्यालयमा पानी लिए जाँदा यसको प्रयोग बढी हुन्छ भने साना बालबालिकालाई दूध खुवाउन पनि यस्तो भाँडाको प्रयोग गरिन्छ । कतिपयको टिफिन बक्स पनि प्लास्टिककै भाँडाबाट बनेको हुन्छ । कतिपयले प्लास्टिकको बोतलमा पानीमा जुस वा अन्य कुनै तत्व मिसाएर पनि लैजान्छन् ।

तर यस्ता प्लास्टिकका भाँडामा तातो वा चिसो राख्नु एकदमै गलत र हानिकारक हुन्छ । भाँडाको बनावटमा अहिले बीपीए फ्री अर्थात् बिस्फिनल ए केमिकलको मात्रा नभएको भाँडा पनि पाइन्छ । अन्य प्लास्टिकको तुलनामा बिस्फिनल ए नभएको बोतल राम्रो मानिन्छ । त्यसकारण बजारमा प्लास्टिकका बोतल वा टिफिन बक्स किन्नु परेमा बीपीए फ्री खिएको बोतल मात्रै किन्न विज्ञहरूको सुझाव छ ।

प्लास्टिक बाल्दा निस्कन्छ क्यान्सर लाग्ने ग्यास
प्लास्टिक राम्रो होइन वा छैन भन्ने धेरै सुनिन्छ । तर यसको प्रयोगमा कमी आएको छैन । कतिपय मानिसहरू प्लास्टिकले वातावरण प्रदूषण गराउँछ भन्ने मात्रै बुझ्छन् जसको असर आफूले मात्रै भोग्नु नपर्ने ठान्छन् । तर प्लास्टिकले व्यक्ति स्वयम्लाई हानि गर्छ । त्यसैले सकेसम्म प्लास्टिकको प्रयोग नगर्न र गरे पनि ज्यादै कमै प्रयोग गर्न वंशाणुगत रोग विशेषज्ञ डाक्टर निलम ठाकुरको सुझाव छ ।

वरिष्ठ खाद्य अनुसन्धान अधिकृत सुमन धिताल प्लास्टिकबाट पूरै तर्सिनु नपर्ने बताउँछन् । प्लास्टिकका भाँडा खतरामुक्त त हुँदै होइन तर तत्कालै यसको प्रयोग नै बन्द गर्न पनि सम्भव छैन । तर प्लास्टिकका भाँडामा तातो वा चिसो नराख्न, प्लास्टिकलाई कदापि नबाल्न र सकेसम्म कम प्रयोग गर्न सुझाव दिन्छन् । प्लास्टिक बाल्दा निस्कने ग्यासले क्यान्सरसमेत गराउन सक्ने भन्दै प्लास्टिक बाल्नुभनेको सबैभन्दा खतरनाक हुने उनको चेतावानी छ ।

प्लास्टिक भनेको तरकारी बोक्ने झोला मात्रै होइन । प्लास्टिकबाट बनेको भाँडा, मेलामाइन वा सेरामिक्सको भाँडाका बाहिर लगाइने रसायन पनि यस्तै प्रकृतिका हुन् । यसर्थ यस्ता भाँडाहरूको प्रयोगमा कमी ल्याउँदै हाम्रो भविष्य स्वस्थकर र सुरक्षित बनाउनु जरुरी छ । यदि अहिलेकै अवस्थामा प्लास्टिकको भाँडाको प्रयोग बढ्दै जाने हो भने यसले ल्याउने हर्मोनल चेन्जका कारण आगामी पुस्ताहरू अहिलेको भन्दा फरक देखेर मान्छे नै हो कि होइन भन्नेसम्म पनि नपुग्ला भन्न सकिन्न ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...