Tuesday 17th February 2026

नेपालमा धर्म परिवर्तनको कारुणिक चित्र : एक हातमा बाइबल, अर्कामा डलर


तितोपाटी- नेपालमा धर्म परिवर्तनको प्रचारका लागि विदेशीको घुसपैठ ठूलो आँकडामा हुन थालेका तथ्यहरू खुल्न थालेका छन् ।

अघिल्लो बर्षको मध्यतिर क्रिश्चियन धर्म प्रचारका लागि एसीया प्यासिफिक क्षेत्रका राष्ट्र र सरकार प्रमूख नै बोलाएर गरिएको सम्मेलन सरकारको सुरक्षा घेरामा नै भएपछि क्रिश्चियन धर्म प्रचारकको घुसपैठ बढेको हो ।

सम्मेलनको केही दिनमा नै एक अस्ट्रेलियन नागरिकलाई धर्म प्रचार गरेका कारण पक्राउ गरी फर्काइएको थियो । संस्थागत रूपमा नै धर्म प्रचार र धर्मान्तरणका लागि प्रेरित गर्ने अन्य पनि पक्राउ पर्न थालेका छन् ।

खासगरी काठमाडौंसहित पश्चिम नेपालका गाउँमा यस्ता समूहको सक्रियता रहेको पछिल्ला विवरणहरूले देखाउन थालेको छ । गरिब, विपन्न परिवारमा सहयोगका नाममा बाइबलका किताबसहित प्रचारकहरू पक्राउ परेका छन् ।

क्रिश्चियन धर्मको प्रचार गरेको अभियोगमा दाङ प्रहरीले मंगलबार दुई विदेशीसहित पाँच जनालाई पक्राउ गरेको हो । घोराहीको होटेल डोकोबाट अमेरिकी महिला सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तवका साथै क्रिश्चियन समाजका महासचिव पोखराका डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगञ्जका प्रमोद काफ्ले पक्राउ परेको दाङ प्रहरीले जानकारी दिएको छ ।

उनीहरूको साथबाट बा१३प ३१९६ स्कर्पियो गाडी, कार्टुनभरी बाइबल, रकम राखिएका खाम, दमको उपचारका क्रममा वाफ दिने मेसिन, ल्यापटप, पेनड्राइभलगायतका सामग्री जफत गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए ।

पक्राउ परेकामध्ये अमेरिकी महिलाबाहेक तीन नेपाली र एक भारतीयलाई मुलुकी अपराध संहिता ऐनको दफा १५८ विपरीत धर्म परिवर्तन गराएको अभियोगमा मुद्दा चलाएको प्रहरी पाण्डेले जानकारी दिए । अमेरिकी महिलालाई भिसा रद्द गरी सम्बन्धित देशमा फिर्ता पठाउन अध्यागमन कार्यालय काठमाडौंलाई पत्राचार गरिएको छ ।

होटेलमा बस्ने, गाउँमा पुगेर धर्म प्रचार गर्ने र मानिसहरूलाई आर्थिक तथा उपचारको प्रलोभन देखाएर धर्म परिवर्तन गराउने गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो ।

कतिपय गैर सरकारी संस्थाले कार्यक्रम र सहयोगका नाममा ग्रामिण बस्तीलाई प्रभावित बनाउने गरेको पनि पाइएको छ । नेपाल धर्म निरपेक्ष घोषणा भएपछि क्रिश्चियन धर्म प्रचार खुलेआम हुने गरेको छ ।

धर्म प्रचारका लागि नेपाल भ्रमण अथवा अन्य विशेष कामको भिसा लिएर आएका विदेशीको सक्रियता बलियो देखिन्छ । उनीहरू एक हातमा बाइबल र अर्को हातमा डलर बोकेर नेपाली गाउँ छिर्ने गरेका अध्ययनहरूले पुष्टि गरेको छ ।

गृह मन्त्रालयले दुई जापानी नागरिकलाई धर्म प्रचार गरेको आरोपमा देश निकाला गरेको थियो । इसाई धर्म प्रचारमा संलग्न मोरिता मासाहिरो र हासिमोतो युकारीलाई नेपाल प्रवेशमा पाँच वर्ष प्रतिबन्ध समेत लगाएको थियो । उनीहरू विद्यार्थी भिसामा नेपाल बस्दै आएका थिए ।

कास्कीको पोखरा फूलबारीस्थित शिवशक्ति क्याम्पसमा शिक्षाशास्त्र संकाय अध्ययन गर्न उनीहरूले भिसा लिएका थिए । विद्यार्थी भिसा लिएर धर्मप्रचार गरेकाले निकालिएको थियो ।

विभिन्न धार्मिक आस्थामा रहेका गरिबलाई सहयोगका नाममा यसरी धार्मिक प्रचार हुने गरेको छ । यो गाउँमा मात्र सीमित नभएर कारागारमा रहेको कैदीबन्दीमा पनि पुगिसकेका केही तथ्य अघि छन् ।

वीरेन्द्रनगर–१ स्थित अनुग्रह चर्चका केही ‘विश्वासी’ले जिल्ला कारागारमा पुगेर कैदी–बन्दीका लागि खाद्यान्न सहयोग गर्दै धर्म प्रचारको केन्द्र बनाएका थिए ।

शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका सहयोग प्रदान गर्ने नाममा कारागारभित्रैबाट उनीले सयौं अनुयायी जन्माएको दाबी गरिएको थियो । कारागार प्रशासनले विरामी कैदी–बन्दीलाई अस्पताल पुराएर उपचार गराउनुको सट्टा पाष्टरहरू बोलाएर ‘प्रार्थना’ गर्न लगाउने गरेको छ । कारागार प्रशासनले पुस्तकालय, सीपमूलक तालिम, खाद्यान्न सहयोग, भौतिक संरचना निर्माणलगायतका नाममा काठमाडौंदेखि पोखरासम्मका चर्चका ‘पाष्टर’ र ‘अनुयायी’ लाई कारागारभित्र निर्वाध प्रवेश दिन्छ ।

‘सहयोग’ र ‘प्रेम’बाट कैदी–बन्दीको जीवन परिवर्तन गर्ने भन्दै उनीहरू जेलभित्रै धर्मप्रचार गर्छन्। कैदी–बन्दीलाई प्रार्थना गर्न लगाउँछन् । जेलभित्र सजाय भुक्तान गरिरहेका कैदी–बन्दी मात्रै होइन् उनीहरूका परिवार र सन्तान खोज्दै प्रभुका अनुयायीहरू घरैसम्म पुग्छन्। त्यहाँ पनि आर्थिक, खाद्यान्न, शैक्षिकलगायत सहयोगको नाममा आफ्नो सञ्जाल विस्तार गरिरहेका छन् ।

अन्य भन्दा क्रिश्चियन धर्म प्रचारकको बाक्लो उपस्थिति र प्रभावमा धर्म परिवर्तन गर्नेको संख्या बढ्न थालेको पनि बताइन्छ । सरकारले केहीलाई पक्राउ गरे पनि राज्यको प्रशासनिक केन्द्रमा प्रभाव जमाउनेको आडमा धर्मान्तर भइरहेको भन्दै विरोध पनि भएका छन् ।

एसीया प्यासिफिक समिटमा धर्म प्रचार भएको भन्दै सत्तारुढ नेकपाका नेता भिम रावलले नै विरोध गरेका थिए । तर, सरकारले त्यसको बचाऊ गरी पुरस्कार नै थापेको थियो ।


सम्बन्धित शीर्षकहरु

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

लुलु हाइपरमार्केटले यस हाला फेब्रुअरीमा कुवेतको राष्ट्रिय तथा मुक्ति दिवसहरूलाई ‘I Love My Kuwait’ नामक भव्य प्रमोसन मार्फत अविस्मरणीय किनमेल…

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

प्रतिकृयाहरू
...