Tuesday 10th March 2026

रामबहादुरले फिर्ता गरे छोरीको विहे भोज नखाने गाउँलेको दक्षिणा


तितोपाटी- नयाँ वर्षको सुरुदेखि नै रामबहादुर विकको घरमा विहेको चलहलपहल सुरू भइसकेको थियो।

विक दम्पत्तिको पहिलो सन्तानको रुपमा जन्मिएकी आरतीको विहे वैशाख ५ गते आँटिएकै दिन भयो। छोरी सुनवल नगरपालिका असामबासी टोलका रमेश रसाईलीसँग विहे गरेर गइन्।

त्यो दिन रामबहादुरका दम्पत्तीले कहिलै विर्सने छैनन्। छोरीको विहे कसले विर्सन सक्छ र?

तर यी दम्पत्तीले छोरीको विहेकै दिन भोग्नुपरेको गाउँलेको अपमान पनि विर्सिने छैनन्। उनीहरूमाथी गाउँलेले गरेको व्यवहारलाई लिएर विवाद चुलिएको छ।

त्यही अपमानको तोडमा गाउँलेले छोरीलाई दिएको दक्षिणा उनले फिर्ता गरिदिएका छन्।

उनले आफ्नै घरको आँगनमा जग्गे लगाए। आफ्नै घरमा भोजभतेरको चाँजोपाजो मिलाए। छरछिमेक, ईष्टमित्र, आफन्तलाई निम्तो पठाए।

रामबहादुरको निम्तो मान्न गाउँलेहरू नआएका होइनन्।

उनको गाउँमा ९० दलित परिवार र एक सय ५० गैरदलित बस्छन्। तिनै एक सय ५० गैरदलितमध्ये केहीले रामबहादुरको चित्त दुखाए।

उनीहरू निम्तो मान्न त आए तर भोज खाएनन्। छोरीलाई दक्षिणा दिएर फर्किए।

भोज नखाएर गाउँलेले आफुहरुको अपमान गरेको भन्दै रामबहादुरले दक्षिणा फिर्ता गरिदिएका छन्।

‘टोल छिमेकमा ठूलो बस्ती गैरदलितको रहेकोले हामीले खाना पकाउनको लागि गैरदलितले नै संचालन गरेको क्याटरिङलाई जिम्मा दिएका थियौं, तर उहाँहरु आएर छोरीलाई दक्षिणा बुझाएर भोज नखाई हिँड्नुभयो,’ उनले सेतोपाटीसँग भने।

उनका अनुसार स्थानीय २२ जना गैरदलितको समुह सल्लाह गरेजस्तै एकैपटक आए। एकै प्रकृतिका लिफामा छोरीलाई दक्षिणा बुझाए र भोज नखाइ फर्किए। उनीहरूको त्यस्तो व्यवहारले आफुमाथि अपमान र विभेद भएको रामबहादुरको भनाइ छ।

उनले गैरदलितहरू निम्तो मान्न आउँछन् भनेरै बुटवलबाट डिल्लीराज ढकाललाई पण्डित बोलाएका थिए।

आफुहरुप्रति अपमान जनक व्यवहार देखाएपछि विहेमा आएर भोज नखाई फर्किएका २२ जनाले दिएको दक्षिणा वापतको ६ हजार तीनसय ५० रुपैयाँ वडा अध्यक्ष राजेन्द्र कडेँलमार्फत फिर्ता गरेको रामबहादुरले बताए।

‘हाम्रो छोरीको विहे चन्दा उठाएर गरेका होइनौं। हामी धनदौलतमा गरिब हौंला तर हाम्रो आत्मसम्मानमा कसैले चोट पुर्‍याउन पाउँदैन। उहाँहरुको व्यवहारले हाम्रो आत्मसम्मानमा चोट पुगेको छ,’ रामबहादुरले भने।

भोज नखानेहरुमा स्थानीय राजनीतिक दलका नेतासमेत रहेको बताए। भोजमा सरिक नहुनेमा नेपाली कांग्रेस रुपन्देहीका क्षेत्रीय सदस्य केशव अधिकारी, तरुण दलका आशिष केसी, आमा समूहकी अध्यक्ष रसमाया थापा, टोल विकास समितिका उपाध्यक्ष बालकृष्ण गैरेलगायत रहेको उनले बताए।

वडाअध्यक्ष कडेँलले आफु विहेमा गएर भोज खाएर फर्किएको तर अरुले खाए नखाएको याद नभएको बताए।

दुलहीको परिवारले दक्षिणा फिर्ता गरिदिएपछि गाउँलेहरुसँग बुझ्दा कतिपयको व्रत बसेको, माछामासु छोइएको भएकोले नखाएको जवाफ दिएको बताए ।

भोज नखाई फर्किएको उक्त विवाद बढ्दै गएपछि घटनाको बारेमा अध्ययन अनुसन्धान गर्न दलित अगुवाहरुको भेलाले समिति गठन गरेको छ।

हरिओम विश्वकर्माको संयोजकत्वमा ९ सदस्यीय जातीय छुवाछुत तथा भेदभाव अध्ययन अनुगमन समिति गठन भएको हो। सदस्यमा जुद्ध बहादुर विश्वकर्मा, दीपा सुनार, नरबहादुर सुनार, मनु खड्का, रवि विश्वकर्मा, टेक बास्कोटा र अमृत गहतराज छन्।

समितिले पीडितलाई उचित न्याय दिनका लागि घटनाको बारेमा अध्ययन गरेर कारबाहीका लागि राजनीतिक दल, स्थानीय सरकार, प्रहरी प्रशासनलगाय निकायलाई दवाव दिने समिति संयोजक विश्वकर्माले बताए।

वडाअध्यक्ष कडेँले जातको आधारमा छुवाछुत गर्ने कार्य स्वीकार्य नहुने भन्दै दुवै पक्षलाई राखेर छलफल गरी विवाद मिलाउने प्रयास गरेको बताए। जातीय छुवाछुत भेदभाव र कसुर सजाय ऐन २०६८ अनुसार जातकै कारण भेदभाव गर्नेलाई क्षतिपूर्ति भराउनेदेखि कैद फैसला गर्ने समेतको व्यवस्था छ।


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...