Tuesday 28th July 2026

दार्चुला जीप दुर्घटना : मृतक सबै ११ जनाको सनाखत


तीतोपाटी- दार्चुला तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा शुक्रबार राति भएको जीप दुर्घटनाका सबैको सनाखत भएको छ ।

सदरमुकाम खलङ्गाबाट दुहुँ गाउँपालिकाको हिकिला गइरहेको म१ज २८० नंको जीप दुर्घटनामा परी ११ को मृत्यु भएको थियो भने एक घाइते भएका थिए । दुर्घटनामा ११ को घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा नौ दार्चुला र दुई यात्रु बैतडीका छन् ।

सशस्त्र प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दका अनुसार मृत्यु हुनेमा दुहुँ गाउँपालिका–१ का ५३ वर्षीया मानमती भट्ट, ४५ वर्षीया गौमती बम, ७१ वर्षीया धानाम बम, २४ वर्षीय धनबहादुर बम,वडा नं २ का ४१ वर्षीय कल्यानसिंह बडाल र उनका १७ वर्षीया छोरी निर्मला ९निरु० बडाल, सोही ठाउँका ३५ वर्षीया परुली धामी रहेका छन् ।

यस्तै दुहुँ गाउँपालिका–४ का ५५ वर्षीया अमरा बम, सात वर्षीया आयुषा बम तथा बुहारी माइती घर पु¥याउन आएका बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका–६ का ६० वर्षीय प्रताप भनिने धनबहादुर चन्द र २१ वर्षीया स्नेहा बम चन्द रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिनुभयो ।

जिप चालक दीपकसिंह धामी गम्भीर घाइते भएपछि गए राति नै उपचारको लागि भारतको पिथौरागढ सिफारिश गरिएको छ । उहाँको टाउको र खुट्टामा चोट लागेको स्वास्थ्य सहायक डम्मरदत्त भट्टले बताउनुभयो । चार दिनअघि सोही क्षेत्रमा पहिरोमा परी एकको मृत्यु भएको थियो । पहिरो गएको क्षेत्रमै जिप दुर्घटना भएको हो । जिप झण्डै ५०० मिटर तल महाकाली नदीमा खसेको थियो । घटनास्थल सदरमुकाम खलङ्गाबाट सात किलोमिटर पर्छ ।

क्षमताभन्दा बढी यात्रु र सामान भएका कारण दुर्घटना भएको हुनसक्ने स्थानीय हिक्मतबहादुर बमले बताउनुभयो । सो सडकखण्ड उकालो छ । “पहिरो आएको कारण सडक सुधार भएको थिएन”, बमले भन्नुभयो, “रातिको समयमा जिप चलाउँदा दुर्घटना भएको हुनसक्छ ।” दार्चुला–तिङ्कर सडकमा गत वर्षदेखि जिल्ला यातायात व्यवस्थापन समितिले राति जीप सञ्चालनमा रोकसमेत लगाएको थियो । विगतमा राताकाठा क्षेत्रमा जीप सञ्चालनमा रोकसमेत लगाइएको हो । साघुरो बाटो र ट्याक्टरका कारण सडक खाल्डाखुल्डी छन् ।

दुर्घटनाका सबै मृतकहरुको शव जिल्ला अस्पतालमा राखिएको छ । अहिले बिहान १० बजेपछि शव परीक्षण शुरु हुने बताइएको छ । अहिले अस्पतालमा आफन्तहरुको भीड लागेको छ । यो वर्षकै ठूलो जीप दुर्घटनाका कारण जिल्ला शोकमा डुबेको छ । आफन्तहरुको अस्पतालमा रुवावासी चलेको छ । पाँच सिट पास भएको जिपमा ११ जना यात्रु बोक्नु र उकालोमा ब्रेकले काम गर्न नसक्दा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । 


सम्बन्धित शीर्षकहरु

डा. गोविन्द केसीले २०१२ देखि पटक–पटक अनशन गर्दै मुख्यतः स्वास्थ्य सेवा, मेडिकल शिक्षा सुधार, सुशासन र राजनीतिक हस्तक्षेप अन्त्य का…

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

एआईको बढ्दो प्रयोगसँगै विश्वभर डाटा सेन्टर निर्माणको विरोध बढ्दै गएको छ। एक अध्ययनअनुसार मानिसहरू एआईका अन्य जोखिमभन्दा यसको वातावरणीय प्रभाव—जस्तै…

प्रतिकृयाहरू
...